भूकम्पले खोल्यो स्वयम्भूको रहस्य : धातुको बक्सभित्र अस्तु भेटियो
Advertisement
काठमाडौं-विभिन्न ठाउँमा निर्माण गरिएका सयौं वर्ष पुराना चैत्यभित्र के होला? सबैमा उत्सुकता हुन्छ तर त्यो रहस्यमै रहन्छ। वैशाख १२ को भूकम्पले भने स्वयम्भू क्षेत्रको मंगलद्वार चैत्यको रहस्य भने खोलिदिएको छ। भूकम्प गएको केही सेकेन्डमै भत्किएको स्वयम्भू महाचैत्यको दक्षिणपश्चिमको मंगलद्वार चैत्य (तिब्बती भाषामा टासी गोर्मा) मा नयाँ तथ्य भेटिएको छ।
विभिन्न कालखण्डमा गरी तीन पटकसम्म लेयर थपिएर निर्मित यो चैत्यभित्र धातुको बक्समा मान्छेको ‘अस्तु' भेटिएको पुरातत्व विभागका अधिकृत देवेन्द्र भट्टराईले बताए।
सामान्य रुपमा ठूला धर्मगुरु (सिद्धपुरुष) को मृत्युपछि उनीहरुको अस्तु राखेर यस्ता चैत्य निर्माण गर्ने प्रचलन छ। ‘भगवान बुद्धले पनि महापरिनिर्वाण गर्नुअघि आफ्नो अस्तु राखेर कुनै चोबाटोमा यस्तै चैत्य बनाउन लगाएको इतिहासमा पढ्न पाइन्छ,' उनले थपे, ‘त्यस्तै स्वरुपमा कुनै सिद्धपुरुषको अस्तु भेटिएको छ।'
धातुको बक्सभित्र रहेको अस्तु विभागले सुरक्षित राखेको छ। भग्नावशेषले च्यापिँदा अस्तु देख्न मिल्ने अवस्थामा भेटिएको उनले जनाए। ‘चैत्यको थप अध्ययनका लागि भग्नावशेष पनि सुरक्षित राखेका छौं,' उनले भने।
त्यहाँ १ सय ५० ढुंगाका र २५ वटा माटाका मूर्ति पनि देखिएका छन्। यसबाहेक स–साना चैत्य, मालाका दाना र विभिन्न कालका मुद्रा पनि भेटिएका छन्। सेतो रङमा प्लास्टर गरिएको र तह–तहयुक्त खोपी भएको यो स्तुपलाई युनेस्कोले पनि अद्वितीय उल्लेख गरेको छ।
मल्लकालीन राजा प्रताप मल्लको समयका मुद्रा र शाहकालीन मुद्रा भेटिएकाले यसको चैत्यको निर्माण तथा संरक्षण प्रयास भएका समय अनुमान लगाउन सकिने उनले बताए। ‘प्रताप मल्लका मुद्रामा अरबिक अक्षर कुँदिएका हुन्छन्, शाहकालीन पनि चिन्न गाह्रो हुँदैन,' उनले भने, ‘त्यसैलेे मल्लकालीन समयमा निर्मित भएर शाहकालमा पछिल्लो लेयर थपिएको हुन सक्छ।'
‘हामीले यसअघि यसरी अस्तु नै भेटेको अवस्था थिएन, भूकम्पले यस्तो अवसर जुटाइदियो,' उनले भने, ‘इतिहासमा यस्ता कुरा धेरै पढ्न पाइन्छ। यो त पूरै नयाँ खोज हो हाम्रालागि।'
भट्टराईका अनुसार सम्राट अशोकले कपिलवस्तुमा कनकमुनि बुद्धको चैत्यलाई दोस्रोपटक लेयर थपेर संरक्षण गरेको निग्लहवा स्तम्भमा उल्लेख गरेको उनले जानकारी दिए। जुन इसापूर्व तेस्रो शताब्दीको मानिन्छ। ‘यस्ता चैत्य लुम्बिनी र कपिलवस्तुका पुराना चैत्यमा पनि बन्ने गरेका छन्,' उनले भने, ‘जसअनुसार मंगलद्वारलाई तीन पटकसम्म लेयर लगाइएको छ। यसरी जिर्णोद्धार गरेर ठूलो चैत्य बनाउने परम्परा विकास भएको थाहा हुन्छ।'
उनका अनुसार त्यसभित्र टेराकोटामा कालिगढी गरिएको एउटा अर्को स्तुप पनि रहेको पाइयो जुन कालिगढी महाबौद्ध र पाटनमा पाइएका कालिगढीसँग मेल खान्छ,' युनेस्कोबाट स्वयम्भूमा खटिएका पुरातŒवविद डेविड अन्डोल्फाट्टोले विज्ञप्तिमा भनेका छन्, ‘ती कालिगढी मध्यकालीन हुनसक्ने सम्भावना धेर छ।'
उनले भनेका छन्, ‘भित्री लेयरका चैत्यले यो कुरा पनि संकेत दिन्छ कि तहहरु थपेर बहुआवरणका ढाँचा बनाउने विद्यमान प्रथा ठूला महाचैत्यका लक्षणसँग मिल्थ्यो। र, यस्ता अद्वितीय साना स्तुप पनि सोहीअनुसार बन्ने गरेको हुन सक्ने अध्ययनबाट थाहा भएको उनले बताए।
स्वयम्भू क्षेत्रका मंगलद्वार चैत्यसहित अनन्तपुर मन्दिर पूर्ण रुपमा क्षति रहेको भट्टराईले जानकारी दिए। यसबाहेक प्रतापपुर मन्दिर र पवन भैरव मन्दिरमा आंशिक क्षति भएको छ। साथै, देव धर्म महाविहार र कर्मराज्य महाविहार लगभग ध्वस्त भएको अवस्थामा रहेको उनले जानकारी दिए। अजिमा मन्दिर र महाचैत्य स्वयम्भूलाई केही असर गरेको छैन।

Advertisement



