१९ दिनमा ५७ तले भवन त्यो पनि भूकम्प प्रतिरोधात्मक
Advertisement
काठमाडौं, ३१ जेठ
१२ वैशाखको विनाशकारी भूकम्पपछि नेपालमा कैयौँ भवनहरू ध्वस्त भएका छन् । ती भवनको पुनर्निर्माणमा महिनौँ लाग्ने अनुमान छ । यही समय चीनबाट एउटा ध्यान तान्ने समाचार आएको छ । चीनमा ५७ तले भवन जम्मा १९ दिनमा बनाइएको छ । त्यो पनि भूकम्प प्रतिरोधात्मक
यो भवन चीनको चांग्सा सहरको बाहिरी क्षेत्रमा बनाइएको हो । चीनमा बनेका भवनको उचाइका तुलनामा यसको खासै महत्त्व नहोला, तर जति छोटो समयमा यो बनाइयो, त्यसले ठूलो अर्थ राखेको छ ।
दुई सय चार मिटर अग्लो यो भवन संघाईमा भएका अग्ला भवनको उचाइको एकतिहाइ मात्र हो । तर, यो भवन निर्माणपछि सार्वजनिक गरिएको भिडियोमा एक दिनमै यसको तीन तला बनाइएको देख्न सकिन्छ । अहिले यो भिडियो इन्टरनेटमा भाइरल भएको छ ।
यो भवन ज्याङ उईले बनाएका हुन् । उनले भनेका छन्, ‘यो त सुरुवात मात्रै हो ।’ उनले भवन निर्माणका क्षेत्रमा क्रान्ति गर्ने आफ्नो कम्पनीको सोच रहेको बताएका छन् । ‘मानिसहरूले उद्योग, कृषि, यातायात तथा सूचनाको क्षेत्रमा क्रान्ति देखेका छन् । अब भवन निर्माणमा पनि क्रान्ति देख्नेछन्,’ उनले भनेका छन् ।
ज्याङले यो भवनलाई मिनी स्काई सिटी नाम दिएका छन् । उनले यस्तो भवनको निर्माण छिटो सम्भव हुने मात्र होइन, सुरक्षित हुने पनि जनाएका छन् । अब उनले आफ्ना योजना मिनी होइन, आकाश छुने स्काई सिटी बनाउने रहेको बताएका छन् ।
अहिले विश्वको सबैभन्दा अग्लो भवनको रेकर्ड दुबईको बुर्ज खलिफामा छ । यो आठ सय २८ मिटर अग्लो छ । यसलाई बनाउन पाँच वर्ष लागेको थियो । तर, ज्याङले अबको आफ्नो योजना दुई सय २० तले भवन बनाउन केबल सात महिना मात्र लाग्ने बताएका छन् । उनको योजना पूरा भए त्यो भवन विश्वको सबैभन्दा अग्लो भवन हुनेछ । बुर्ज खलिफाभन्दा १० मिटर अग्लो †
विश्वभरका सञ्चारमाध्यमले १९ दिनमा चार हजार मानिसका लागि कार्यालय हुने र आठ सय अपार्टमेन्टका लागि तयार भएको यो भवनको समाचार प्राथमिकताका साथ दिएका छन् । सामाजिक सञ्जालमा पनि यसबारे व्यापक बहस भएको छ । युट्युबमा राखिएको भिडियो ३० लाखभन्दा धेरैले हेरिसकेका छन् ।
यो भवन स्टिलको प्रयोग गरेर बनाइएकाले पनि सुरक्षित भएको ज्याङ बताउँछन् । जस्तोसुकै दुर्घटना हुँदा पनि स्टिल टुट्दैन, दोब्रिन्छ मात्र भन्ने तर्कमा आधारित रहेर यो भवन बनाइएको ज्याङले बताएका छन् ।source:nayapatrica
Advertisement