News
»
नेपालले बेलायती ३ हेलिकप्टर आउन दिएन : भारतमा अझै अलपत्र
नेपालले बेलायती ३ हेलिकप्टर आउन दिएन : भारतमा अझै अलपत्र
काठमाडौं, जेठ १ – करिब दुई हप्ता अगाडि नेपालमा उद्धार र राहतका लागि बेलायत सरकारले पठाएको तीनवटा आरएएफ चिनुकस् हेलिकप्टरलाई नेपालले प्रवेशमा रोक लगाएपछि भारतमा अलपत्र रहेको छ । सहयोगका लागि पठाइएको हेलिकप्टर यत्रो दिन अलपत्र परेपछि बेलायती सरकारले नेपाली सरकारसँग उक्त हेलिकप्टर चाहिने वा नचाहिने भन्ने विषयमा अन्तिम पटक वार्ता गर्ने भएको छ ।
ठूला एन्टोनोभ कार्गो प्लेनमा राखेर नेपाल पठाइएका ती हेलिकप्टर यतिबेला भारतको नयाँ दिल्लीभन्दा उत्तरमा रहेको चन्दीगढ एयर बेसमा रहेको छ र नेपालमा आउनका लागि अनुमति पर्खिरहेको छ । तर, नेपाल सरकारले भने उक्त हेलिकप्टर शक्तिशाली रहेको र उक्त हेलिकप्टर उड्दा कमजोर रहेका घरहरु भत्कने खतरा रहेको भन्दै हालसम्म उक्त प्लेनलाई नेपाल आउने अनुमति दिएको छैन । यता, स्काई न्युजको भने दाबी अर्कै रहेको छ । स्काई न्युजका अनुसार विनाशकारी भूकम्प आएको शुरुवातमा नेपाल सरकारले विदेशबाट आएको हरेक राहत र उद्धारको आग्रहलाई स्वीकार गर्दै गयो । तर, पछि मात्र नेपाल सरकारलाई सबै जनालाई व्यस्थापन गर्न नसकिने कुरा थाहा भयो । त्यस्तै, यसमा भारत र चीन पनि विदेशी सेनाको हेलिकप्टर नेपालमा उडेकोमा त्यति सहज महसुस गरिरहेको छैन । यद्यपि, अमेरिकाले भने आफ्नो शक्तिशाली ओस्प्रे विमानलाई नेपालमा राहत र उद्धारका लागि खटाइरहेको छ । यसरी अरु देशका विमानहरु निर्वाध रुपमा नेपालमा राहत र उद्धारमा खटिरहँदा उता बेलायत भने नेपालसँग रुष्ट बनेको छ । बेलायती सरकारका एक प्रवक्ताका अनुसार, ‘संयुक्त राष्ट्रसंघ तथा अन्य गैर सरकारी संस्थाले नेपालका दुर्गम क्षेत्रमा राहत र उद्धारका लागि अझै हेलिकप्टर आवश्यक रहेको बताइरहँदा नेपालका लागि उपयुक्त हुने उपकरणसहित चिनुक हेलिकप्टरलाई पटाइएको छ ।’ यता, बेलायती सेनाका विशेषज्ञहरुले पनि चिनुक हेलिकप्टर र त्यसका चालक दलसँग यसअघि पनि सन् २००५ मा पाकिस्तानको विनाशकारी भूकम्पमा खटिएको अनुभव रहेको बताएका छन् । यसले नेपालमा उद्धार र राहतका लागि थप सहयोगी हुने उनीहरुको दाबी छ । दुई वटा रोटर भएको चिनुकले एक पटकमा ७० जना मानिसको उद्धार गर्न सक्छ भने विकट क्षेत्रमा प्रभावशाली मानिन्छ । घण्टौसम्म बिना तेल हाली उड्न सक्ने र विकट पहाडी क्षेत्रमा ल्याण्ड गर्न सक्ने क्षमता भएको यस हेलिकप्टर धेरै उचाईंसम्म उड्न सक्ने भएकाले नेपालको राहत र उद्धारका लागि उपयुक्त हुने विशेषज्ञहरुको दाबी छ । हेलिकप्टरसँगै त्यसका ४० जना चालक दल, इन्जिनियरहरु पनि भारतमा अलपत्र परेका छन् । राहत र उद्धार बिना हेलिकप्टर पुनः बेलायत फर्काउन बेलायती सरकारको लागि प्रतिष्ठाको विषय बनेको छ । यद्यपि, त्यतिकै राखिराख्नु पनि उपयुक्त नरहेको भन्दै बेलायत सरकारले आफ्नो धैर्य गुमाउन लागेको बेलायती सञ्चार माध्यमहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्...