भारी बर्षापछि आएको पहिरोले गोर्खाको ६० वटा घरहरु बगायो
Advertisement
गोरखा : बैशाख १२ गतेको भुकम्पले सबै घर भत्काएर खण्डहर बनाएको केरौंजा गाउँका ६० वटा घर शुक्रबारदेखि झरेको पहिरोले लगेको छ ।
लगातारको बर्षापछि आएको पहिरोले गाउँ नै बगाउन सुरु गरेको हो । शुक्रबारको भारी बर्षापछि आएको पहिरोले केरौंजाको ६० वटा घर लगेको स्थानीय सुकबहादुर गुरुङले जानकारी दिए ।
‘वडा नम्बर १, २, ३ र ४ मा चारसय ७५ घरधुरी थिए’ गुरुङले भने ‘गाउँ माथिबाट खसेको पहिरोले ६० वटा घर गण्डकीमा पु¥यायो । अरु पनि पहिरोले घर लाने क्रम जारी छ ।’
भूकम्पले घर भत्काएपछि गाउँलेहरु आसपासमा टहरो बनाएर बसेका थिए । माथिबाट आएको पहिरोले गाउँ लगेपछि उनीहरु बस्ती छाडेर मल्तीडाँडा, बंलाचोकडाँडा, गिटेन, जोङगंग, गन्चुकतिर छरिएर बसेका उनले बताए । ‘यति गहिरो बनाएर पहिरोले लगेको छ कि एउटै गाउँबीचको खाल्डो छिचोल्न मिनेट उकालो चढ्नुपर्छ’ गुरुङले भने, ‘पहिरो जान थालेपछि हामी बसेको ठाउँमा पनि चिराचिरा पारेको छ । पानीपानी भएको जमीन कतै तीन चारमिटर भ्वाँङ परेको छ ।’
वैशाख १२ पछि त्यो गाउँमा निरन्तर पहिरो झरिरहेको उनले बताए । पहिरोले भुकम्पले भत्काएका घरबाट निकालिएको काठपात, अन्न र लत्ताकपडा सबै लगेको स्थानीयको भनाइ छ । ‘भुइँचालोले भत्काएको घर खोतलेर निकालेको बलो, डाँडाभाटा पनि गण्डकीमा पुर्याइदियो’ अर्का स्थानीय कान्छा गुरुङले भने, ‘भत्केको घरबाट झिकेको मकै, कोदो, आलु र चामल पनि गण्डकीमा पुर्यायो ।’
भुइँचालोपछि पहिरोको डरले बालबच्चा र महिलाहरु त्रसित भएको उनले बताए । ‘बालबच्चा र महिलाहरु राती सुत्दै सुत्दैनन्’ उनले भने । Source: Annapurna Post
Advertisement