६ लाख चोरेर भाग्‍ने दुई घन्टामै पक्राउ
Advertisement

 म्याग्दी असार ५ बिहिबार: प्रहरीले बेनीबजारको एक होटेलबाट ६ लाख रुपैयाँ चोरेर फरार एकजनालाई दुई घन्टामै पक्राउ गर्न सफल भएको छ। बुधबार बिहान ११ बजे शिक्षा मार्गस्थित होटेल कर्नर क्याफेबाट बरंजाकी ओममाया घर्तीको ६ लाख रुपैयाँ चोरेर फरार बागलुङ बुर्तिबाङका १६ वर्षीय ढोलेन्द्र विकलाई प्रहरीले पर्वतबाट दुई घन्टामै पक्राउ गरेको हो।

स्थानीयले घटना भएको आधा घन्टापछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा १२ बजेको थियो। तत्कालै पर्वत, बागलुङ र पोखराका नाकाहरूमा हुलियासहितका विवरण टिपाएर खोजतलास गर्दा १:४५ बजे पर्वत प्रहरीले विकलाई पक्राउ गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक जनार्दन जीसीले जानकारी दिए।

'हामीलाई केही ढिला गरी खबर प्राप्त भयो, त्यसबाट बुर्तिबाङको मान्छे भनेपछि हामीले घरमा जाने तीनवटा बाटामा चेकिङका लागि सर्कुलर गर्‍यौँ', प्रनाउ जीसीले भने, 'जान सक्ने भनेको म्याग्दी दरबाङ, बागलुङ र पोखरा नै थियो। अन्तत: हाम्रो योजना सफल भयो।'

विक ना २ ख २१०६ नम्बरको मिनीबस चढेर पोखरा जाँदै गरेको अवस्थामा नगदसहित पक्राउ गरिएको पर्वत प्रहरीले जनाएको छ। 'म्याग्दीबाट खबर आउनेबित्तिकै हाइवे चेकिङ गर्‍यौं। हुलियाको आधारमा गरिएको त्यो चेकिङबाट नगद पाँच लाख ९९ हजार रुपैयाँसहित पक्राउ गर्न सफल भयौं', पर्वतका प्रहरी निरीक्षक जगतबन्धु पोखरेले भने। उनले विकलाई प्रक्रिया मिलाएर म्याग्दी पठाइने जानकारी दिए।

'एक हजार खोइ भन्दा कपडा र टिकट काटेँ भन्यो', उनले भने, 'समयमै खबर भएकोले चोर उम्किन पाएन।' विक गत सोमबारदेखि होटेलमा कामदारको रूपमा बसेका थिए। ओममायाले होटेल मालिक गौचनलाई घरजग्गा खरिदका लागि दिएको ११ लाखमध्ये ६ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। पैसा चोरेर विकले कोठामै कपडा छोडेर भागेका थिए। स्रोत # अन्नपूर्ण पोस्ट


Advertisement



प्रतिक्रिया दिनुहोस्...