प्रवेशमै फेल विद्यार्थी फाइनल परीक्षा दिँदै
Advertisement
मिति: मंगलबार, आषाढ ३, २०७१
प्रवेशिका (एसएलसी) फेल भएर निजामती सेवाको खरिदारको परीक्षा दिनबाट बञ्चित हुनुभएको छ? छ भने अब चिन्ता नगरे हुन्छ। पुनरावेदन अदालत विराटनगरको एउटा आदेशलाई नजिर मान्ने हो भने अब खरिदारमा परीक्षा दिनेले एसएलसी उत्तीर्ण भइरहनु जरूरी छैन।
पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को चिकित्साशास्त्र संकायअन्तर्गत बिएस्सी नर्सिङ र पोस्ट ब्यासिक ब्याचलर अफ नसिर्ङ (पिबिएन) शैक्षिक कार्यक्रम अध्ययन गर्न विश्वविद्यालयको प्रवेश परीक्षा उत्तीर्ण गर्नु अनिवार्य हुन्छ। तर पुनरावेदन अदालत विराटनगरले भने पूविको प्रवेश परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थी मात्र होइन, परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई समेत प्रथम वर्षको वार्षिक परीक्षामा सामेल गराउन आदेश दिएको छ।
यस्तो आदेशको विरूद्धमा विश्वविद्यालयले रिट निवेदन दर्ता गरे पनि सोको सुनुवाइमा अदालतले पहिलेकै आदेशलाई सदर गरेपछि त्यस्तो अवस्था आएको हो। जेठ २१ देखि असार १० गतेसम्मका लागि सञ्चालन भइरहेको यो परीक्षामा प्रवेश परीक्षा नदिएका तथा फेल ४२ विद्यार्थीलाई रोक लगाइएको थियो।
रोक लगाएको भोलिपल्टै पाँच वटा नर्सिङ कलेजहरूले पुनरावेदन अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए। उक्त रिटको अन्तिम सुनुवाई गर्दै न्यायाधीश कुमार चुँडाल र रमेश पोखरेलको इजलासले परीक्षा दिनबाट बञ्चित नगराउन आदेश दिएको हो।
जेठ २३ गते न्यायाधीश भीमकुमार ओझाको इजलासले विश्वविद्यालयका नाममा अन्तरिम आदेश गरेको थियो। विश्वविद्यालयले सोविरूद्व रिट निवेदन दर्ता गरे पनि जेठ २६ गतेको पुनरावेदनको संयुक्त इजलासले २२ जना विद्यार्थीको नामै उल्लेख गरेर परीक्षा दिनबाट बञ्चित नगराउन आदेश गरेको हो।
'विद्यार्थीको भविष्यसमेतलाई ख्याल गर्दै हालका लागि परीक्षाबाट बञ्चित नगराउन आदेश गरिएको छ,' पुनरावेदन अदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीले भने। विश्वविद्यालय स्रोतका अनुसार प्रवेश परीक्षा नदिएका तथा दिए पनि उत्तीर्ण नभएका विद्यार्थीलाई विश्वविद्यालय ऐन र नेपाल मेडिकल काउन्सिल ऐन दुबैले परीक्षामा सामेल हुन रोकेका छन्।
अदालतसमेतको यो आदेशपछि विश्वविद्यालयले ४२ जनै विद्यार्थीबाट तीन लाखका दरले जरिवाना असुल गराएर परीक्षामा सामेल गराएको छ। त्यस्ता विद्यार्थी यसअघि भएका तीन वटा विषयको परीक्षामा सहभागी हुन पाएका थिएनन्। अदालतको आदेशपछि ती विद्यार्थीले बाँकी परीक्षा धमाधम दिइरहेका छन्।
परीक्षा नियन्त्रक बोधहरि आचार्यका अनुसार अदालतसमेतले आदेश दिएको हुनाले विश्वविद्यालयले जरिवाना गर्ने निर्णय गरेर विद्यार्थीलाई परीक्षामा सामेल हुन दिइएको हो। 'अदालतको आदेशअनुसारै त्यस्ता विद्यार्थीलाई परीक्षा दिन छुट दिइएको हो,' आचार्यले भने। छुटेको परीक्षाका लागि पुनः रुटिन निकाल्ने तयारी विश्वविद्यालयले गरिरहेको छ।
अहिले पूर्वाञ्चल विश्विद्यालयबाट सम्बन्धन प्राप्त नर्भिक, चक्रवर्ती, एभरेष्ट, नेशनल एकेडेमी, कृष्ण मेडिकल, श्री चितवन मेडिकल कलेज, कोसी हेल्थ र होप मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पोस्ट ब्यासिक ब्याचलर अफ नसिर्ङ (पिबिएन)को परीक्षा सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा पास नभए पनि भर्ना गराएर अध्यापन गराइरहेका कलेजहरूले विद्यार्थी सहभागी हुन नपाएपछि अदालत पुगेका थिए। अदालत पुग्नेहरूमा नर्भिक, एभरेष्ट, नेशनल एकेडेमी, चक्रवर्ती र कृष्ण मेडिकल कलेज थिए। स्रोत # सेतो पाटी
Advertisement