इराकमा नेपाली अपहरणमा परेका छैनन्ः परराष्ट्र मन्त्रालय
Advertisement

काठमाडौँ, असार ५– सरकारले इराकमा रहेका नेपाली हालसम्म सुरक्षित अवस्थामा रहेको र अपहरण हताहत वा अन्य घटनामा नपरेको जनाएको छ। इराकमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले गम्भीरतापूर्वक अवलोकन गरिरहेको बताउँदै परराष्ट्र मन्त्रालयले नेपाली हालसम्म सुरक्षित अवस्थामा नै रहेको बिहीबार पत्रकार सम्मेलनमार्फत स्पष्ट गरेको हो। 

यद्यपी त्यहाँको खस्कँदो सुरक्षा अवस्थाले कुनै बखत नेपालीलाई पनि प्रभावित पार्न सक्ने देखिएकाले इराकमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न, बाहिर डुल्न र ननिस्कन तथा सम्भव भएमा व्यवस्था मिलाई नेपाल फर्कन अनुरोध भने परराष्ट मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक धितालले सुरक्षा स्थिति सबग्रिदै गएर सहयोग गर्नुपर्ने अवस्थामा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । 

 उनले नेपाली बढी केन्द्रित बगदाद, बसरा, कारवाला र नजाफ जस्ता सहरको सुरक्षा स्थिति तुलनात्मक रुपमा स्थिर रहेको जानकारी आएको भन्दै सरकारले इराकको सुरक्षा अवस्था अझै बिग्रिएमा त्यहाँका नेपालीलाई कसरी उद्वार गर्न श्रम, गृह, स्वास्थ्य, पर्यटन र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएको जानकारी दिए । सहसचिव प्रकाश सुवेदीले इराकामा रहेको नेपालीको तथ्याङ्क लिने र वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाले पनि यसमा सहयोग गर्ने वचन दिएको बताए । 

इराकमा कति नेपाली कार्यरत छन् भन्ने आधिकारीक तथ्याङ्क सरकारसँग छैन तर त्यहाँ उल्लेख्य सङ्ख्यामा नेपाली रोजगारका लागि गएको बताइन्छ । उद्धारका लागि विदेशस्थित कूटनीतिक नियोग तथा मिसन र अन्तर्राष्ट्रिय संस्थासँग पनि समन्वय गरिने बताइएको छ । मन्त्रालयले इराकमा कार्यरत नेपालीका आफन्त, सदस्य, इष्टमित्र वा साथीभाइ जोकोहीलाई इराकमा कार्यरत नेपाली कहाँ बस्छन् र कसरी सम्पर्क गर्न सकिन्छ भनेर जानकारी दिन आग्रह गरेको छ ।

 पाकिस्तानस्थित राजदूतावासबाट इराकको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग सम्पर्क कायम गरिएको र नेपालीको सुरक्षातर्फ विशेष ध्यान आकृष्ट गरिएकामा इराकी विदेशी मन्त्रालयका उच्च अधिकारीले सहयोगको सकारात्मक जवाफ दिएको पनि परराष्ट मन्त्रालयले जनाएको छ । स्रोत # रातो पाटी 


Advertisement



प्रतिक्रिया दिनुहोस्...