-"नर्स पढ्ने रहर बोकेकी सिर्जना भन्छिन्, ‘अब घर बनाउने, कि पढ्ने ?’..
Advertisement
डिलबहादुर थोकर ‘ग्याम्जो’
-काभ्रे, जेठ १७ – १९ वर्षीया सिर्जना तामाङ वाइवा श्री उमासह शिक्षालय, चण्डेनी–९, चण्डेनीमा कक्षा १२ मा पढ्छिन् । जीवनमा उनले धेरै सपनाहरु देखेकी थिइन् । उनका योजनाहरु धेरै थियो । धेरै योजनाहरु भएपनि नर्स बन्ने उनको मुख्य योजनामा पथ्र्यो । कक्षा १२ पास हुनेबित्तिकै नर्सिङ पढ्ने योजनामा थिइन् सिर्जना ।
वैशाख १२ गतेको भूकम्पले उनको नर्स बन्ने योजनामा ठूलै बज्रपात भयो । ‘मेरो सबैभन्दा ठूलो लक्ष्य भनेको नर्स बन्ने थियो ।’ मलिन अनुहारका साथमा सिर्जनाले भनिन्– ‘जीवनमा के–के गरौंला भन्ने सोंचेको थिएँ, भूकम्पले सबै भत्कायो ।’ उनको बुवाले विदेशमा कमाएको पैसाले बनाएको घर पनि भूकम्पका कारण ध्वस्त भएको छ । अब सिर्जना नर्स पढ्ने कि घर बनाउने ? त्यसकारण उनले नर्स पढ्ने इच्छा त्यागेकी छिन् । ‘अब घर बनाउने, कि पढ्ने ?’ सिर्जनाले आफ्नो दुखेसो पोखिन् ।
एकीकृत माओवादीको स्थायी समिति सदस्य लिलामणि पोखरेलसँगै जैसीथोक–४ स्थित पञ्चकन्या निमाविको भग्नावशेष केलाउँदै थिइन् सिर्जना । एकीकृत माओवादीले भूकम्प प्र्रभावित क्षेत्रमा चलाएको ‘राष्ट्रिय श्रम अभियान’ मा सिर्जनाले भाग लिइरहेकी थिइन् ।
लाइनमा उभिरहेकै ठाउँबाट आफ्नो अनुभव सुनाइरहेकी थिइन् सिर्जना । मेसमा खट्ने निर्देशन आएपछि उनी लाईनबाट बाहिरीन् । भूकम्प आउँदा सिर्जना घरभित्रै थिइन् । घरमा कोही थिएनन् । उनको भाई युवराज तल्लो घरमा थिए । उनको आमा भने घाँस काट्न गएकी थिइन् । बाहिर निस्कने बित्तिकै उनको घर ढले ।
उनी रोइन्, कराइन् अनि गुहार मागिन । ‘सबै घर ढलेको रहेछ, पुरै गाउँ कुहिरो मण्डलमा परिणत भयो ।’ सिर्जनाले सुनाइन्– ‘अनि मलाई कस्ले सहयोग गर्ने त ? सबैलाई आइपरेको थियो विपत्ति ।’ सबैलाई आईपरेको विपत्ति भएकोले उनले कसैको पनि साथ पाइनन् । ८२ वर्षीय हजुरबा भिमराज तामाङलाई घरले पु¥यो भन्ने चिन्ताले हजुरबालाई बोलाउँदै, चिच्याउँदै रुँदै थिइन् सिर्जना ।
‘हजुरबा जीउँदै हुनुहुन्छ दिदी, नरुनुहोस् ।’ भाई युवराजको भनाई उदृत गर्दै सिर्जनाले भनिन्– ‘म पनि हजुरबा भएकै ठाउँमा पुगें ।’ तर दुई दिदीभाईलाई हजुरबाले त्यहाँ बस्नै दिएन । ‘म मरे पनि केही हुन्न, तिमीहरु बाहिर जाउँ भने हजुरबाले ।’ सिर्जनाले भनिन्– ‘तर हामी बाहिर जान मन लागेन ।
’ उता सिर्जनाकी आमा मीरा तामाङ बारीबाट हस्यांङ–फस्याङ गर्दै घर आइन् । घर पूरै ढलेको थियो । सिर्जना र युवरालाई जताततै खोजिन् उनले । उनकी आँखाको नानी जस्ता छोरा र छोरीलाई नभेट्दा उनले माया मारिसकेकी थिइन् । अनि एक्कासी सिर्जनाकी आमा मीरा तामाङ बेहोस् नै भइन् । आमा बेहोस भएको खबर सुनेपछि दिदी भाई घर आएका थिए । ‘आमाका होस् खुलेपछि भाई र मलाई खोज्नुभयो ।
उनकै अगाडि हामीलाई देखेपछि आमा बेस्सरी रुनुभयो ।’ सिर्जनाले बताइन् । भावुक भएर आफ्नो अनुभव सुनाइरहेकी सिर्जनाले आफ्नो हजुरबाको प्रसंग फेरि निकालिन् । अनि मुसुक्क हाँसिन् । भूकम्पको समयमा उनको हजुरबा घरको माथिल्लो तलामा थिए । दमको रोगी ८२ वर्षीय हजुरबाको अनुभव हामीलाई सुनाउँदै सिर्जना मुस्कराएकी रहेछिन् । दुई तलाबाट तल खस्दा उनको हजुरबालाई केबुलकार चढेको जस्तो भएको अनुभव भएको रहेछ, अनि उनलाई सुनाएका रहेछन् हजुरबाले ।
घर पूर्णरुपमा ध्वस्त भएपनि हजुरबालाई सकुशल भेटेपछि उनलाई धेरै खुशी लागेको बताइन् । हजुरबाको अनुभव सम्झेर उनी एक्लै पनि हाँस्ने गरेको बताइन् । सिर्जनालाई अर्को पीडा पनि रहेछ । भूकम्पमा परि उनको अति मिल्ने साथीहरु इशा दोङ र अनिता सापकोटाको निधन भएको थियो । यसपाली मात्र एसएलसी दिएका निशाले आफ्नो रिजल्ट समेत सुन्न पाइनन् ।
अर्को अनिताको भने ९ महिनाको बच्चा रहेछ । यो दुइ वटै घट्नाले सिर्जनाको मन छिया–छिया भएको रहेछ । भूकम्प आएको दिन शनिबार परेपनि बत्ति लाइन् नहुँदा धेरै मान्छे घर भित्र थिएनन् । ‘त्यसैले मानविय क्षति धेरै भएन ।’ सिर्जनाले भूकम्पलाई सम्झिदै सुनाइन् । ‘खुल्ला पालमुनिको जीवन जोखिमपूर्ण छ ।’ सिर्जनाले भनिन् ‘त्यसैले पनि अझै हामीलाई डर र त्रासले छोडेको छैन ।’
भूकम्पले आफ्नो ज्यान जोगिएपनि अन्नबाली भने पुरेकोले पुरै गाउँमा अहिले राहतको खाँचो परेको सिर्जनाले बताइन् । नेपाल सरकारको तर्फबाट राहतको कार्यक्रममा ढिलाई गरेकोप्रति उनलाई चिन्ता लागेको छ । यसरी आफ्नो सपनाहरु गुमाएका सिर्जनाहरुको खोजी कसले गर्ने ? सिर्जनाहरुको सपनाप्रति जिम्मेवार को बन्ने ? सिर्जनाहरुको सपना पुरा गर्ने हिम्मत कसैसँग छ ? Source: Ratopati

Advertisement



