‘जीवन सिर्फ जान्नको लागि हो’ निखिल उप्रेतीसँग गफगाफ
Advertisement

काठमाडौ, असार २० - केही वर्षदेखि मुम्बई बसेर संघर्ष गरिरहेका निखिल उप्रेती पुन: स्वदेश फिरे। उनी नायकमा मात्रै सीमित नभई निर्देशक समेत बनेर बनाएको फिल्म ‘भैरव’ भदौ ११ मा रिलिज गर्न जोडतोडले लागेका छन्। मुम्बई सिकाइलाई फिल्ममा प्रयोग गरेको जिकिर गर्ने निखिलले फिल्म सबै वर्गका लागि रुचिकर बनाउन खोजेको दाबी गरे। कुनै बेला एक्सन हिरोमा जमेका निखिलले आफ्नै कथामा बनाएको ‘भैरव’ मा पनि त्यही छविलाई दोहोर्‍याएर दर्शकसामु आउन लागेका हुन्।

यहींको राम्रो करिअर छोडेर मुम्बई हानिनुभयो, अहिले फेरि फर्कनुभएको छ। कतै त्यो बेलाको निर्णय गलत भयो भन्ने लागेको छ कि?

लागेको छैन। मैले यहाँ २०५७ मा ‘पिँजडा’ फिल्मबाट अभिनय सुरु गरें। तर नेपाली फिल्म खेल्नुभन्दा आठ वर्षअघिदेखि बलिउडमै काम गरिरहेको थिएँ। यहाँभन्दा चिनाजान मेरो त्यहाँ बढी छ। त्यहाँका १५/१६ फिल्ममा असिस्टेन्ट भई काम गरिसकेपछि यता आएको हुँ। मैले फिल्म नै पढेको थिएँ। मेरो क्लासमा रानी मुखर्जी, निर्देशक रोहित सेट्टी, आकाश पाण्डे, रजत वेदी लगायत आठजना थियौं। आफू त गरिबको छोरो। त्यहाँ बाँच्नको लागि पनि काम गर्नुपर्ने बाध्यता। जानेको मार्सल आर्ट थियो। र, त्यहाँका कलाकारलाई मार्सल आर्ट सिकाउन थालिसकेको थिएँ। मैले चाहिँ ज्याकी चाङले फिल्ममा देखाउने कौशल हेरेर सिकेको हो। पछि फाइट डाइरेक्टरहरूले असिस्टेन्टको रूपमा अफर गर्न थाले। त्यो बेला भारतमा मार्सल आर्टको प्रयोग कमै हुन्थ्यो। त्यो बेला मैले फिल्म ‘हम तो मोहब्बत करेगा’ मा नायिका करिश्मा कपुरको डुब्लिकेट बनेर स्टन्ट गरेको छु। अरू थुप्रै साउथ हिरोइनहरूको पनि। हिरोको चाहिँ बबी देवल, मिथुन चक्रवर्तीहरूको गरेको थिएँ। त्यो बेला २० वर्षको थिएँ। पछि यहाँ ‘पिँजडा’ काम गरेपछि एकाएक व्यस्त भएँ। मेरो पहिलेदेखिको सोच नै स्टार भएर बाँच्दिनँ भन्ने थियो। र विश्वास पनि गर्दिनँ। जीवन सिर्फ जान्नको लागि हो। जति जान्यो त्यति रिच हो। मान्छेहरू मरेपछि खाली हात जान्छन् भन्छन् तर म मान्दिनँ। उसले साथमा अनुभव पनि लिएर गएको हुन्छ। पवन मैनालीले पहिले नै मेरो मार्सल आर्टको क्षमता देखिसक्नुभएकोले खेल्न बोलाउनुभयो। त्यसपछि त व्यस्त रहें।

तपाईंले ‘पिँजडा’ अघि सोच्नुभएको थियो स्टार हुँला भनेर?

थिइनँ। र, मेरो हिरो हुने सोच पनि कहिल्यै थिएन। जीवनमा ड्रामा पनि नगरेको मान्छे, नाचगानमा भाग नै नलिएको मान्छे। म त ज्याकीको क्रेजी फ्यान भएकोले त्यस्तै बन्छु भन्ने मात्रै हो। आखिर एक्सपेरिमेन्ट गरेकै भरमा यहाँसम्म आइपुगें। मैले जानेको चाहिँ केही पनि छैन। न अनुहार हेर्दा हिरोजस्तो लाग्छ। तर हिरो बनाइदिने दर्शकप्रति एकदमै आभारी छु। ‘पिँजडा’ गरेपछिका लगातार ११ वर्ष त म व्यस्त रहें। चार/पाँच वर्ष त मैले लगातार २० घन्टा काम गरें। मेरो कुकुरनिद्रा भएकैले धानिएको थिएँ। त्यो बेला मलाई काम भनेपछि केही पनि नचाहिने थियो। एक सय फिल्म गरेपछि ब्रेक लगाउने सोच र योजनाअनुसार नै म मुम्बई गएको हुँ। तातिरहेको बेला टक्क छोडेर जानुको कारण नै मैले आफूलाई अपडेट गराउनु थियो। जीवनका बारेमा जान्नु थियो। साधना गर्नु थियो। गुरुहरूले पनि तन्त्र सिक्न हौस्याए। मेरो कुन्डलीमै जोगी बन्ने लेखिएको छ। र, जति पनि कमाएँ। मेरो बैंक ब्यालेन्समा केही पनि थिएन। खासमा जोगी टाइपकै थिएँ।

व्यस्त हुँदा तपार्इंमा कत्तिको घमण्ड पलाएको थियो?

कहिल्यै घमण्ड आएन। कसैले पनि हिरोइज्म देखायो भन्न सक्दैन। किनभने, मलाई हिरो कहिल्यै फिल भएन। हिरो हुनलाई पहिले आफ्नो मनको हिरो हुनुपर्छ। म मनकै हिरो बन्न सकेको छैन। मेरा कमजोरी मलाई नै थाहा छ नि। आफ्नो कमजोरी लुकाएर अरूलाई देखाउनुपर्ने जरुरी छँदै छैन।

जीवन बुझ्नकै लागि मुम्बई लागेको भन्नुभयो, कति बुझ्नुभयो त?

जोजस्तो छ त्यसले जीवन त्यस्तै गरी बुझ्छ। मूर्खले मूर्खै तालले बुझ्ने हो। मैले पनि पूर्ण बुझें भन्नु मूर्खता हो। तर एउटा जिज्ञासा, हामी पानीलाई देख्छौं तर वाष्पीकरण देख्दैनौं। बादल बनेको देख्छौं तर बादलभित्रको पानी देख्दैनौं। वर्षा भएपछि मात्रै देख्छौं। त्यसैगरी आमाको पेटमा हामी जानुको एउटा कारण छ। तर हामीले बुझेका छैनौं। शरीर वीर्यबाट बनेको होला तर आत्मा वीर्यबाट बनेको हैन। आत्माको हिसाबले हामी सबै समान हौं। रमाइलो के भने आमाको पेटमा कसरी गयौं र अन्त्य कसरी हुन्छ भन्ने हामीलाई थाहा छैन। जब हामीलाई सुरु र अन्त्यको कुरा थाहा छैन भने बीचको जीवन थाहा छ भन्नु ओभर स्मार्ट बन्नु हैन? सिक्ने हामी आफैंले हो। अर्को व्यक्तिबाट केही सिकिँदैन। गुरुले त खोलासम्म पुग्ने तरिका सिकाइदिने मात्रै हो, पानी पिउने त आफैंले हो। स्वाध्ययन नै हो। सबैभन्दा ठूलो ज्ञान भनेको आत्माआलोचना हो। म कति कमिना छु मलाई मात्रै थाहा छ।

भनेपछि तपाईं त पछिल्लो समय मुम्बई जोगी हुन पो जानुभएको रहेछ?

जोगी त सबै मान्छे हुनैपर्छ एक ढंगले। तर समाजले भनेजस्तो पहेंलो वस्त्र लगाएर चन्दन लगाउँदैमा जोगी हुने हैन। राजेश हमालको जस्तो हेयर स्टाइल बनाउँदैमा कोही राजेश हमाल हुन्छ? तर यहाँ गेटअपलाई बुझें। र, अर्को कुरा, यहाँका दर्शकले मन पराएको निखिलले उता गएर सानो भूमिकामा खेल्नु भनेको हाम्रो दर्शकको भावनामा चोट पुर्‍याउनु हो। खासमा म फिल्मसम्बन्धी प्राविधिक ज्ञान लिनकै लागि गएको थिएँ। जुन कुरा ‘भैरव’ मा देखिन्छ।

तर केहीले त दोस्रो विवाह गरेपछि लुक्न मुम्बई गएको पनि भनेका छन् नि?

भन्नेले त्यो पनि भनेका छन्। तर समय त्यस्तो पर्न गएको मात्रै हो। नत्र मेरा साथीहरूलाई पनि मुम्बई जानेबारे पहिल्यै थाहा थियो। विवाहकै कारण म भागिरहनुपर्ने जरुरी थिएन। बहुविवाह गरेको गल्ती त अझै पनि मसँग छँदै छ नि। कानुनबाट अझै पनि म भाग्न सक्दिनँ। सजायको भागिदार त अझै पनि हुन सक्छु। कानुनले त शारीरिक सजाय मात्रै दिने हो। आफूले सोच्ने सजाय अलग्गै छ।

तपाईंले त्यो गल्तीचाहिँ किन गर्नुभयो त?

ती कुरा योजनाबद्ध थिएनन्। प्रेममा परें। त्यसो त मेरो जीवनमा एउटै पनि बिहे नगर्ने सोच थियो। अहिले मेरै दुइटा भयो। अब प्रश्न उठ्न सक्ला, तेस्रो पनि होला त? हुँदैन भन्न सकिन्नँ। त्यो जोखिम रही नै रहन्छ। यही कुरा मेरापत्नीको हकमा भयो भने पनि मान्नै पर्छ। प्रेम ऊर्जा हो। यसलाई नकार्न सकिँदैन।
‘भैरव’ कस्तो फिल्म बनाउनुभएको हो?
पूर्णत: देशभक्तिको। देशप्रेममा पागल भएको एक प्रहरीको कथा। भ्रष्टाचारविरुद्धको फिल्म।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...