पुनर्निर्माणका लागि जुट्यो ३ खर्ब २६ अर्ब ! नेपालको पुनर्निर्माणमा कसको कति सहयोग ?
Advertisement

१० असार, काठमाडौं । भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्न सहयोग जुटाउन आयोजना गरिएको अन्तराष्ट्रिय सम्मेलनमा विहीबार ३ खर्ब २६ अर्ब रुपैयाँ जुटेको छ । सहयोगको यो अंक अझै बढ्ने अनुमान गरिएको छ ।

यो रकममा भारतलगायतका विभिन्न देशले आगामी पाँच वर्षभित्र दिने भनिएको सहायता रकम जोड्दा अझ बढी हुन्छ ।
कुल ५६ दाताहरुको सहभागिता रहेको सम्मेलनमा करिब एक दर्जन दाताहरुले ३ खर्ब ३६ अर्ब रुपैयाँ बढी अनुदान तथा सहुलियत व्याजदरमा ऋण सहयोग गर्ने घोषणा गरेका छन् ।
भारतले २ खर्ब दिने
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब तत्कालै र अर्को १ खर्ब आगामी पाँच वर्षभित्रमा उपलब्ध गराउने घोषणा गरेकी छन् । पाँच वर्षमा भारतले गर्ने सहायता दुई खर्बको हुनेछ ।
दाताहरुले घोषणा गरेको यो (३ खर्ब २६ अर्ब रुपैयाँ) सहयोग देशको कूल बजेटको आधा हो । चालू आर्थिक वर्षको कूल बजेट ६ खर्ब ३५ अर्ब रुपैयाँ छ ।
सबैभन्दा बढी अनुदान चीनको
दाता सम्मेलनमा सबैभन्दा बढी अनुदानको घोषणा चीनले गरेको छ । चिनियाँ वाङ यीले ३ सय बिलियन युआन (४ सय ८३ मिलियन अमेरिकी डलर) अर्थात ४८ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान घोषणा गरेका छन् ।
यसअघिको प्रतिवद्धता जोड्दा नेपालको पुनर्निर्माणका लागि चीनको आर्थिक सहायता १ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।
भारतले १ खर्ब सहायता घोषणा गरे पनि अनुदान रकम त्यसको एक चौथाइ अर्थात २५ अर्ब मात्र छ । चीनले भने ४८ अर्ब अनुदान दिएर आफूलाई पहिलो नम्बरमा पारेको छ ।
कुन दाताले कति घोषणा गरे ?
नेपाललाई नर्वेका विदेशमन्त्री विदेशमन्त्री वर्ग ब्रेण्डले ३० मिलियन अर्थात ३ अर्ब रुपैयाँ सहायता दिने घोषणा गरेका छन् ।
त्यस्तै, अमेरिकाले १३० मिलियन डलर अर्थात १३ अर्ब रुपैयाँ आर्थिक सहायताको घोषणा गरेको छ । युरोपेली युनियनले १०० मिलियन युरो अर्थात १ अर्ब १३ करोड रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
एशियाली विकास बैंकले ६०० मिलियन अर्थात ६० अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।
गत बैशाख १२ र २९ गते दुई ठूला भूकम्पले मुलुकको अर्थतन्त्रमा ७ खर्ब बढीको क्षति गरेको राष्ट्रिय योजना आयोगले तयार पारेको पीडीएनए प्रतिवेदनमा उल्लेख छ । पीडीएनए प्रतिवेदनमा भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि ६ खर्ब ७० अर्ब रुपैयाँ आवश्यक रहेको उल्लेख छ ।
अर्थमन्त्री डा. रामशरण महतले बिहीबार काठमाडौंको सोल्टी होटलमा आयोजित दाता सम्मेलनमा नेपालको आवश्यकताबारे दाताहरुलाई ब्रिफिङ गरेका थिए । स्रोत : अनलाइन खबर



Advertisement



प्रतिक्रिया दिनुहोस्...