हतियारसहित पक्राउ परेका चर्चित डन 'बाघे' प्रहरी घेराबाटै फरार
Advertisement
गोरखा- दुई थान हतियारसहित पक्राउ परेका बारपाकका 'बाघे' भनिने धनबहादु गुरुङ प्रहरी घेराबाटै हतकडीसहित फरार भएका छन्। अवैध हतियार रहेको आशंकमा केही दिनदेखि प्रहरी निगरानीमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बारपाकबाट हतियारसहित पक्राउ गरेको थियो।
पक्राउ परेलगत्तै स्थानीयले छुटाउन माग गर्दै प्रहरीविरुद्ध नारावाजी गर्दै हुलदंगा गरेका थिए। धेरै संख्यामा आएका स्थानीयको भीडकै बीच हतकडीसहित प्रहरी घेराबाटै गुरुङ फरार भएको प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले बताए।
उनको साथबाट एक थान पेस्तोल र अर्को एक थान कुन हतियार भन्ने प्रहरीले सार्वजनिक गरेको छैन। हतियार भने प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी बारपाकस्थित नेपाली सेनाको शरणमा छन्। प्रहरी चौकीमा समेत स्थानीयले उनीहरुलाई खोजी गर्दै गएपछि सेनाको शरणमा बसेका हुन्।
अहिले बारपाकका स्थानीय प्रहरी, सशस्त्र प्रहरी र सेनाको क्याम्प वरपर भेला भएर नाराजुलुस् गरिरहेका छन्। स्थानीय युवालाई पक्राउ गर्न नपाउने भन्दै स्थानीयले प्रहरीमाथि आक्रोश पोखेका हुन्। अहिले थप मद्धतका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जौवारीबाट बारपाकका लागि प्रहरी परिचालन गरिएको छ।

Advertisement



