विमान दुर्घटनाको ५ दिनपछि आमा–छोरा जीवित भेटिए
Advertisement

काठमाडौं, आषाढ ११ । ल्याटिन अमेरिकीमुलुक कोलम्बियामा भएको एक विमान दुर्घटनामा एक महिला र उनको एक सन्तान जंगलमा जीवितै भेटिएका छन् ।

कोलम्बियाको चोको प्रान्तमा एक सानो विमान ५ दिनअघि दुर्घटनाग्रस्त भएको थियो । जसमा १८ वर्षीया मालिया नेली मुरिलो र उनको एक वर्षीय शिशु सवार थिए ।

उद्धारकर्मीले मुरिलो र उनको शिशुलाई दुर्घटनास्थलनजिक फेला पारेका हुन् । कोलम्बियाका वायुसेना प्रमुखले यस घटनालाई एक ‘चमत्कार’ भनेका छन् ।

जीवित भेटिएकी मुरिलोको शरीरमा केही चोट र आगोले जलेको घाउ छ । तर, उनको शिशु भने पूर्ण स्वस्थ्य रहेको बताइएको छ ।

दुई इन्जिन भएको उक्त विमान माछा र नरिवल लिएर नुकुन सहरबाट चोकोको राजधानी कुइदबोको उडानमा रहँदा दुर्घटनामा परेको हो । उडान भरेको २० मिनेटपछि उड्ययन अधिकारीसँग विमानको सम्पर्क टुटेको थियो ।

यसपछि खोजतलास गर्दा घना जंगलमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । विमानका पायलट ककपिटमा मृत अवस्थामा फेला परेका थिए । तर, यात्रीको सूचीमा रहेका मुरिलो र उनको शिशु भने त्यहाँ भेटिएनन् ।

उद्धारकर्ताको खोजीपछि बुधबार दुर्घटनास्थलबाट ५०० मिटरको दुरीमा मुरिलो र उनको शिशुलाई जीवित फेला पारिएको हो ।

मुरिलोले विमानमा आगो लागिरहेको समयमा आफू ढोका खोलेर जंगलतर्फ भागेको प्रतिक्रिया दिएकी छन् । मुरिलोको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनको शिशु पूर्ण स्वस्थ्य रहेको बताइएको छ । source taja khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...