तेस्रो विश्वयुद्धको सँघारमा ! चाइनाले अमेरिकी फाइटर बिमान यसरी धपाए
Advertisement

अमेरिका र चीनबीच तनाव बढ्दै  छ

हालै दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय जल क्षेत्रमा चीनद्वारा निर्मित कृत्रिम टापुहरूमाथि चार हजार पाँच सय मिटरको उचाइमा निरीक्षण उडानमा रहेको अमेरिकाको पी८ -ए- पोसिडन विमानलाई उक्त क्षेत्रबाट बाहिर जान चिनियाँ नौसेनाको एउटा जहाजले आठपटकसम्म चेतावनी दिएपछि उक्त विमान क्षेत्रबाट बाहिर गएको खबर सीएनएनले दियो।
यसअघि स्पार्टली टापु समूहमाथि उडिरहेको फिलिपिन्सको वायु सेनाको त्यस्तो एउटा विमानलाई पनि चिनियाँ जलसेनाले त्यसैगरी बाहिर्‍याएको थियो। अमेरिकी परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार यस्तो जलक्षेत्रमा अमेरिकाले आफ्नो उडान जारी राखिरहने बतायो।

त्यसलगत्तै गत मे २४ मा चीनको एउटा प्रमुख सरकारी मुखपत्र ग्लोबल टाइम्सको सम्पादकीयले भन्यो, 'यदि दक्षिण चीन सागरमा अमेरिकाको मूल नीति चीनले निर्माण गर्दै गरेका कृत्रिम टापुहरूको काम रोक्नुपर्छ भन्ने हो भने दक्षिण चीन सागरमा चीन-अमेरिका युद्ध अवश्यम्भावी छ। हामी अमेरिकासँग युद्ध गर्न चाहँदैनौं, तर तयार छौं।'

उक्त घटनापछि अमेरिका र ऊनिकट मित्रराष्ट्रहरूको चीनसँगको तनाव अझ बढ्दै गएको छ।अन्तर्राष्ट्रिय सुरक्षा र रणनीतिबारे अध्ययन र अनुसन्धान गर्ने बेलायतस्थित एउटा विख्यात संस्थाले हरेक वर्ष आयोजना गर्ने एसियाली सुरक्षाबारेको अन्तर्राष्ट्रिय सम्मेलन- सांग्रिला संवादमा अमेरिकी रक्षामन्त्री एस्टोन कार्टर र चिनियाँ जनमुक्ति सेनाका उपसेनाध्यक्ष सुन जियान्गुओबीच उक्त कृत्रिम टापुहरूको सबाललाई लिएर तीखो र कठोर भनाभन भयो।


भारत, जापान, अस्ट्रेलिया, इन्डोनेसिया, अस्ट्रेलिया, दक्षिण कोरियालगायत प्रमुख युरोपेली राष्ट्रहरूका रक्षामन्त्रीहरूको सहभागिता रहेको उक्त सम्मेलनमा रक्षामन्त्री कार्टरले एसिया प्रशान्त क्षेत्रका सबै मुलुकको सुरक्षा र उन्नतिका लागि एउटा साझा संरचना निर्माण हुनुपर्नेमा जोड दिए।

सो सम्मेलनमा रूसका रक्षा उपमन्त्री एन्तोली आन्तोनोभले पनि अमेरिकाको समग्र रणनीतिक प्रणाली नै चीन र रूसलाई सबैतिरबाट छेक्ने रहेको र सोअन्तर्गत उसले एसिया-प्रशान्त क्षेत्रलाई रणनीतिक रूपमा अस्थिर र तनावग्रस्त बनाइरहेकाले रूस पनि उक्त जलक्षेत्रमा चीनसँग संयुक्त सैन्य अभ्यास गर्न लागिरहेको बताए।

जुन १२ मा चीनका सैन्य आयोगमा राष्ट्रपति सी जिनपिङपछिका अत्यन्त शक्तिशाली र उनका अत्यन्त विश्वासपात्र तथा सैन्य आयोगका उपाध्यक्ष जनरल फान चाङलोङसँग पेन्टागनमा भएको भेटमा अमेरिकी रक्षामन्त्री एस्टोन कार्टरले चीनलाई दक्षिणी चीन सागरमा कृत्रिम टापु निर्माण तत्काल रोक्न र क्षेत्रका भूभागमाथि पुनर्दाबी नगर्न पुन: आह्वान गरे।

जबाफमा जनरल फानले आफ्ना सार्वभौम अधिकार क्षेत्रअन्तर्गत चीनले कुनै पनि भूभागमा सैनिक संरचना विकास गर्न सक्ने भएकाले अमेरिकालाई द्विपक्षीय सम्बन्धका दीर्घकालीन हित हेर्न र अन्य महत्त्वपूर्ण क्षेत्रीय र महत्त्वपूर्ण विषयमा आफ्नो ध्यान केन्द्रित गर्न आग्रह गरेको जानकारी सिन्ह्वाले दियो।

यसै सिलसिलामा चिनियाँ सैनिक अधिकारीहरूले आफ्ना व्यापारिक जहाजहरूलाई पनि युद्धको लागि तयार रहन र सो क्रममा न्यूनतम रक्षा मानदण्डअनुरूपका संरचना विकास गर्न निर्देशन दिएको कुरा चिनियाँ रक्षा मन्त्रालयकै एउटा प्रकाशनले गत १२ जुनमै स्वीकार गरेको छ।

विश्व बैंकको एउटा सम्मेलनलाई सम्बोधन गर्दै बढ्दो सैन्य सामथ्र्य आर्जन गरिरहेको चीन र क्षेत्रमा अमेरिकाका निकट रणनीतिक मित्रराष्ट्रहरूबीच सम्बन्ध तनावपूर्ण हुँदै आएको अवस्थामा तेस्रो विश्वयुद्ध टाढा नभएको कुरालाई विख्यात परोपकारीको समेत परिचय बनाएका अमेरिकी अर्बपति जर्ज सोरसले बताएका छन्। चीन र रूसका बीच राजनीतिक र सैनिक सम्बन्ध गहन र मजबुत हुँदै गएमा तेस्रो विश्वयुद्ध यथार्थमा रूपान्तरण हुने पनि उनको धारणा छ।

चीनको आक्रामक दक्षिण चीन सागर नीतिलाई मध्यनजर गर्दै अमेरिका, जापान र अस्ट्रेलियाले आगामी जुलाईमा उक्त सागरमा संयुक्त सैन्य अभ्यास गर्दैछन्। जापान पहिलोचोटि त्यस्तो अभ्यासमा संलग्न हुन लागेको विज्ञहरूको भनाइ छ।

उता भारतले आफ्ना चारवटा लडाकु जहाज इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, भियतनाम र कम्बोडियासँग दक्षिण चीन सागरमै अलग्गै संयुक्त सैनिक अभ्यासको लागि पठाइसकेको छ। सो अभ्यासपछि ती भारतीय लडाकु जहाज अस्ट्रेलियामा त्यस्तै अभ्यासका लागि जानेछन्।

दक्षिणी चीन सागर र अन्तर्राष्ट्रिय सैन्य गतिविधि
दक्षिण चीन सागरको जलमार्ग भएर विश्वका विभिन्न मुलुकले हरेक वर्ष पाँच हजार अर्ब डलरबराबरको व्यापार गर्दछन्।

उक्त जलमार्ग चीन, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, भारतजस्ता ठूला अर्थतन्त्रसँगै भियतनाम, फिलिपिन्स, मलेसिया, थाइल्यान्डजस्ता उदीयमान अर्थतन्त्रहरूको रक्तधमनी नै हो।

सन् १९४७ मा चीनको तात्कालीन चाङ काई-सेक सरकारले बनाएको नक्साकै आधारमा चीनले दक्षिणी चीन सागरका टापुसमूह र सिंगो जलक्षेत्रको अधिकांश भागमा आफ्नो दाबी जताइरहेको छ।

दक्षिण चीन सागरमा मूलत: यस्ता दुई टापु समूह विवादको मूलमा छन्- एउटा चीन र भियतनामको बीचमा १५ हजार वर्ग किलोमिटर जलक्षेत्रमा छरिएर रहेको एक सय ३० वटा ससाना टापु र चट्टानहरूको समूह - पारासेल हो।

जम्माजम्मी आठ वर्ग किलोमिटरजति जमिन ओगटेका ती टापु समूह गर्भमा र वरिपरिको जलक्षेत्रमा तेल, ग्यास र खनिज पदार्थको प्रचुर भण्डार हुनुका साथै मत्स्य उद्योग र व्यवसायको दृष्टिले समेत महत्त्वपूर्ण छ। भनिरहनुपरेन, ती साना टापुहरूले ठूलो सामरिक महत्त्व पनि राख्छन्।

सन् १९५० सम्म ताइवानको अधीनमा रहेको पारासेल टापु समूहको एउटा भाग सन् १९५० मा र दक्षिण भियतनामको अधीनमा रहेको बाँकी भाग सन् १९७४ मा दक्षिण भियतनामको पराजयदेखि चीनको नियन्त्रणमा छ।

सोही आधारमा ताइवान र भियतनामले उक्त टापुहरूमाथि आफ्नो दाबी गरिरहेका छन्। अर्को, दक्षिण चीन सागरमा भियतनाम, मलेसिया, फिलिपिन्स र ब्रुनाईको निकट रहेको स्पार्टली टापु समूह हो।

विगतमा अन्य मुलुकहरूको अधीनमा रहेका तर पछि समुद्रमा डुबेका ससाना टापुहरूमाथि चीनले पानीमुनिबाट कंक्रिटको पर्खाल उठाएर पाँचवटा कृतिम टापु बनाइसकेको र अन्य दुई त्यस्ता टापु निर्माणाधीन अवस्थामा छन्।

ती कृत्रिम टापुले सो क्षेत्रको नयाँ भूगोल निर्माण गर्ने र चीनलाई त्यो क्षेत्रवरिपरिको ठूलो जलक्षेत्रमाथि अधिकार जताउन मद्दत गर्ने भएकाले चीनले हालै उक्त कृत्रिम टापुहरूमा हातहतियारसहितको सैन्य शक्तिलाई पनि तैनाथ गरेको वाल स्ट्रिट जर्नलले लेखेको छ।
अत्यन्त ठूलो मारक क्षमता भएको र अत्याधुनिक प्रविधियुक्त हातहतियारले मात्र कुनै राष्ट्रलाई विजय र सुरक्षा प्रत्याभूत गर्दैन। भियतनामदेखि अफगानिस्तान र इराकसम्म आइपुग्दा अमेरिकाले नै यसलाई पुष्टि गरेको छ। अर्को कुरा, अमेरिका एकैपटक दुई ठूला युद्ध मोर्चामा संलग्न रहने क्षमता राख्दैन भन्ने कुरा अमेरिकी रक्षाविज्ञ र उच्च सैनिक अधिकारीहरू बताइरहेका छन्। युद्ध गरेरै त चीन पनि ताइवानमाथि निर्णायक विजय प्राप्त गर्ने सामर्थ्‍य राख्दैन।
दक्षिण चीन सागरमा चार लाख २५ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएका स्पार्टली भनिने सात सय ५० ससाना द्वीप समूह छन्। यिनै ससाना टापुहरू भएर दक्षिण चीन सागरका महत्त्वपूर्ण सामुद्रिक मार्ग गएका छन्।

भियतनाम, फिलिपिन्स, मलेसिया र ब्रुनाइको सीमाभन्दा ६०-८० किलोमिटरबीचको दूरीमा रहेका यी द्वीप समूह चीनको सीमाभन्दा एक हजार ६ सय किलोमिटर टाढा छन्, तर चीन यी सबै द्वीप समूहमाथि आफ्नो दाबी गरिरहेको छ।
जुनको अन्त्यमा प्रस्तावित दक्षिण चीन सागरमा जापान र फिलिपिन्सबीच प्रस्तावित संयुक्त सैन्य अभ्यासबारे कठोर टिप्पणी गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता होङ लीले जापानलाई दक्षिण चीन सागरका मुलुकहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिए।
गत महिना पनि जापानले फिलिपिन्ससँगको संयुक्त सैनिक अभ्यासको लागि आफ्ना दुई विध्वंसक जहाजहरू पठाएको थियो।
फिलिपिन्सको नियन्त्रणबाट सन् २०११ मा चीनले बलपूर्वक आफ्नो अधीनमा लिएको 'स्कारबोरो सोल' भन्दा उक्त सैन्य अभ्यास तीन सय किलोमिटरको दूरीमा सम्पन्न भएको थियो।
अमेरिका पनि दक्षिण चीन सागरका साना तटवर्ती मुलुकहरूको रणनीतिक मनोबल उठाउन जापान र भारतजस्ता शक्तिशाली मुलुकहरूलाई उक्त क्षेत्रमा आमन्त्रण गरिरहेको छ।

चीनबाट बढ्दो सुरक्षा खतरालाई मध्यनजर गर्दै इन्डोनेसिया, मलेसिया, ताइवान र फिलिपिन्सजस्ता दक्षिणपूर्वी एसियाका मुलुकहरूले आफ्नो प्रतिरक्षा क्षमता वृद्धि गर्न यसै वर्षभित्र ४० अर्ब डलर खर्च गर्नेछन्।
सन् २०२० सम्म यो ५० अर्ब डलर पुग्ने कुरा अमेरिका-आसियान व्यापार परिषद्का एन्थोनी नेल्सनले जुन १० मा सञ्चारमाध्यमलाई बताए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा गत साता एउटा उल्लेखनीय समाचार प्रकाशित भयो। उनीहरूका अनुसार अमेरिकाको दुई अर्ब र जापानको एक अर्ब डलरको लगानीमा विकास गरिएको छोटा र मध्यम दूरीका अन्तरमहाद्वीपीय क्षेप्यास्त्रलाई बीचैमा नष्ट गर्ने 'एसएम थ्री' क्षेप्यास्त्रको नयाँ पुस्ताको सफल परीक्षण सम्पन्न भयो।

जमिन र समुद्रबाट अन्तरिक्षमा स्थित लक्ष्यमाथि प्रहार गर्न सकिने संसारको एक मात्र यस्तो क्षेप्यास्त्र सन् २०१८ सम्ममा अमेरिकी र जापानी सैन्य सुरक्षा प्रणालीमा समावेश गरिनेछ।
उता पछिल्लो आइतबार मात्रै चीनले आवाजभन्दा १० गुणा तीव्र वेगले आणविक हतियारद्वारा लक्ष्यमा प्रहार गर्न सक्ने र अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ध्वस्त गर्न सक्ने वु १४ भनिने शस्त्र प्रणालीको सफल परीक्षण गरेको छ।

गएको अढाई महिनादेखि संयुक्त राज्य अमेरिका आफ्नो सिमानाको आसपास पनि विराट् र व्यापक सैन्य गतिविधि सञ्चालन गरिरहेको छ।
रूसले पनि पूर्वीएसियामा संसारमा सबैभन्दा आधुनिकमध्येको मानिने र एकैपटक तीनवटै क्षेप्यास्त्र प्रणालीद्वारा ३६ अलग-अलग लक्ष्यमा प्रहार गर्न सक्ने एस ४०० नाउको हवाई सुरक्षा प्रणालीको संख्या दोब्बर बनाएको छ। रूसले चीनलाई पनि यो प्रणाली प्रदान गरेको छ।

साथै रूसले एसियाको उत्तरपूर्वमा अत्यन्त शक्तिशाली जलसेना तैनाथ गरेको छ र गएको दुई वर्षदेखि उसले निरन्तर यो सेनाको हवाई र र नौसैनिक क्षमतामा विस्तार गरिरहेको छ।
उता, चीनको जल र वायु सेनाले हालै ताइवान र फिलिपिन्सको सिमानानजिकैको जलक्षेत्रमा आफूसँग भएका सबैभन्दा घातक लडाकु विमानहरूद्वारा गरिने सैन्य अभ्यासहरू सञ्चालन गरेका छन्।

विगत सधैंको वर्तमान हो
नोबेल पुरस्कार प्राप्त साहित्यकार विलियम फल्कनरले भनेका छन्, 'विगतको कहिल्यै पनि अन्त्य हुँदैन।' उनले अझ के भनेका छन् भने विगत कहिल्यै विगत हुँदैन, सधैं वर्तमान भएर बस्छ।

अमेरिकाको पश्चिमी किनारादेखि भारतीय उपमहाद्वीपसम्म विस्तारित र संसारका दुई महासागर जोड्ने एसिया-प्रशान्त क्षेत्रमा संसारको आधा जनसंख्या बस्छन्।
यो क्षेत्रका जलमार्गहरू विश्व अर्थतन्त्रको रक्त प्रणाली हुन्।
अमेरिकाका निकट मित्रहरूसहित चीन, भारत र इन्डोनेसियाजस्ता मुलुकहरू अवस्थित यो क्षेत्र अमेरिकाको भविष्यको लागि महत्त्वपूर्ण छ र क्षेत्रीय सबालमा सक्रिय रूपमा सहभागी अमेरिका एसियाको भविष्यको लागि त्यत्तिकै महत्त्वपूर्ण छ।

निसन्देह, सैनिक, वैज्ञानिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, वैचारिक सबै आधारमा अमेरिका संसारको सबैभन्दा शक्तिशाली राष्ट्र हो।
 यो शताब्दीको मध्यसम्ममा माथिका कुनै पनि आधारमा अमेरिकालाई चुनौती दिने सामर्थ्‍य संसारको कुनै मुलुकले आर्जन गर्न सक्ने छैन तर पनि अमेरिकी सरकार, सेना र रक्षा विशेषज्ञहरू अमेरिकी हित असुरक्षित रहेको चिन्ता व्यक्त गरिरहेका छन्।

वर्तमानमा चीन अमेरिकापछिको शक्तिशाली राष्ट्र हो। हातहतियार र सैन्य सामथ्र्यको दृष्टिले रूस अहिले पनि संसारको दोस्रो हो, तर कमजोर आर्थिक क्षमताका कारण ऊ पछाडि देखिन्छ।
अत्यन्त ठूलो मारक क्षमता भएको र अत्याधुनिक प्रविधियुक्त हातहतियारले मात्र कुनै राष्ट्रलाई विजय र सुरक्षा प्रत्याभूत गर्दैन। भियतनामदेखि अफगानिस्तान र इराकसम्म आइपुग्दा अमेरिकाले नै यसलाई पुष्टि गरेको छ।
अर्को कुरा, अमेरिका एकैपटक दुई ठूला युद्ध मोर्चामा संलग्न रहने क्षमता राख्दैन भन्ने कुरा अमेरिकी रक्षाविज्ञ र उच्च सैनिक अधिकारीहरू बताइरहेका छन्। युद्ध गरेरै त चीन पनि ताइवानमाथि निर्णायक विजय प्राप्त गर्ने सामर्थ्‍य राख्दैन।

विगतका दुई विश्वयुद्धको शिक्षा के रहेको छ भने जसका कारण युद्ध प्रारम्भ भएको छ, तिनैको पराजयबाट युद्धको अन्त्य भएको छ।
पूर्वीएसिया र दक्षिणपूर्व एसियामा चीनका निकट र घनिष्ट मित्र उत्तरकोरिया र ब्रुनाई मात्रै हुन्। उक्त क्षेत्रका बाँकी सबै मुलुक चीनलाई सुरक्षा खतरा बुझ्छन् र अमेरिका मूलत: क्षेत्रका तिनै राष्ट्रहरूको अभिरुचिको कारण नै उक्त क्षेत्रमा सबल सैन्य सामथ्र्यसहित उपस्थित छ।

दक्षिण चीन सागरवरिपरिका मुलुकहरूमाझ अमेरिका र जापान किन चीनभन्दा बढी लोकप्रिय छन्? उत्तर दिने दायित्व चीनकै हो।
चीनकै चेतावनीका कारण अमेरिका र जापान दक्षिण चीन सागरबाट भागिहाल्छन् भन्ने चीनले सोचेको छ भने त्यो पनि कुनै रणनीतिक सोच होइन।
यस्ता विवादहरूको समाधानका चीनसमेत अंग रहेको अन्तर्राष्ट्रिय कानुन छ र अन्तर्राष्ट्रिय न्यायालयसहितका अन्य संयन्त्र पनि छन्।
चीन आफैं क्षेत्रका मुलुकहरूसमक्ष त्यस्ता कानुन र संयन्त्रमार्फत विवाद समाधानको प्रयासमा किन अग्रसरता देखाइरहेको छैन?
चीनले क्षेत्रमा रणनीतिक सामर्थ्‍य होइन, रणनीतिक विवेक प्रदर्शन गर्न ढिलाइ गरिरहेको छ। 'विगत कहिल्यै विगत हुँदैन, सधैं वर्तमान भएर बस्छ' यो सन्देश वर्तमान चीनको लागि अझ बढी हो।



Advertisement



प्रतिक्रिया दिनुहोस्...