नाम दिएर गइन्..
Advertisement
गर्भको बच्चाको नाम जुराएर प्रेरणाले मनोजलाई एसमएस पठाएकी थिइन् । कामको सिलसिलामा विदेशमा रहेका मनोजले एसएमएसबाटै पत्नी प्रेरणालाई तुरुन्तै जवाफ फर्काए थिए, ‘हुन्छ नि ।’
सन्तानलाई जन्म दिने कुरामा प्रेरणा निकै उत्साहित थिइन् । उनी सुत्केरी हुँदा चाहिने सामान किन्न मनोजलाई सूची पठाइरहन्थिन् । उज्यालो अनुहार लिएर अस्पताल पुगेकी प्रेरणाले ‘लियाम’ लाई जन्म त दिइन् तर, आफू कहिल्यै नफर्किने गरी संसार छाडिन् ।
गिटारिस्ट मनोज केसीलाई एक महिनाअघि घटेको यी सबै घटना कुनै फिल्मभन्दा कम लाग्दैन । यसै साता झम्सीखेलस्थित मोक्षमा भेटिँदा मनोज प्राय: फ्लासब्याकमै जान खोजिरहेका थिए । उनी सन् १९९८ देखि ‘१९७४ एडी’ म्युजिक ब्यान्डमा आबद्ध छन् ।
जीवनसंगिनीलाई बचाउन नसकेकोमा मनोजलाई यति बेला खुब पछुतो लाग्छ । ‘किन बचाउन सकिनँ ? कसरी यस्तो भो ?’ आफैंलाई प्रश्न गर्ने मनोज पाटन अस्पतालको लापरबाहीका कारण पत्नी गुमाउनुपरेको दाबी गर्छन् । त्यसैले त मृत्युको पर्याप्त कारण खोज्दै उनी अस्पतालसँग भिडिरहेका छन् । तर सुनुवाइ नभइरहे मनोज कानुुनी उपचारमा समेत जाने बताउँछन् ।
यति बेला मनोजलाई जीवनसंगिनी गुमाउनुपर्दाको पीडा त छ नै, मृत्युको कारण नपाउँदा उत्तिकै तनाबमा पनि । हुन त छोरा मान्छे भएर रुनु हुन्न भनिन्छ, तर अब त उनको आँसुको मुहान पनि सुकिसकेको थियो । ओठ सुकेर पटपटी भइसकेका छन् । मुहारमा कान्तिक्षय भएको प्रस्टै छ । ‘पानीबिनाको माछोजस्तै छटपटिएको छु,’ निराशा व्यक्त गर्दै मनोजले भने, ‘प्रेरणाले कुनै पनि अन्याय सहन्नथिन् । उनकै स्वाभावले मलाई पनि न्याय खोज्न बाध्य बनाएको छ ।’ सुरुमा डाक्टरहरूले ‘ठिक हुँदै छ’ भन्दै गए । पछि अचानक निधनको खबरले मनोज छाँगाबाट खसेझै| भए ।
ज्याज कन्जरभेटरीमा सक्रिय मनोजले त्यसबेला जापानी सहयोग नियोग जाइकामा सांगीतिक कार्यक्रम लिएर गएका थिए पाँच वर्षअघि । प्रेरणा विसेकलाई पहिलो पटक त्यहीँ भेटेका थिए । विस्तारै प्रेम झाँगिँदै गएपछि दुवैले यसलाई विवाहको रूप दिए ।
संगीतबारे खासै चासो नराख्ने प्रेरणा मनोजसँगको संगतले राम्रो/नराम्रो खुट्याउने भइसकेकी थिइन् ।
‘मेरो संगीतको पहिलो श्रोता उनै थिइन्,’ मनोजले थपे, ‘फास्टभन्दा स्लो गीत रुचाउँथिन् ।’
ब्यान्डको पहिलो एल्बम ‘सम्झी बस्छु’ मा ‘परेलीमा लुकाइराख न, अँगालोमा बाँधिराख न...’ गीत उनले आफ्नै शब्द र संगीतमा रचेका थिए । म्युजिक प्रोडक्सनको रूपमा ‘सानो संसार,’ ‘कागबेनी,’ ‘माला’ लगायत फिल्ममा काम गरेका उनले घरमै स्टुडियो खोलेका थिए र सबै काम त्यहीं गर्थे । प्रेरणा उनका कामहरूका साक्षी हुन्थिन् ।
‘राम्रोलाई प्रशंसा गरिहाल्ने उनी नराम्रो पनि ठाडै भन्थिन्,’ मनोजले सम्झे, ‘अहिले अन्योलमा पर्छु ।’
नेवार समुदायकी प्रेरणासँगको प्रेमले मनोजको जीवन फक्रिँदै थियो । तर यही बेला कुनै रोग नभएकी प्रेरणाको जीवन भने ओइलाएर गयो । एक रात दस बजे पाठेघरको अप्रेसन गर्नुपर्छ भनी चिकित्सकले ४०–५० मिनेटसम्म लेवर रुममै राखेको मनोज सम्झन्छन् । अवस्था बुझ्दा ‘राम्रो हुँदै छ’ भन्ने बाहेक अरू जवाफ सुन्नु परेन ।
‘राम्रो छ भन्दाभन्दै किन बचाउन सकिएन ?’ मनोजको मनमा यही प्रश्न गढेर बसेको धेरै भयो, ‘म यसको कारण खोज्न चाहन्छु ।’
नवजात शिशुलाई पनि तीन दिन भेन्टिलेटर र १२ दिन अस्पतालमा राखी बचाइएको मनोजले सुनाए । उनी अहिले अस्पतालविरुद्ध कागजात तयार पार्नुका साथै एकमहिने छोरा लियामलाई आमाको माया पनि दिइरहेका छन् ।source tajakhabar
Advertisement