खालिङ मृत्युदण्डबाट जोगिएर फर्केपछिको वयान: पाकिस्तानीले मसँग समलिंगी सम्बन्ध राख्न खोज्यो
Advertisement
२४ असार, काठमाडौं । दुबईमा मृत्युदण्ड पाउनबाट जोगिएर काठकाडौं आइपुगेका अनिस खालिङलाई भेट्न चाबहिलस्थित उनको आफन्तको घरमा पुग्दा उनको काखमा सानी छोरी खेलिरहेकी थिइन् ।
‘साढे तीन वर्षकी यो छोरीलाई मैले आज पहिलोचोटि देखेको हुँ,’ खालिङले अनलाइनखबरसित भने-‘यसले अहिलेसम्म मलाई बाबा पनि भनेकी छैन ।’
झण्डै साढे तीन वर्षअघि पैसा कमाउने धुनमा दुवईतिर जाँदा श्रीमतीको पेट सुम्सुम्याएका थिए उनले । उनी गएको एक महिनापछि छोरी जन्मिइन् । उताबाट श्रीमतीलाई फोन गर्दा सबैभन्दा बढी छोरीकै विषयमा कुरा गर्न मजा मान्थे खालिङ । यसबीचमा श्रीमतीले फेसबुकमा पठाएको छोरीको फोटोलाई हरेक दिन अघाउञ्जेल हेर्थे ।
घटना यस्तो थियो (अनिसकै शब्दमा)
दुबईमा म बस्ने ठाउँ नजिकैको एउटा पाकिस्तानी ड्राइभरसित सामान्य चिनजान भयो । एक-दुईचोटि डिपार्टमेन्टल स्टोरबाट सामान ओसार्न उसको ट्याक्सी चढेको थिएँ । एक दिन मैले उसलाई फोन गरेर केही सामानहरु किनेर घरसम्म ल्याइदिन भनें । उसले केहीबेरमा फोन गरेर ‘सामान ल्याएको छु, पैसा लिएर रोडमा आउ’ भन्यो । म रोडमा निस्केँ । उसले ट्याक्सीको ढोका खोल्यो ।
म ट्याक्सीभित्र पसेर सामान निकाल्न खोज्दै थिएँ, अचानक उसले रिमोटबाट ढोका लक गर्यो । मैले केही सोध्न नपाउँदै ट्याक्सी हुईंक्यायो । मलाई के गर्न खोजेको हो, केही सोच्नै सकिँन ।
केहीबेरमा एउटा मरुभूमिजस्तो ठाउँमा लगेर ट्याक्सी रोक्यो । ढोका खोलेर बाहिर निकाल्यो । त्यसपछि उसले एकदमै अश्लील हर्कत गर्न खोज्यो । मलाई लडाएर समलिंगी सेक्स पो गर्न आँट्यो । मैले पनि भएभरको बल लगाएर उसलाई लडाएँ । अनि लगातार मुक्का बजाएँ । ऊ ढल्यो । म भागेँ । मलाई त्यो मर्यो होला भन्ने लागेको थिएन, बेहोश भयो भन्ठानेको थिएँ ।
म कोठामा पुगेको २४ घन्टा नबित्दै प्रहरी आयो । फलानो मान्छे मर्यो, तिमी थाना हिँड भनेर मलाई लिएर गए । त्यहाँ पुगेपछि अनेक सोधपुछ गरे । मैले यस्तो यस्तो भएको हो भनेर सबै कुरा सुनाएँ । अलिअलि उर्दू र अलिअलि अंग्रेजी मिलाएर कनीकुथी बोलेँ । त्यसपछि मलाई जेल चलान गरियो ।
मेरो मुद्दा चल्न थाल्यो । तारिख सुरु भयो । डेढ वर्षसम्म मुद्दा चलेपछि मलाई मृत्यु दण्डको सजायँ सुनाइयो । फैसला अरबी भाषामा भएकाले मैले बुझेको थिइँन । त्यसको अंग्रेजी अनुवाद मागेर जेलमा रहेका नेपाली गार्डहरुलाई देखाउँदा पो छाँगाबाट खसेझैं भएँ । त्योबेला मेरो मनभित्र चलेको हुण्डरी शब्दमा बयान पनि गर्न सक्दिन ।
त्यहीँको सरकारले तिर्यो, ब्लडमनी
यूएईमा अनिस एउटा कृषि फार्ममा तरकारी काट्ने काम गर्थे । सात सय दिराम तलब भए पनि साहुले नियमित तलब दिएको थिएन । ६ महिना काम गर्दा ३ महिनाका मात्रै तलब दिएको थियो ।
अनिश जेल परेको खबर तीन महिनापछि नेपालमा आफन्तले पाए । उनकी श्रीमती रमिला भन्छिन्, ‘दुबईमा उहाँसित बस्ने नेपालीका साथीले आफ्नो परिवारमा भनेछन् । उनीहरुले हामीलाई भने ।’
श्रीमानले विदेशमा पैसा कमाएर पठाउलान् र सुखका दिन बिताउँला भन्ने कल्पनामा दिन बिताइरहेकी रमिलाका सारा सपना चकनाचुर भए ।
जेल परेको डेढ वर्षपछि अनिसलाई मृत्युदण्डको सजायँ सुनाइयो । त्यो खबर पाएपछि त उनी मरेतुल्य भइन् । तैपनि हिम्मत हारिननन् । काठमाडौं आइन् र सरकारी निकाय र सञ्चारमाध्यमहरुलाई गुहारिन् ।
अनिशलाई मृत्युदण्ड सुनाइएको समाचार सञ्चारमाध्यममा आएपछि थुप्रै नेपालीहरु तात्तिए । उनको मुद्दा र घटना विवरणबारे छलफल गरे । बचाउन सकिने सम्भावनाबारे अध्ययन गरे । त्यसपछि ब्लडमनी जुटाउने अभियान सुरु भयो ।
मृत्यूदण्डको सजायँ सुनाएपछि त्यहाँको अदालतले पीडित परिवारलाई तीनवटा विकल्प दिएको थियो । एउटा ब्लड मनी लिएर अनिषलाई उन्मुक्ति दिने, अर्को मृत्यूदण्ड दिने र तेस्रो अन्य सजायँ दिने । परिवारले पहिलो ब्लडमनी रोजेपछि अनिसको जीवनरक्षाको ढोका खुलेको थियो ।
अब विदेश जाने कल्पना पनि गर्दिँन
अन्तमा उनलाई ‘निर्दोष’ भन्दै बाँकी रहेको दुई वर्ष जेल सजायँ मिनाहा गरेर जेलमुक्त गरियो । ‘मलाई त नयाँ जीवन पाएझैं भएको छ,’ अनिष भन्छन् ।
बुधबार राति त्रिभुवन विमानस्थलमा ओर्लिदा आफूलाई स्वागत गर्न बसेका परिवार, आफन्त र सुभेच्छुकलाई देखेर उनी भावुक बनेका थिए ।
उनले अब स्वदेशमै बसेर केही गर्ने सोच बनाएका छन् । ‘विदेश जाने त अब सोच्दा पनि सोच्दिँन,’ उनले भने, ‘यही श्रीमती र छोरीसित बसेर केही पेशा व्यवसाय गर्छु । आफूजस्तै विदेशको जेलमा अनाहकमा थुनिएका नेपालीका लागि केही गर्ने मन पनि छ ।’ स्रोत : अनलाइन खबर
Advertisement