.“म यो देशलाई वृद्धाश्रम सम्झेर आएको हैन”
Advertisement
विक्रमको पचास–साठीको दशकमा सरोज खनाल उम्दा अभिनेतामा चिनिन्थे। स्वाभाविक अभिनय उनको विशेषता थियो। गम्भीर दर्शकबाट अत्यधिक रुचाइएका उनी अभिनय क्षेत्र चटक्कै छोडेर अकस्मात् अमेरिका गए। पहिले माया गर्नेहरूले नै पछि उनलाई पलायनवादी भन्न थाले। तर, सत्र वर्षपछि खोलो फर्किएको छ। सरोजले स्वदेशी कला क्षेत्रमा अबको समय बिताउँछु भनेर अमेरिका छाडेका छन्। नेपाल आएको दुई साताभित्र उनले तीन फिल्म ‘प्रेमगीत’, ‘नाइँ नभन्नु ल ४’ र ‘डन्डीबियो’ मा खेल्न सम्झौता गरिसकेका छन्। प्रस्तुत छ, पहिलेको भन्दा बढी स्पिरिटमा काम गर्ने जोस बोकेर आएका पुराना अभिनेता सरोज खनालसँग सुशील पौडेलले गरेको कुराकानी :
अँ, अनावश्यक चर्चा भयो बढी। एक अर्थमा यो, मलाई मन पराउनेहरूले, मलाई हेर्न चाहिरहनेहरूले, त्यो पिरियडमा मैले छोडेर जाँदाको रिस म फर्केर आएपछि माया मिसाएर व्यक्त गर्नुभएको होला।
यस्तो हल्लीखल्ली पहिले किन भएन? अहिले किन भयो?
पहिले म नेपाल बस्न आउने कुरा थिएन। निश्चित कामको लागि वा परिवार भेट्न आउँथें र केही हप्ता बसेर फर्किहाल्थें। तर अहिले सायद म पूरै फर्किन लागें भन्ने विषयलाई लिएर मिश्रित कमेन्ट्स आए। एक–दुइटा कमेन्टको मैले जवाफ पनि दिइरहेको छु। कसैले ‘सरोज खनाल नेपाललाई वृद्धाश्रम बनाउन आयो’ पनि भन्नुभयो। जोकसैको बारेमा केही भन्न सबैलाई स्वतन्त्रता छ। त्यस कारण उहाँहरूको बुद्धिविवेकले जे भेट्टायो, त्यही भन्नुभएको होला। म यो देशलाई वृद्धाश्रम बनाउन आएको हैन। सकें भने बरु जो वृद्धवृद्धाहरू आश्रममा हुनुहुन्छ, त्यहाँबाट निकाल्न कोसिस गर्छु।
देशमा नाम र दाम कमाइरहेका बेला थुप्रै सेलिब्रेटी पलायन भएका उदाहरण प्रशस्तै छन्। खासमा देशै छोड्नुपर्ने बाध्यता किन आइपर्ने रहेछ?
नाम र दाम भन्नुभयो, तर हामीले कमाएको नाम मात्रै हो। दामको कुरामा चाहिं, मैले फिल्म क्षेत्र छोडेको सत्र वर्ष भइसक्यो, अहिले पनि त्यही स्थितिमा छु। त्यति बेला नाम चाहिं हुन्थ्यो। अलिकति त त्यही नाम धान्न पनि गाह्रो परेको हो हामीहरूलाई। नायिकाहरूलाई अझ गाह्रो छ, हामी केटा मान्छेहरूलाई भन्दा पनि। अर्को मुख्य फ्याक्टर भनेको मैले कहिल्यै सेक्योर फिल गर्न सकिनँ यो फिल्डमा। हो, त्यतिखेर म सबभन्दा बढी फिल्म गर्नेमा पर्थें। चलेको कलाकार मै थिएँ। फिल्म, थिएटर, सिरियल सबैमा काम गर्थें। र पनि, म आर्थिक रूपले मात्रै हैन, अरू चीजले पनि सेक्योर हुन सकिनँ। फिल्म क्षेत्र बल्ल बामे सर्न लागेको थियो। नाटक त हामी फ्रीमा गथ्र्यौं। त्यो बेला हरेक साता ‘आरोहण शनिबार’ चलाउँथ्यौं। टेलिफिल्म एउटा एपिसोडको पाँच सय रुपैयाँ दिन्थे। डेराभाडा तिर्नुपर्यो, छोराछोरी पढाउनुपयो, खानुपर्यो। तैपनि पुग–नपुग चलिरहेको थियो। तर पनि विभिन्न कारणले गर्दा कहिल्यै सुरक्षित महसुस भएन।
दाम कमाइएन भन्नुभयो। तर बनिरहेको नाम र क्रेजलाई लत्याएर अमेरिका गएपछि चाहिं के कमाउनुभयो?
वास्तवमा, मैले कमाउनचाहिं केही पनि कमाइनँ। कमाइनँ भनूँ भने यहाँ अलिअलि जेजस्तो कमाएको थिएँ, अमेरिकामा पनि त्यही हो। अमेरिकाका विभिन्न स्टेटहरूमा, देशको कलासंस्कृतिबाट टाढिनुभएका नेपालीहरूलाई जोड्ने काम गरेको छु। स्टेज कार्यक्रम गर्नेदेखि राम्रा नेपाली फिल्म मगाएर देखाउनेसम्म गर्थें। यसले गर्दा त्यहाँ पनि मैले माया पाएँ। त्यहाँ कमाएको पनि मैले दर्शक नै हो। हो, त्यहाँ गइसकेपछि अलिअलि काम गरेर धन त आयो, नआएको हैन।
सत्र वर्षअघि अमेरिका जाने जुन निर्णय गर्नुभयो, त्यसमा अहिले पश्चात्ताप हुन्छ कि गर्व?
मिश्रित अनुभव छ। पश्चात्ताप के अर्थमा छ भने, दर्शकहरूले राम्रो मानेको कलाकार उहाँहरूको मन मारेर अमेरिका गयो छ। मैले जुन फिल्म क्षेत्र छोडें, नाम छोडेर गएँ, त्यो कुरा मैले अमेरिकामा अर्बौं, खर्बौं डलर कमाए पनि पाउँदिनँ। यो देशमा भन्दा बाहेक कहीँ गए पनि पाउँदिनँ। हो, अमेरिकामा बस्ने नेपालीले पनि चिन्नुहुन्छ, त्यो कुरा भिन्दै हो। तर यो समाज र दर्शकको जत्तिको माया मैले अन्यत्र कहीं पनि पाउने रैनछु। त्यस अर्थमा मलाई पश्चात्ताप छ।
आलोचकले बुढेसकालमा देश फिर्यो पनि भने। त्यो बेलाको तपाईंको स्पिरिट र अहिलेकोमा कति बदलाव अनुभव गर्नुभएको छ?
स्पिरिट बढी छ अहिले। फर्किएको पन्ध्र दिनमै मेरो क्षेत्रले यति माया गरेको छ। मिडियाले साथ दिइरहेको छ। यसले मेरो स्पिरिट पहिलेभन्दा बढाएको छ। एक महिनाभित्र स्टेज परफर्म गर्दै छु। जनचेतनामूलक विज्ञापन गर्दै छु। तीनचार वटा फिल्म साइन गरिसकें। सत्र वर्षअघि महिनामा एकाध फिल्म मात्रै गर्थें। नाटक मुस्किलले गर्थें। अहिले अहोरात्र काम गरिरहेको छु। ममा गर्न सक्छु भन्ने आँट आइरहेको छ। हिजो (मंगलबार) राति बाह्र बजेसम्म सुटिङमा थिएँ। आज (बुधबार) बिहानै सर्वनाममा नाटक रिहर्सलमा व्यस्त रहें। अब एक छिनमा फेरि एउटा फिल्मको स्टोरी सुन्न जाँदै छु।
अबको सरोज खनालको परिचयमा केही थपघट होला?
अब मेरो परिचयमा कलाकारपछि बिजनेसम्यान टयाग पनि थपिनेछ। चितवनमा मेरो खनाल पोल्ट्री छ। त्यसको सञ्चालनमा जुट्नेछु म। त्योबाहेक बायो अर्गानिक फ्याक्ट्री पनि खोल्दै छु। त्यसको काम पनि सुरु भइसक्यो।
तपाईंको सक्रियता कलाकारितामा बढी हुन्छ कि निजी व्यवसायमा?
फिल्म, टेलिफिल्म वा नाटक गर्नेहरूमा भर पर्छ। उहाँहरूले मलाई कति मौका दिनुहुन्छ, हेरूँ। ‘मलाई भूमिका दिनुस्’ भनेर म पहिले पनि कसैको ढोकामा गइनँ, अहिले पनि जान्नँ। तर चाहना त मनमा हुन्छ नि, गर्न पाए हुन्थ्यो भन्ने। यदि उहाँहरूले राम्रो कलाकार फिल गरेर बोलाउनुहुन्छ भने निराश पार्दिनँ। मैले पनि आफूलाई अझै सत्र वर्षअघिकै हिरो सम्झेर पनि हुन्न। अब त्यो चरित्र नै चाहिन्छ भन्ने छैन। यत्ति हो, मैले निर्वाह गरेको चरित्रले मलाई आत्मसन्तुष्टि मिल्नुपर्यो। पहिले म डिमान्ड पनि गर्थें। त्यसैबाट मेरो र परिवारको रोजीरोटी चल्थ्यो। तर अहिले मेरो ब्याकअपमा व्यवसाय पनि छ। यदि कसैले साँच्चिकै राम्रो स्क्रिप्ट ल्याएर ‘दाइ, मसँग पैसा छैन’ भन्छ भने फोकटमा पनि गरिदिन्छु। अहिलेको मेरो चाहना के हो भने, यदि कसैले मलाई जस्टिफाई गर्ने भूमिका दिन्छ भने पैसाको डिमान्ड गर्दिनँ।
अब पनि अभिनयलाई मात्रै निरन्तरता दिनुहुन्छ वा लेखन र निर्देशनमा पनि लाग्ने सोच छ?
म निर्माताचाहिं हुन्छु, तर निर्देशक अझै पाँचसात वर्ष हुन्नँ। स्क्रिप्ट राइटर पनि हुन्नँ। म यो काम गर्न सक्दिनँ। सत्र वर्ष यस क्षेत्रबाट टाढा बसेकोले पनि मलाई अहिलेका धेरै कुराहरू थाहा छैन। इन्डस्ट्री कहाँ रैछ, दर्शकको डिमान्ड के हो भन्ने थाहा छैन। वर्षमा सय हाराहारी फिल्म बन्छन् रे, तर दुईचार वटा मात्रै चल्छन् रे। किन चल्दैनन्? वा, चलेका फिल्म के कारणले चले? त्यो सबै विचार गरेर मात्रै लाग्छु। निर्माण चाहिं गर्न लागेको थिएँ, तर भूकम्पले गर्दा रोकिएको छ। निर्देशक विकास आचार्यलाई लिएर मेरै एउटा कथामा स्क्रिप्ट लेखाइरहेको छु।
सत्रवर्षे अवधिमा नेपाली फिल्म क्षेत्रमा केकस्तो परिवर्तन महसुस गर्नुभयो?
पहिले हामीले काम गर्दा टिम वर्क हुन्थ्यो। सबै आर्टिस्ट, टेक्निसियन जम्मा भएर सिनबारेमा सल्लाह हुन्थ्यो। त्यो टिमवर्क अहिले पाइनँ। टेक्निसियन, आर्टिस्टले आआफ्नै पाराले काम गरेको देख्दै छु। अनि आर्टिस्टमा पनि मैले मिहिनेतको कमी देखें। आर्टिस्ट राम्रा र क्षमतावान् हुँदाहुँदै पनि उहाँहरूबाट मिहिनेत कम भइरहेको छ। जुन क्यारेक्टर उहाँहरूलाई दिइन्छ, त्यसमा जुन हिसाबले हामी पहिले डुब्थ्यौं, अहिले त्यस्तो पाएको छैन मैले। अझै सम्झना छ, ‘भीडदेखि भीडसम्म’ मा बौलाहाको रोल गर्दा मैले चार दिनसम्म सुटिङ रोकेर त्यो क्यारेक्टरको लागि साँच्चैको बौलाहाको क्रियाकलाप हेरेको थिएँ।
source ekantipur.
Advertisement