तरकारीभन्दा रक्सी र चुरोट सस्तो
Advertisement
४ असार, काठमाडौं मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विलासी वस्तु रक्सी र चुरोटकोभन्दा सर्वसाधारणले दैनिक उपभोग गर्ने तरकारीको मुल्यवृद्धि बढी हुँदा उपभोक्ताको ढाड सेकिएको छ । तरकारी र खाद्य पदार्थमा भएको मूल्यवृद्धिले जनतालाई सबैभन्दा बढी मर्कामा पार्छ । तर, अन्य समूहको भन्दा यी समूहको मूल्यवृद्धि उच्च छ । बैशाख महिनामा तरकारी उप-समूहको मूल्यवृद्धि दर सबैभन्दा बढी (३१.६ प्रतिशत) छ ।
तर, बैशाख महिनामै सुर्तीजन्य पद्धार्थको मूल्यवृद्धि २५.३ प्रतिशत र मदिराजन्य पदार्थको मूल्यवृद्धि २२.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यसै अवधिमा तरकारीको ७.१, सूर्तीजन्यको ११.४ र मदिराको ४.४ प्रतिशतले मुल्यवृद्धि भएको थियो । बैशाख महिनामा खाद्य तथा पेय पदार्थ मूल्य वृद्धिदर १२.९ प्रतिशत छ भने गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ७.० प्रतिशत रहेको छ ।
गत वर्षको यसै अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ८.७ प्रतिशत र ८.६ प्रतिशतले भएको थियो । मुल्यवृद्धिको अनुपातमा आम्दानी नबढ्दा जनताको जीबनस्तर कठिन बन्दै गएको छ । सरकारले यो वर्ष ८ प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने लक्ष्य राखे पनि बैशाख महिनाको मुल्यवृद्धि ९.७ प्रतिशत छ । यो गत वर्षको यसै अवधिको भन्दा १ प्रतिशतले बढी हो ।
माछामासुको मूल्यवृद्धि अत्यधीक त्यसैगरी बैशाख महिनामा फलफूल १५.८ प्रतिशत र माछा-मासुको १३.७ प्रतिशतले मुल्य बढेको छ । गत वर्षको यसै अवधिमा फलफूलको ८.७ प्रतिशत र माछा मासुको मूल्य १६.३ प्रतिशतले बढेको थियो । त्यस्तै, बैशाख महिनामा गैर-खाद्य र सेवा समूहका वस्तुहरुमध्ये लत्ता-कपडा तथा जुत्ता-चप्पल उप-समूहको मूल्य सूचकाङ्क सबै भन्दा बढी अर्थात ११.० प्रतिशतले बढेको भएको छ । गत वर्षको यसै अवधिमा यो उप-समूहको मूल्य १० प्रतिशतले बढेको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा फर्निसिङ्ग तथा घरायसी उपकरण उप-समूह र स्वास्थ्य उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः ९.२ प्रतिशत र ८.३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यसै अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ११.७ प्रतिशत र ५.४ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा मनोरञ्जन तथा संस्कृति उप-समूह र शिक्षा उप-समूहको मूल्य सूचकाङ्क क्रमशः ७.९ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ६.३ प्रतिशत र १२.५ प्रतिशतले वृद्धि भएको थियो ।
तराईमा मूल्यवृद्धि बढी क्षेत्रगत आधारमा विश्लेषण गर्दा बैशाख महिनामा तराईको मूल्यवृद्धि बढी छ । बैशाखमा तराईमा १०.४ प्रतिशतले मूल्य बढेको छ । समिक्षा अवधिमा काठमाडौं उपत्यकामा ९.९ प्रतिशतले र पहाडमा ८.६ प्रतिशतले मूल्य बढेको छ । गत वर्षको यसै अवधिमा यस्ता मूल्य सूचकाङ्कहरुको वृद्धिदर तराईमा ८.७ प्रतिशत, काठमाडौं उपत्यकामा ९.४ प्रतिशत र पहाडमा ७.८ प्रतिशत रहेको थियो ।
स्रोत # अनलाइन खबर
Advertisement