श्रीलङ्कामा धार्मिक दङ्गा भड्कियो, तीनको ज्यान गएपछि कर्फ्यु
Advertisement
अलतगामा, असार २ – श्रीलङ्काको अलुतगामा नामक पर्यटकीय सहरमा आइतबार रातिदेखि जारी रहेको धार्मिक हिंसा फैलिएको समाचारमा जनाइएको छ । उक्त हिंसाका क्रममा कम्तीमा पनि तीनजनाको ज्यान गएपछि सरकारले सो सहर र बेरुवालामा पनि सोमबार कर्फ्यु आदेश जारी गरेको छ ।
ती सहरमा मुस्लिम र बौद्ध धर्माबलम्बीका बीचमा हिंसा भएको बताइएको छ । आइतबार राति यी दुई धार्मिक सम्प्रदायका बीचमा हिंसा मच्चिएको समाचारमा जनाइएको छ । ती सहरमा बौद्ध धार्मिक सम्प्रदायका नागरिकले मुस्लिममाथि हमला गरेका थिए। राति भएका विभिन्न हिंसात्मक क्रियाकलापहरुमा परी तीनजना मुस्लिमको ज्यान गएको थियो ।
सो घटनापछि श्रीलङ्का सरकारले ती दुवै सहरमा सोमबार बिहानदेखि कर्फ्यु आदेश जारी गरिएको छ । हिंसामा परी करिब ८० जना मुस्लिम समुदायका नागरिक गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालहरुमा उपचार गरिएको छ । श्रीलङ्काका न्याय मन्त्री राउफ हाकिमले आक्रमणकारीहरुले अन्धाधुन्ध आक्रमण गरी तीनजना मुस्लिमको हत्या गरेको जानकारी दिए ।
उनले मुस्लिम समुदायका घरतथा मस्जिदमा पनि हमला गरिएको बताउँदै दण्डहीनताको अवस्था ल्याउन खोज्ने प्रयास भइरहेकोले ती क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी पनि दिए । आइतबार राति स्थानीयस्तरको सामान्य विवादमा नै उक्त हिंसाको अवस्था आएको बताइएको छ । ती दुई सहरमा रातभर हिंसा भएको थियो । सो हिंसाका कारण परिस्थिति नियन्त्रणबाहिर जाने देखिएपछि कर्फ्यु आदेश जारी गरिएको जानकारी पनि उनले दिए ।
स्रोत # रातो पाटी
Advertisement