काठमाडौं पाँच सेकेन्डमै डेढ मिटर यसरी सर्यो
Advertisement
काठमाडौँ, ८ जेष्ठ
वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा पाँच सेकेन्डमै काठमाडौं सहर डेढ मिटर पर सरेको पत्ता लागेको छ।
५० सेकेन्डभन्दा लामो भूकम्पको धक्का महसुस गरे पनि काठमाडौं भने पाँच सेकेन्डमै दक्षिणपश्चिम सरेको अमेरिकी वैज्ञानिकले पत्ता लगाएका हुन्। अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक वैज्ञानिक रोजर बिहामले संसारमा यति छोटो समयमा यति ठूलो सहर सरेको उदाहरण नभएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ।
अग्लो भएको ठाउँतिर पानीको सतह माथि आएको र अरूतिर पानीको सतह तल झरेको पनि उनले स्पष्ट पारे। नापी विभागले यसअघि काठमाडौंको जमिन सरेको बताए पनि समय वा दिशाबारे केही भनेको थिएन। विभागले विभिन्न ठाउँमा राखेका जीपीएस बिन्दुका आधारमा सबैभन्दा धेरै नगरकोट माथि उचालिएको जनाएको थियो।
वैज्ञानिक बिहामले संसारभरि भएका भूकम्पका घटना र प्रकृति अध्ययन गर्दा नेपालको भूकम्प धेरै कारणले अनौठो भएको बताउँदै संसारभरिका वैज्ञानिकले अनुसन्धान गरिरहेको जानकारी दिए। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको रप्चर (जमिनमुनि पर्ने चिरा) आधा बाटोमा रोकिएको आशंका पनि उनले गरे। दुई प्लेट जुध्दा उत्पन्न हुने शक्तिले त्यसलाई अझै धकेल्न खोजिरहे पनि केहीले रोकेका कारण अघि बढ्न नसकेको उनले बताए।

Advertisement



