.जापानी चिकित्सकबाट भूकम्पका घाइतेको आँगनमै उपचार (फोटो फिचर
Advertisement

फोटो :सिन्धुपाल्चोकको बाह्रबिसेमा खडा गरिएको 'फिल्‍ड हस्पिटल'मा पालमुनि बनाइएको अप्रेसन थिएटर। तस्बिर: दीपा दाहाल
बाह्रबिसे (सिन्धुपाल्चोक) : सरकारी चिकित्सकसमेत भूकम्प प्रभावित क्षेत्रमा जान नसकिरहेका बेला जापानदेखि आएको विशेषज्ञ चिकित्सकको टोलीले सिन्धुपाल्चोकमा अत्याधुनिक उपकरणसहित धमधाम शल्यक्रिया गर्दै घाइतेको जीवन बचाउन थालेको छ।


जापानी चिकित्सकबाट आँगनमै हात, खुट्टालगायतको शल्यक्रिया, एक्सरे, ल्याब टेस्ट हुन थालेपछि भूकम्पबाट घरबारविहीनमा थोरै भए पनि खुसी छाएको छ। सरकारी एम्बुलेन्सको अभावमा निजीले चर्को शुल्क लिने, भूकम्पपछि पटकपटक पहिरो जाँदा सडक अवरुद्ध हुनेलगायत समस्याले अहिले पनि सयौं घाइते घरमै थला परिरहेका छन्।

भूकम्प गएको भोलिपल्टै सिन्धुपाल्चोक पुगेका जापानी चिकित्सकले अहिलेसम्म गम्भीर अवस्थाका दुई बालबालिकासहित पाँचजनाको शल्यक्रिया गरेका छन्। थप केही घाइतेको शल्यक्रिया गर्ने तयारी भइरहेको छ। बाह्रबिसे गाविसमा भूकम्पले चर्किएको उद्योग वाणिज्य संघको कार्यालयनजिकै खडा गरिएको 'फिल्ड हस्पिटलमा'मा बिहीबार अन्नपूर्णकर्मी पुग्दा घाइते र बिरामीको भीड थेगिनसक्नु देखियो।

बिरामीको भीड व्यवस्थापन गर्नेदेखि रक्तचाप नाप्ने, औषधि वितरण गर्ने, प्राथमिक उपचार, एक्सरे, जटिल प्रकृतिका शल्यक्रिया गर्नेजस्ता काममा सक्रिय भइरहेका थिए जापानी चिकित्सक, नर्स र स्वास्थ्यकर्मी।

'हामीले उपकरण पनि सँगै ल्याउन पाएको भए धेरै घाइतेको शल्यक्रिया भइसक्थ्यो, अझै पनि गम्भीर घाइते गाउँबाट झर्ने क्रम जारी छ, हामी उनीहरूलाई बचाउनेछौं', त्यो अस्पतालको नेतृत्व गरिरहेका चिकित्सक मासायुकी ताकाले अन्नपूर्णसँग भने, 'गाउँमा अलपत्र घाइतेलाई ल्याउनसमेत हामीले स्थानीय स्वास्थ्यकर्मीलाई अनुरोध गरिरहेका छौं।'
उनले दिनमा एक/दुईजना बिरामी आउने बेलासम्म पनि सेवा दिइरहने बताए। अर्का चिकित्सक यासुहिरो ओटोमोका अनुसार भूकम्प गएको साता उक्त अस्पतालमा दैनिक तीनदेखि चार सय घाइते उपचार गर्न आएका थिए। अहिले पनि दैनिक एक सयभन्दा बढी घाइते आउने गरेका छन्।
'न उनीहरूलाई थकाइ लाग्छ न त दिक्क नै, जति बेला पनि हाँसेर बिरामीलाई हौसला दिँदै उपचार गरिरहन्छन्', थलाडाँडा-४ का भूकम्पपीडित दुर्गा तामाङले खुसी हुँदै भने, 'जापानबाट आएका डाक्टरले त हामीलाई राम्रो उपचार दिए तर सरकारले भने ओत लाग्ने त्रिपालसमेत पठाएन।'
अस्पतालपरिसरमा तामाङले अन्नपूर्णसँग दु:ख बाँड्दै गर्दा 'नर्सिङ इन्चार्ज'को जिम्मेवारी सम्हालिरहेकी मियोको इसी भूकम्पले घर भत्किँदा च्यापिएर घाइते भएकी ७४ वर्षीया सुकुमाया तामाङ अस्पताल आउँदा उनको हात समात्न दौडिएर गेटमै पुगिन्।

अस्पतालमा शल्यक्रियासमेत नि:शुल्क भएको थाहा पाएपछि आसपासका मांखा, राम्चे, कर्थली, दुवाचौर, गर्खाकोटलगायत विकट गाविसबाट समेत घाइतेहरू झरिरहेका थिए।
'त्यति बेला बाहिर चोट देखिने र रुने कराउनेलाई मात्र हेलिकोप्टरले लग्यो, हामी हेरेको हेर्‍यै भयौं', गर्खाकोटकी ३० वर्षीया कान्छी नेपालीले घर भत्किँदा थिचिएको हात देखाउँदै भनिन्, 'त्यस बेला मेरो हातभन्दा छिमेकी बचाउनु ठूलो लाग्यो, विस्तारै सुन्निन र दुख्न थाल्यो, काठमाडौं जान नसकेपछि घरमै थला परिरहेकी थिएँ, राम्रो उपचार हुन्छ भन्ने सुन्नासाथ यहाँ आएँ।'
चार घन्टा हिँडेर उनी अस्पताल आएकी थिइन्। जापानी चिकित्सकको सेवा प्रभावकारी भएपछि स्थानीयवासीले समेत अस्पतालमा घाइते ल्याउने र उपचारपछि उनीहरूको बासस्थानमा पुर्‍याउने काममा सघाएका छन्।

आठजना विशेषज्ञ चिकित्सक, १६ जना नर्स, एकजना 'मिडवाइफ्री'ले चलाएको अस्पतालमा स्वयंसेवक र भाषा अनुवादकको कामसमेत गरिरहेकी स्थानीय १२ वर्षीया अर्पण श्रेष्ठले भनिन्, 'केही दिनपछि जापानी टोली पनि फर्केला, त्यसपछि त कोही हुँदैन यी बिरामीको सहारा।' अर्पण अस्पताल खडा गरेदेखि नै दिनरात खटिएकी छन्।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक अविरल बारकोटीले सडकका अधिकांश ठाउँमा पहिरो गएको र एम्बुलेन्ससमेत अभाव हुँदा अस्पतालसम्म घाइते ल्याउन समस्या परिरहेको बताए


Advertisement



प्रतिक्रिया दिनुहोस्...