भारतको मध्यभागमा माओवादीले एक गाउँलेको हत्या गरे, दुई सय पचास मुक्त
Advertisement
२८ बैशाख, पटना (भारत) ।
भारतको मध्यभागमा माओवादी विद्रोहीले एक गाउँलेको हत्या गरेका छन् भने एक पुल निर्माण रोक्न उनीहरूले एक दिनसम्म नियन्त्रणमा लिएका २५० व्यक्तिलाई मुक्त गरेको जानकारी प्रहरीले आइतबार दिएको छ ।
विद्रोहीले एक गाउँलेलाई मार्नुअगाडि निज प्रहरीको सुराकी भएको आरोप लगाएको छत्तीसगढका प्रहरी महानिरीक्षक आर.के.भी.विजले बताउनुभयो । मर्ने व्यक्तिको विषयमा विस्तृत विवरण प्राप्त भएको छैन ।
बाँकी गाउँलेलाई शनिबार राती रिहा गरिएको र उनीहरू सुक्मानको आफ्नो घर फर्केको विजले बताउनुभयो ।
विद्रोहीले शुक्रबार राती उनीहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए र उक्त पुल निर्माण कार्य रोक्न छत्तीसगढ सरकारलाई बाध्य बनाउन वार्ताको रणनीतिको रूपमा वन नजिकै रहन बाध्य पारेका थिए । उक्त पुल बनेमा सुरक्षा बललाई राम्रोसँग परिचालन गर्न सकिने उनीहरूमा त्रास रहेको बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले छत्तीसगढको भ्रमण गर्ने एक दिन अगाडि उक्त घटना भएपछि त्यहाँको राज्य सरकार असजिलोमा परेको थियो ।
प्रहरीले उक्त घटना प्रधानमन्त्री मोदीको भ्रमणसँग सम्बन्धित नभएको बताएका छन् ।
सरकारले छत्तीसगढको घना वनलाई सडकसँग जोड्न प्रयास गरिरहेको छ । त्यहाँको खराब सडकका कारण सुरक्षा बल विद्रोहीको पछि लाग्नसकेको छैन ।
विद्रोहीले आफू चिनियाँ क्रान्तिकारी नेता माओ जेदोङबाट प्रभावित भएको बताउने गरेका छन् भने उनीहरू गत तीन दशकभन्दा बढी अवधिदेखि सङ्घर्षरत छन् ।
माओवादी विद्रोहीलाई भारतमा सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा लिइएको छ र यस मुलुकको २८ राज्यमध्ये २० मा उनीहरू सक्रिय रहेका छन् । उनीहरूसँग हजारौँ लडाकू भएको जानकारी भारतको गृहमन्त्रालयले दिएको छ । रासस/एपी
Advertisement