राहत बाँड्न जाँदा भेटिएका जँड्याहा र ज्योतिहरु
Advertisement
लोग्शरी कुँवर
काठमाडौंबाट ६० किलोमिटरको दुरीमा रहेको नुवाकोटको सुन्दरादेवी गाविस वडा नम्बर १, २ र ५ का भूकम्प प्रभावितहरुका लागि पाल र मेट्रेसको आवश्यक रहेछ । स्थानीय राजेन्द्र थापाले पटक-पटक पाल र मेट्रेस उपलब्ध गराइदिन आग्रह गरेपछि हाम्रो टीम वैशाख २६ गते १५० पाल, १५० मेट्रेस र ५० बोरा चामलसहित सुन्दरादेवीका लागि हिँड्यो ।
पाल, चामल र मेट्रेसका दुईवटा रीम हालेपछि मिनी ट्रकमा ९ जनाको हाम्रो टीमलाई उभिन पनि ठाउँ भएन । त्यसपछि अघिल्लो दिन काभ्रेको कामीगाउँमा सामान बोकेर गएको औषधी बोक्ने गाडी सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौला सरले चलाउने र त्यसमा हाम्रो टीम जाने कुरा भो । दुबै गाडी चक्रपथसम्म सहजै पुगे । तर, हामी चढेको गाडीमा केही खराबी देखिएपछि त्यो गाडी थन्क्याउनु पर्ने भो । त्यसपछि फेरि उही सामानसहितको मिनी ट्रकमा कोच्चिएर सुन्दरादेवी पुग्नुपर्ने बाध्यता भो । हामी कोचाकोच गरेर ट्रकमा बस्यौं ।
काठमाडौंको टोखा पुगेपछि १२ गतेको भूकम्पले ध्वस्त बनाएका पुराना र कच्ची घरहरुको बिजोग देख्न सुरु भयो । भौतिक विकासको योजनाका लागि ‘मास्टर माइन्ड’ भनिने केशव स्थापितको गाउँ टोखाको मूख्य सडकमा बिजुलीका तारहरु प्रत्येक गाडीका छतमा टाँस्सिएरै पिङ खेल्ने रहेछन् । त्यो दृश्यले केशव स्थापितको गाउँकै यस्तो हालत Û भन्ने विषयमा हामीबीच चर्को टीकाटिप्पणी भयो ।
टोखा छोडेर उकालो चढेपछि शिवपुरीको चिसो बतासले स्पर्श गर्न थाल्यो । भूकम्पले घर ध्वस्त बनाएपछि खुल्ला आकाशमुनि पाल टाँगेर कष्टकर जीवन चलाईरहेका टोखाको बाटो छेउका मानिसहरुको उजाड जिन्दगी देखेर खिन्न बनेको मनलाई शिवपुरीको चिसो बतासले शान्त बनाउन थाल्यो ।
अमेरिकीहरु रमाए
हामीसँगै रहेका अमेरिकी नागरिक सन हेरन र जेम्स विटस उभिएर रमाउन थाले । जेम्स र सनसँगै भूकम्प प्रभावितहरुका लागि विदेशी नागरिकहरुसँग मिलेर राहत संकलन र वितरण कार्यमा तल्लिन धनगढीकी शुष्मा भट्ट पनि शिवपुरीको प्रकृतिसँग निकै रमाइन् । उनीहरु “ब्यूटीफूल नेपाल” भन्दै हल्ला गर्दै रमाए ।सभासद तुलाधरले भूकम्पको जोखिममा रहेका देशहरु मध्ये नेपाल १६ औं स्थानमा र काठमाडौं उपत्यका पहिलो नम्बरमा रहेको सुनाउनुभएको थियो
शिवपुरी कटेपछि नुवाकोट लाग्यो । नुवाकोटको गुरुङ गाउँको भीरमा भूकम्पपछि निकै ठूलो पहिरो गएको रहेछ । त्यो पहाड यति कमजोर देखियो कि माथिबाट चट्टान खसेर टाउकोमै बजारिन्छ कि भन्ने भयले सबै ग्रसित थियौं । भूकम्पले क्षत विक्षत बनाएको त्यो पहाडले बैशाख २४ गते जोखिम न्यूनीकरणका लागि राष्ट्रिय अभियान (एनसीडीआरआर) ले काठमाडौमा आयोजना गरेको कार्यक्रममा जापानी विज्ञहरुको प्रस्तुतीको झल्झली याद आयो ।
जापानको ऐहिमे, टोकियो, निगाता र क्यूस्हु विश्व विद्यालयका प्राध्यापकहरुले भनेका छन् कि भूकम्प पश्चात काठमाडौ, गोरखा र सिन्धुपाल्चोकको तातोपानी लगायतका क्षेत्रमा गरेको अध्ययन अनुसार आउँदो वषर्ातमा नेपालको पहाडी क्षेत्र उच्च जोखिममा छ ।
पहिरोको खतरा
भूकम्पले पहाडको चट्टानलाई टुक्रा टुक्रा बनाएको छ । लामो वर्षात हुने बित्तिकै पहाड टुक्रिएर पहिरो जाने खतरा हुन्छ । त्यसले अर्को जोखिम निम्त्याउने खतरा छ ।प्राकृतिक प्रकोप विषयमा विद्यावारिधि गर्न लागेका पूर्वमन्त्री गंगालाल तुलाधरको पहलमा सोच नेपाल र केही सभासदहरुको अगुवाइमा बैशाख ५ गते काठमाडौंको अर्याल होटेलमा सम्पन्न भेलाले “जोखिम न्यूनीकरणका लागि राष्ट्रिय अभियान” (एनसीडीआरआर) गठन गरेको थियो । उक्त भेलामा सभासद तुलाधरले भूकम्पको जोखिममा रहेका देशहरु मध्ये नेपाल १६ औं स्थानमा र काठमाडौं उपत्यका पहिलो नम्बरमा रहेको सुनाउनुभएको थियो । उहाँको अध्ययन र अनुभव सुनिसकेपछि नेपालमा प्राकृतिक जोखिम न्यूनिकरण लागी काम गर्ने लुज नेटवर्कको अत्यन्त जरुरी रहेको महसुस गर्दै हामीले उक्त नेटवर्क बनाएका थियौं । दुर्भाग्य नै भन्नुपर्छ, त्यसको ७ दिन पछाडि नेपालले भूकम्पको यति ठूलो क्षति व्यहोर्नुपर्यो । बैशाख १२ गते बिहान ११ः५६ मा भूकम्पको धक्का सुरु हुँदा मलाई गंगालाल सरको प्रस्तुती झल्झली याद आइरह्यो ।
गुरुङ गाउँको पहिरोले त झन् साँच्चिकै नेपालको भविश्य के ? सोच्न बाध्य बनायो । सरकारले वर्षातपूर्व नै भूकम्प प्रभाबितहरुको पुनर्स्थापना गरिसक्नु पर्छ । नत्र वर्षातले अर्को ठूलो क्षती गर्ने खतरा छ । त्यसका लागि पहाडको मुनि र पहाडमै अव्यवस्थित तरिकाले बसोबास गरिरहेका भूकम्प प्रभावितहरुलाई तत्काल सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न जरुरी छ ।
जापानी विज्ञ र गंगालाल तुलाधरको अध्ययनलाई मनन् गर्दै राज्यले तत्काल प्राकृतिक प्रकोपको अर्को खतराप्रति बेलैमा सजगता अपनाउनु पर्छ भन्ने कुरालाई यात्रामा देखिएको पहिरोले घच्घच्यायो ।
एउटा मान्छे मार्दा मान्छेलाई २० वर्षसम्म कैद हुन्छ भन्ने करिब आठ हजारको संख्यामा मान्छेको एकैपटक हत्या गर्ने निर्दयी भगवानलाई कति युगसम्म कैदको व्यवस्था हुने ?
गुरुङ गाउँको भीर कटेको करिब एक घण्टापछि हामी नुवाकोटकै थान्सिङ बजारमा पुग्यौं । भूकम्पले घरबारविहीन बनाएपछि बैकल्पिक बसोबासको व्यवस्थाका लागि नुवाकोटेहरु तयारीमा जुटिसकेका रहेछन् । बाटो छेउछाउ फाटफुट अवस्थामा जोगिएका सद्दे घरहरुलाई भूकम्पले ढालेका घरका ढुङ्गा, माटोले जिस्काइरहेको भान हुन्थ्यो ।
ट्रकको पछाडिको भागबाट उभिएर हेर्दा भत्किएर छरपस्ट खसेका घरका ढुङ्गा, ईट्टा, फर्निचरहरुले बस्ती नै उजाड देखिन्थ्यो । कहीँ कतै साना केटाकेटीहरु चार/पाँचजनाको समूहमा खेलिरहेका देखिन्थे, त्यो पनि अभिभावककै आँखा वरिपरिमात्र । तराईको समथर फाँटजस्तै देखिने थान्सिङमा हुर्कंदै गरेका धानका हरिया बोटहरुको सौन्दर्य पनि भूकम्पले गल्र्याम्मै ढालेका घरहरुले कुरुप बनाएको भान हुन्थ्यो ।
भगवानलाई मुद्दा हाल्ने कुरा
बिहान काठमाडौंबाट भोकै हिँड्नु परेका कारण हामी थानसिङ बजारमा नास्ता खान ओर्लियौं । हामी नास्ता खान बसेको होटेलमा करिब ७५ वर्षीया हजुरआमा पनि हाम्रै टेबल नजिक हुनुहुन्थ्यो ।हाम्रो टीममा रहनुभएका साहित्यकार दामोदर पुडासैनी सरले आमा, भूकम्प आउँदा तपाई के गर्दै हुनुहन्थ्यो भनेर कुराकानीको सुरुवात गर्नु भो । हजुरआमाले यहीँ थिए बाबु, सप्ताह पुराण आयोजना गरेका थियौं, बाहुनले ११ बजेर ५८ मिनेटको साइत जुराउनुभाको थियो, हामी ऊ त्यहाँ थियौं भन्दै औंलाले भत्केको घरतिर देखाउनु भो । आँगनमा अस्थाइ जग्गे अलपत्र अवस्थामा थियो । जग्गेभित्र टपरीहरु यत्रतत्र छरिएका थिए ।
उत्तम सरले भन्नुभयो, आमा, यो भगवान पनि कस्तो रहेछ है ! तपाईले तेत्रो सप्ताह आयोजना लगाइरहनुभएको थियो । सुरु पनि गर्न नदिई भूकम्प गयो । तपाई त भगवानलाई खुसी पार्नकै लागि यति धेरै खर्च गर्न लाग्नु भाको थियो, कति खर्च लाग्छ आमा सप्ताह लगाउन ?
आमाले दाँया हातका पाँचै औंला र बाया हातको बुढी औला ठड्याउँदै ६ लाख लाग्ने संकेत गर्नुभयो । उत्तम सरले थप्ननु भो, -“तपाईको यति धेरै नोक्सान गर्ने भगवानलाई मुद्दा हाल्नुपर्यो आमा ।
उत्तम सरको कुरा भूँईमा खस्न नपाई उहाँले प्रश्न तेर्साउनु भो-“त्यसो भए वादी कसलाई बनाउने त ?” हजुरआमाको प्रश्नले एकछिन हाँसोको फोहोरा छुट्यो ।
उत्तम सरले हाँस्दै भन्नु भो – “म वादी हुन्छु । भगवानलाई प्रतिवादी बनाउँछु ।”
उत्तम सर र हजुरआमाबीच टाइमपासका रुपमा चलेको संवादलाई हाम्रो यात्राको महत्वपूर्ण विषयका रुपमा हामीले लियौं । भगवानले भूकम्प ल्यायो । भगवानकै कारण धेरै मान्छेहरु बाँच्न सफल भए । भगवानकै मर्जीले अरु दिन (शनिबार बाहेक) र रातिको समयमा भूकम्प गएन जस्ता बेतुकका कुराहरु यतिबेला धेरैको मुखबाट सुन्न सकिन्छ ।
उत्तम सरको कुरालाई नै नोटिस गर्ने हो भने पनि के यतिधेरै मान्छेको हत्या गर्ने अधिकार भगवानलाई छ त ? अनि एउटा मान्छे मार्दा मान्छेलाई २० वर्षसम्म कैद हुन्छ भन्ने करिब आठ हजारको संख्यामा मान्छेको एकैपटक हत्या गर्ने निर्दयी भगवानलाई कति युगसम्म कैदको व्यवस्था हुने ? के यो प्रश्नको उत्तर छ भगवानका ठेकेदारहरुलाई ?
भगवानलाई प्रतिवादी बनाउनुपर्ने विषयमा आ-आफ्ना तर्क वितर्क राख्दै हामी खरानीटार पुग्यौं । मुसलधारे पानी पर्न सुरु भएपछि हामीले वितरण गर्न बोकेको एउटा पाल निकालेर ट्रकको पछाडी हामी बसेको पुरै खुल्ला भाग छोप्यौं । त्यसको केहीबेरमै खरानीटारको सानो बजार नजिकै पानीले निकै चिप्लो बनाएको कच्ची बाटोमा ट्रकको बाँया पांग्रा चिप्लिएर खाल्डोमा अडिन पुग्यो । त्यसको २ मिटर अगाडिको बाटोमा निकै खाल्डाखुल्डी देखिएपछि हामीसँगै रहेका कपिल पोख्रेल लगायत स्थानीय मानिसहरु हातमा बेल्चा लिएर सडक सम्याउन थाले । ट्रक चालकले करिब २० मिनेटजति निकै मेहेनत गरेपछि ट्रक अगाडि बढ्यो ।
हामी सुन्दरादेवीको बाह्रबिसेमा पुग्यौं । राहत पाउने आशामा त्यहाँ ३ सयभन्दा बढीको संख्यामा मानिसहरु जम्मा भइसकेका रहेछन् । सडकको दाँयातिर भूकम्पले ध्वस्त बनाएका घरहरु लडिरहेका थिए । त्यसले त्यो ठाउँको प्राकृतिक सुन्दरतालाई कुरुप बनाइरहेको थियो ।
हामीले बोकेका १५० त्रिपाल मध्ये १०० त्रिपाल, १०० मेटे्रेस र ५० बोरा चामल सौहार्दपूर्ण वातावरणमा वितरण गर्यौं । भूकम्प गएको १५ औं दिनसम्म पनि कतैबाट ओत लाग्ने त्रिपाल नपाउँदा खुला आकाशमुनि बसिरहेका बाह्रबिसेका भूकम्प प्रभावितहरु त्रिपाल पाएपछि निकै खुसी भए । तपाईहरुलाई धेरै धेरै धन्यवाद भने । उनीहरुको मुहारमा छाएको खुसीले हामीलाई पनि कष्टपूर्ण तरिकाले गरेको यात्रा बिर्सायो ।
जँड्याहाको रडाको
बाह्रबिसेपछि हामी तामे गयौं । तामेको सुन्दरा निमाविमा भूकम्प प्रभाबितहरु राहत पर्खेर बसिरहेका खबर पाएका थियौं । तर, ट्रक उकालो चढ्न नसकेपछि राजेन्द्र थापाले प्रभावितहरुलाई त्यही आउन खबर पठाउनुभो । करिब डेढ घण्टाको पर्खाईपछि भूकम्प प्रभाबित मानिसहरु त्यहाँ आए ।त्रिपाल र मेट्रेस वितरण गर्ने क्रममा स्थानीय अधवैंशे प्रकाश पाठक भन्ने व्यक्तिले रडाको मच्चाउन सुरु गरे । उनी त्रिपाल र मेटे्रेस आफूले पनि पाउनुपर्छ भन्दै वितरण प्रकृयामा अवरोध खडा गर्न थाले । स्थानीय मानिसहरुसँग बुझ्दा उनी त्रिपाल र मेट्रेस किन्न सक्ने हैसियतका थिए । रक्सीले मातेका उनलाई हामीले यो राहत तपाईभन्दा गरिब र विपन्नको लागि हो भनेर सम्झाउने कोसिस गर्यौं । तर उनले एनजीओ/आईएनजीओहरुलाई म राम्रोसँग चिन्छु, मलाई कन्भिन्स गर्न खोज्ने भन्दै हो-हल्ला मच्चाउन थाले ।
उनले यसो गरिरहँदा उनकी श्रीमती तपाई नबोल्नुस् । हिँड्नुस् घर जाऔं भन्दै हात पाउ जोडिरहेकी थिइन् । प्रकाशलाई सम्झाउन नेपाली कांग्रेसका क्षेत्रीय सदस्य विष्णु पाठकले निकै प्रयत्न गरे । तर, प्रकाश विष्णुमाथि नै हातपात गर्न तम्सिए । प्रकाशलाई उनकी श्रीमती र स्थानीय युवाहरुले त्यहाँबाट बाहिर्याएपछि राहत वितरण सुचारु भयो । त्रिपाल किन्न नसक्ने गरिव, बिपन्न र दलित परिवारलाई मात्र त्रिपाल र मेटे्रेस वितरण गर्न एमालेका क्षेत्रीय अध्यक्ष गोकर्ण पाठक र नेपाली कांग्रेसका क्षेत्रीय सदस्य विष्णु पाठकले निकै कसरत गरे ।
टुहुरीको अर्को कथा
राहतका लागि तामेकी ११ वर्षीया बालिका उपस्थित भइन् । उनका बारेमा जान्न मलाई कौतुहल जाग्यो । उनले त्रिपाल र मेट्रेस बुझिसकेपछि मैले उनका बारेमा सोधे । गहुँगोरो वर्ण, ठूला आँखामा कालो गाजल लगाएकी उनी हेर्दा सुन्दर थिइन् ।चार वर्ष अगाडि उनका बुबाको मृत्यु भएपछि भाइ र उनलाई छोडेर आमा अर्कैसँग बिहे गरेर गएकी रहिछिन् । ७ वर्षका उनका भाइ प्रकाश सुनारको पनि १२ गतेको भूकम्पमा घरले थिचेर मृत्यु भएको रहेछ ।
अब ६९ वर्षका हजुरबुबा र हजुरआमाको एक्लो सहारा ज्योती मात्रै रहिछिन् । उनले आफ्ना बारेमा बताइरहँदा मेरो साथमा रहेकी शुष्मा बहिनीले गहभरि आँसु बनाइन् ।
गरिव परिवारकी ज्योतीका हजुरबाले बृद्धावस्थामा साहुको अधिया गरेर जीविकोपार्जन गरिरहेको थाहा पाएपछि ज्योतीको लालनपालन र शिक्षा दीक्षाका लागी हामीले सहयोग जुटाइदिन सकेको भए हुन्थ्यो भन्ने बारेमा कुरा गर्यौं ।
फर्कँदा बिजोग
हामी तामेबाट हिँड्दा झमक्क रात परिसकेको थियो । पानी परेको चिप्लो बाटोमा खाल्डाखुल्डी धेरै भएका कारण राति काठमाडौं पुग्न समस्या हुन्छ कि भनेर केही साथीहरुले तामेमै बस्नुपर्छ भन्ने कुरा राखे । तर, सोच नेपालका अध्यक्ष शान्ति गुरुङ लगायत अरुले राति भए पनि काठमाडौं नै जानुपर्छ भनेपछि हामी काठमाडौंका लागि ८ बजे हिड्यौं ।करिब एक घण्टा यात्रा गरिसकेपछि पानी पर्न सुरु भो । फेरि ट्रक पछाडिको भाग त्रिपालले छोप्यौं । त्रिपालले छोपेपछि राति असाध्यै अँध्यारो भएका कारण एक अर्काको अनुहार पनि देखिँदैनथ्यो । तर, साहित्यकार दामोदर सरका ठट्यौली गफहरुले कच्चीबाटोमा ट्रकको एक छेउबाट अर्को छेउ हुत्तिरहँदा पनि पेट मिचिमिची हाँस्न बाध्य हुनुपर्थ्यो ।
करिब १२ बजेतिर शिवपुरीको गुर्जे भञ्ज्याङमा पुगेपछि ट्रक एक्कासी रोकियो । करिब आधा घण्टाजति लागिसक्यो, ट्रक चलेन । त्योबेलामा अरुलाई देखाउने गरी कोही नडराएपनि जंगली जनावरको डर भने सबैलाई लागिरहेको महसुस गर्न सकिन्थ्यो । त्यसपछि ट्रक चल्यो । कोठामा पुग्दा राति डेढ बजिसकेको रहेछ ।
नेताप्रति वितृष्णा
सुन्दरादेवीको राहत वितरण यात्राले नेताहरुप्रति वितृष्णा जगायो । सुन्दरादेवी गाविस अर्थमन्त्री डा. रामशरण महतको चुनावी पकड क्षेत्र रहेछ । तर, भूकम्पले जनधनको ठूलो क्षति गरेको त्यस ठाउँमा भूकम्प पश्चात जनप्रतिनिधि भएको हैसियतले एक दिन पनि पाइला नटेकेका महतप्रति जनताको आक्रोश कम थिएन ।भूकम्प पश्चात तपाईहरुका प्रतिनिधि गाउँमा आउनु भो त भन्दा पैसाले चुनाव जितेका सभासदसँग के को अभाव छ र गाउँमा आउनलाई भन्ने उत्तर पाइयो ।
जनताको भावना बुझ्ने जनप्रतिनिधी भए पो एकछिन भए पनि हाम्रो दुख महसुस गर्थे, भोट किन्न सक्छु भन्ने दम्भ छदैँछ । उहाँलाई जनताको के मतलब ? भन्दै आफ्ना प्रतिनिधिसँग उनीहरुले बैराग प्रदर्शन गरे ।
राहत लिएर सिन्धुपाल्चोकको ज्यामिरे गाविस वडा नम्बर ८ गुफा जाँदा होस् या काभ्रेको कामीगाउँ वा नुवाकोटको सुन्दरादेवीको तामे र बाह्रबिसे नै किन नहोस्, सबै ठाउँमा आफुले जिताएर पठाएका सभासदहरुप्रतिको जनताको आक्रोश सुन्दा लाग्छ, साँच्चै यो भूकम्पले त जनतालाई नेताहरु चिन्ने मौका दिएछ ।
यतिबेला गाउँ गाउँमा मतादाताहरुले आफ्ना प्रतिनिधिबाट राहत र पुनस्र्थापनाको आश गर्नु जायज हो । उनीहरुले त्यति ठूलो आश पनि गरेका छैनन्, एक घण्टा भए पनि आफ्नो क्षेत्रका सभासद गाउँमा आइदिउन्, तपाईहरुलाई कस्तो छ ? भनेर सोधिदिउन् । आफूहरु ओत लागिरहेको खुला आकाशमुनि पाँच मिनेट भए पनि पलेटी कसेर बसिदिउन् भन्ने मात्र आश छ जनतामा ।
नेताहरुले यसो गर्दा भूकम्पका कारण आफन्त, नातागोता, छिमेकी र दुःख गरी कमाएको पैसालेे जोडेको घर गुमाएका मानिसहरुलाई मरुभूमिमा पानी परेको महसुस गराउँदोरहेछ ।
यसपालिको महाभूकम्पले त नेताहरुलाई चिन्ने राम्रो अवसर जुराइदिएको छ । तपाईहरुको चुनाव जित्ने पुरानो रणनीति र विचारलाई तपाईहरुका मतदाताले राम्रैसाग बुझेर मनन् गरिसकेका छन् । दुई दिन, दुई रातमात्र भएपनि गाउामा जानुस्
तर, बिडम्वना नै भन्नुपर्छ हाम्रा नेताहरुमा मान्छेको भवनालाई भन्दा पैसालाईमात्र महत्व दिने बानीको बिकास भएको रहेछ । नत्र भने उनीहरु यतिबेला खाली हात भए पनि गाउँमा पुग्नै पर्दथ्यो । नसके म राहतका लागि पहल गर्छु भन्नु पर्दथ्यो । दुई चार दिन भएपनि गाउँमै बस्नुपर्दथ्यो । त्यसले अघिपछि नेताहरु गाउँमा जाँदा फूलमाला बोकेर स्वागत गरेका जनताको घाउमा मल्हम पट्टीको काम गर्ने थियो । नेताहरुप्रति यति धेरै आक्रोश र अविश्वास सिर्जना हुने थिएन ।
अन्त्यमा,
नेताहरुलाई सुझाव छ : तपाईहरु नेपालीकै सन्तान हो । एउटालाई दुख पर्दा अर्कालाई दुख्ने हाम्रो संस्कारको तपाईहरु खिल्ली नउडाउनुस् । चुनाव जितिसकेपछि गाउँमै नर्फकने तर अर्को चुनाव आउँदा फेरि मीठा मीठा आश्वासन र धम्की दिएर मत संकलन गर्ने तपाईको रणनीतिले अब काम गर्नेवाला छैन । झन् यसपालिको महाभूकम्पले त नेताहरुलाई चिन्ने राम्रो अवसर जुराइदिएको छ । तपाईहरुको चुनाव जित्ने पुरानो रणनीति र विचारलाई तपाईहरुका मतदाताले राम्रैसँग बुझेर मनन् गरिसकेका छन् । दुई दिन, दुई रातमात्र भएपनि गाउँमा जानुस् ।प्राकृतिक विपतीमा सर्वश्व गुमाएका मतदाताहरुको भावनासँग सहकार्य गर्नुस् । उनीहरुले जे खाइरहेका छन्, त्यही खानुस् । जसरी सुतिरहेका छन् त्यसैगरी सुत्नुस् । तपाईहरुलाई मतदाताको मन जित्नबाट कसैले रोक्नेवाला छैन । भनिन्छ नि, सुखमा भन्दा दुखमा साथ दिनेसँगको सम्बन्ध अमर हुन्छ भनेर !
Advertisement