'दुई हेलिकप्टर सहित थप अमेरिकी सैनिक आउँदै
Advertisement
२८ बैशाख, काठमाडौं ।
सरकारले विदेशी सेना बाहिरिरहेको भनिरहँदा अमेरिकाबाट हेलिकप्टरसहित थप सेना आउने भएका छन्। विकट क्षेत्रमा राहत वितरण सहज पार्न भन्दै अमेरिकाले ५० वायुसेना र दुई यूएच–१ हुए हेलिकप्टर पठाउन लागेको हो।
अमेरिकी राजदूत पिटर डब्लू बोडीले खोजी–उद्धारमा आएका सेना फर्किरहेको उल्लेख गर्दै थप केही सेना ल्याउन सरकारसँग छलफल भइरहेको बताए। ‘आशा छ, नेपाली सेनाको संयोजनमा काम गर्न तालिमप्राप्त विज्ञसहितको टोली आउनेछ,’ उनले भने।
अमेरिकी वायुसेनाअन्तर्गत आकस्मिक प्रतिकार्य समूह (सीआरजी) को टोली दुई हेलिकप्टरसहित आउन लागेको हो। राजदूत बोडीले सीआरजीको विज्ञता आकस्मिक मानवीय राहत व्यवस्थापनमा रहेको बताए।
खोजी, उद्धार र राहतका निम्ति बहुराष्ट्रिय सेना संयोजन केन्द्रका प्रमुख उपरथी विनोज बस्न्यातले चाहिँ त्यस्तो टोली आउन नसक्ने बताए। ‘थप सेना र हेलिकप्टर आउने कुनै सम्भावना छैन। हामी स्वीकृति दिने छैनौं। भएकाहरू नै काफी छन्, अब उनीहरू पनि बिस्तारै फर्कनेछन्,’ उनले भने।
उद्धारमा आएकामध्ये १ हजार ४ सय ७३ विदेशी फिर्ता भइसकेका छन्। दर्जनभन्दा बढी मुलुकबाट खोज तथा उद्धार टोली आएका थिए। भारत तथा चीनका सेना पनि क्रमश: फर्कंदै छन्।
सीआरजी टोलीले हवाई मैदान सुरक्षा, र्याम्प तथा कार्गो सञ्चालन, विमान मर्मत सम्भार, कमान्ड तथा नियन्त्रणलगायत काम गर्ने दूतावासले जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालय यस विषयमा सकारात्मक देखिएन। ‘हामीले आउन पर्दर्ैन भन्ने हो तर राजनीतिक प्रेसरको कारण स्वीकृत दिनुपर्ने हुन्छ,’ एक अधिकारीले भने, ‘सेनासँगको सम्बन्धका कारण उनीहरू सहजै आउलान्।’
सेनाका एक उच्च अधिकारीले थप दुई यूएच–१ हुए हेलिकप्टर र झन्डै ५० जना वायुसेनाका सैनिक जरुरी भन्दै अमेरिकी पक्षले अनावश्यक जोड गरिरहेको बताए। आजको कान्तिपुरमा खबर छ ।
सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले यस विषयमा अनविज्ञता प्रकट गरे।
Advertisement