-'भूकम्‍पले आँखै अगाडि मुटुको टुक्रा चुँड्यो'..
Advertisement

चो गाउँ (काठमाडौं) : रेडियोमा गुञ्जने 'अर्को बच्चा कहिले, पहिलो स्कुल जान्छ जहिले' भन्ने सन्देशमूलक विज्ञापनले चो गाउँकी प्रिजा तामाङ धेरै प्रेतरित थिइन्।

३० वर्षीया प्रिजा र उनका पति सञ्जीव तामाङलाई अहिले रेडियोमा गुञ्जने सन्देशमूलक गीत र विज्ञापनले झनै प्रताडित बनाएको छ। वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण प्रिजाको चार वर्षीय छोरा नयनलाई चुँडेर लग्यो।

प्रिजा वैशाख २६ गते दोस्रो सन्तान जन्माउने प्रतीक्षामा थिइन्। पति सञ्जीव लघुजलविद्युत् परियोजनामा जागिरे थिए। प्रिजाले पनि घरायसी काम राम्रोसँंग धान्दै आएकी थिइन्।

नयनलाई नेपालटारस्थित लिटिल स्टार स्कुलमा भर्खरमात्र भर्ना गरिएको थियो। शनिबारको दिन स्कुल बिदा भएकाले नयन दुई घरको खोंचमा खेलिरहेका थिए। एक्कासि भूकम्पले जमिन हल्लाएपछि प्रिजा हत्तपत्त छोरालाई बचाउन दौडिइन्।

तर उनी छोरानजिक पुग्नासाथ दुवै घर गल्र्यामगुर्लुम ढले। दुई घरको बीचमा परेको छोरोलाई बचाउन जाँदा उनी आफैं पनि त्यसको चपेटामा परिन्। प्रिजा र सञ्जीवको खुसी परिवारमा क्षणभरमै अकल्पनीय बज्रपात भयो।

'आफैं गह्रौ ज्यानको मान्छे। छोरालाई बचाउन सकिनँ। छोरालाई तान्दातान्दै पहिला एउटा ढुंगाले लाग्यो। त्यसपछि गल्र्याम्म ढलेको घरले छोरालाई पु:यो। म आफैंलाई पनि छोप्यो', आँखैअगाडि छोरा गुमाएकी प्रिजाले गहभरि आँसु पार्दै पुत्र वियोगको पीडा पोखिन्।

प्रिजाको अनुहारमा नीलडाम अझै बाँकी छ। भर्खर तोते बोली बोल्दै स्कुल जान्छु भन्ने छोरा गुमाउनुको पीडाले उनी अझै राम्ररी बोल्न सकेकी छैनन्। बेलाबेलामा टोलाउँछिन् अनि एक्कासि भक्कानिन्छिन्।

काखको छोरा त गुम्यो, पेटको के होला भन्ने चिन्ता पनि उनमा उत्तिकै थियो। चेपुवामा परेर घाइते भएकी प्रिजालाई तत्काल उपचारका लागि ग्रान्डी अस्पताल पुर्‍याइयो। चिकित्सकले पेटको बच्चालाई शल्यक्रिया गरेर निकाल्न सुझाव दिए। प्रिजाले अहिले शल्यक्रियामार्फत छोरी जन्माएकी छन्।

स्वभाविक प्रक्रियाबाट बच्चा जन्माउँदा बच्चालाई धेरै समय आईसीयूमा राख्नुपर्ने भएकाले चिकित्सककै सल्लाहमा शल्यक्रिया गरिएको सञ्जीवले बताए। अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था ठीक छ।

'भूकम्पको पीडामा परेका बिरामीलाई नि:शुल्क उपचार हुन्छ भन्ने सुनेका थियौं तर ग्रान्डीले त हामीसँग उपचारको सम्पूर्ण खर्च लियो', प्रिजाका पति सञ्जीवले अन्नपूर्ण पोस्ट्सँग भने।

छोराछोरीसहितको सुखी परिवार बनाउने प्रिजा र सञ्जीवको सपनामा अहिले तुषारापात भएको छ। चञ्चले बालक नयनको मृत्युले अहिले चो गाउँको तामाङ बस्ती पनि शोकमा डुबेको छ। 'तीन हजुरबाउको एउटा मात्र नाति थियो। पापी भूकम्पले त्यसलाई पनि चुँडेर लग्यो।

आँखैअगाडि मुटुको टुक्रा गुमाउनुपर्‍यो। आँसु बगाउनुबाहेक अब केही बाँकी रहेन। जीवनभरका लागि चोट दिएर सानै उमेरमा गयो। दैवको लीला टारेर टर्दो रहेनछ', नयनका हजुरबुबा नारायाण तामाङ भक्कानिए।

विनाशकारी भूकम्पले काठमाडौं तारकेश्वर नगरपालिकाको चो गाउँमा मात्र ५५ वटा घर ध्वस्त भएका छन्। भूकम्पमा परी चार वर्षीय नयनसहित तीनजनाको मृत्यु भएको थियो। Source: Annapurna Post

Advertisement



प्रतिक्रिया दिनुहोस्...