राजेश पायलको फेसुबकमा मात्र ठूला कुरा, पूर्वका कलाकारहरु कता लुके ?
Advertisement

गोपाल दाहाल
वैशाख १२ गते भूकम्प जाँदा गायक राजेशपायल राई धरानमा सुतिरहेका थिए । भूकम्पले देशमा रुवाबासी चलिरहेको त्यही दिउँसो मोरङको याङशीलामा कन्सर्टमा गीत गाउन पुगे । त्यही साँझ उनले फेसबुकमा भूकम्पको समाचार शेयर गर्दै लेखे ‘यो विपदको घडीमा सबै नेपाली एक हौं ।’

भूकम्पबाट उनको समेत लगानी रहेको काठमाडौंको ‘दर्शन नमस्ते’ रेष्टुरेन्ट ध्वस्त भएको र त्यसमा एक व्यक्तिको मृत्यु भएको खबर आयो । त्यसपछि भोलिपल्ट ‘जे लेखिएको छ, त्यो भोग्न तयार छु, नियतीले कहाँ लान्छ जान तयार छु’ भन्दै फेसबुकमा स्टाटस लेखेका राईले २३ गते धनकुटाको राजारानी मेलामा आयोजित कन्सर्टमा गाए ।
त्यो कन्सर्ट भने भूकम्प पीडितका लागि समर्पण गरिएको आयोजकले जनाएको छ । काठमाडौंमा रहेका पूर्वका कलाकर्मीहरु राहतमा जुटिरहँदा राजेशले धरानमा बसेर फेसबुक मार्फत कलाकर्मीलाई एकजुट हुन अपिल गरे तर आफैं भने सक्रिय देखिएनन् ।
काठमाडौंमा अरु कलाकर्मी उद्धार, राहत र सरसफाईमा जुटेका बेला वैशाख १५ गते राजेशले फेसबुकमा लेखे ‘काठमाडौंमा हैजा र महामारीको सम्भावनालाई मध्यनजर राख्दै सतर्कता अपनाउन सबैलाई अनुरोध छ, यो घडीमा सबैलाई लड्ने शक्ति देऊ सुम्निमा पारुहाङ’ ।
राजेशको यस्तो स्टाटस पढेपछि ‘राई बादल’ फेसबुक आईडी भएकाले कमेन्ट लेखे ‘काका, खै त तपाईहरुको संगठनपनि त्यही नेपाली कलाकारको जस्तै हो । यस्तो आपतविपद्को बेलापनि, थुक्क थुक्क अलिकती मानविय भावना नभएका कलाकारहरु’ ।
त्यही  कमेन्टले पोलेर होला राजेशले वैशाख १७ मा अर्को स्टाटस लेखे ‘होइन मैले आफ्नो बल बुताले भ्याउने सहयोग गरेको छु र गर्ने छु भन्दा त कमेन्टमा गाली गर्छन्, कसैको केही नखाँदा त मलाई । १० करोड सहयोग कोष उठाउने रविन्द्र मिश्रलाई झन् के भन्दा हुन् ? प्रश्नको जवाफ तु पाउँ ।’
देशविदेशमा कन्सर्ट गरेर भ्याईसकेका उनले चाहेको भए भूकम्प पीडितका लागि अभियान चलाउन सक्थे । धरानबाटै करियर अघि बढाएका र आफुलाई पूर्वेली भन्नमा गर्व गर्ने गायक राईले पूर्वमै पनि कलाकर्मीको नेतृत्व गरेर राहत जुटाउन सक्थे ।
आफुलाई ‘राई ईज किङ’ भन्न रुचाउने राजेशको ‘राजेशपायल राई फाउन्डेसन’ पनि छ । तर अहिलेसम्म फेसबुकमा लेख्ने बाहेक उनले प्रत्यक्ष भूकम्प पीडितका लागि केही गरेको देखिएको छैन । उनी भूकम्पको जोखिम कम भएपछि मात्र काठमाडौं फर्किए तर न कतै राहतमा जुटे, न कुनै सहयोगमा जुटे ।
बरु वैशाख २६ गते उनले घरमा आफु एक्लै भएको भन्दै स्टाटस लेखे ‘धेरै साथीहरु या फेसबुक साथीहरु विवाह बन्धनमा बाँधिनु भएछ यो भूकम्पको बावजुद पनि म एक्लै छु घरमा, तर केही त सोच्नै पर्ने भो यो वर्ष बाहेक म चैं खित्खित’ ।
भूकम्पका बेला धरान भएका राजेशले त केही गरेनन्, काठमाडौंमा भएका पूर्वेली गायक, निर्माता, संगीतकार, नायकपनि रातारात पूर्व आईपुगे । भूकम्पपछि पूर्व आईपुगेका नेपाली चलचित्रका निर्माता छविराज ओझा भन्दै थिए ‘भूकम्पले गर्दापनि हो तर मेरो आफ्नै कामपनि थियो ।’
काठमाडौंमा बसेर संगीत गरिरहेका संगीतकार ओमप्रकाश राई भूकम्पको डरले धरान आईपुगे । काठमाडौंमा बस्न समस्या भएपछि यता आएको उनले बताए । गायक भीषण मुकारुङपनि भूकम्पको बारम्बारको धक्कापछि सपरिवार धरान आईपुगे । भूकम्पपछि काठमाडौंको जनजीवन अस्तव्यस्त भएपछि बाध्य भएर काठमाडौं छाड्नु परेको उनले बताए ।
लामो समयदेखि काठमाडौं बस्दै आएका सपन श्रेष्ठ, कुशल थलङ लगायतपनि भूकम्पछि पूर्वमा भेटिए । चलचित्र ‘ठूलो मान्छे’का निर्देशक तथा नायक प्रसान्त तामाङपनि धरानमा भेटिए । यस्तो समस्याका बेला काठमाडौं छाडेर हिड्नु पर्दा नराम्रो लागेको बताउँदै उनले भने-‘काठमाडौंमा समस्या धेरै भए, उता राहतमा जुट्न नसकेपनि यता केही गर्ने योजनामा छु ।’
काठमाडौंमा बस्ने कलाकर्मी त आफै ंपनि पीडित भए, कम क्षती भएको पूर्वका कलाकर्मीले अझ प्रभावित क्षेत्रमा पुगेर पीडितलाई साथ दिनु पर्ने हो तर उनीहरुपनि सक्रिय देखिएनन् । पूर्वमा धेरै म्युजिक भिडियो निर्देशन गर्ने लोकेन साँवा देश भूकम्पको पीडामा डुबिरहेका बेला सुटिङमा व्यस्त बने । बजारमा अन्य कलाकर्मीको पनि नामनिशान देखिएन ।
पीडामा परेकाहरुलाई कसैको ढाडसले मात्रपनि जीउने आशा जगाउँछ । यस्तो बेला ‘देशका गहना’, ‘समाजका आईडल’ भनिने कलाकर्मीको सानो मात्र सहयोगले पनि पीडितले पीडा भूल्छ । काठमाडौंमा रहेका कलाकर्मीले ढिलै भएपनि पीडितहरुलाई राहत र उद्धारका काम गरे ।
तर कलाको खानी भनिने पूर्वका कलाकर्मी भने यस्तो बेला कता लुके कता, कोहि राहतमा जुटेका देखिएनन् । बरु पूर्वमा सर्वसाधारण युवा राहत संकलनमा सक्रिय बनेर लागे । त्यसो त काठमाडौंलाई कर्मथलो बनाएका पूर्वकै रेखा थापा, दीपाश्री निरौला, सिताराम कट्टेल लगायतले उदाहरणीय रुपमा भूकम्प पीडितलाई सहयोग गरे ।
काठमाडौंमा राहत संकलनमा जुटेका पूर्वकै चलचित्र निर्देशक दिपक श्रेष्ठ भन्छन् ‘यस्तो बेला कलाकर्मीको साथ सबैभन्दा महत्वपूर्ण हुन्छ, अझैपनि पीडितहरुका लागि गर्नु पर्ने धेरै काम छन्, कलाकर्मीहरु सक्रिय बन्न जरुरी छ ।’



Advertisement



प्रतिक्रिया दिनुहोस्...