युवराज दीपेन्द्रले भुइँचालोमा थेसिस गरेका थिए
Advertisement

भूकम्पको आघातबाट तङ्रिँदै गरेको इलाममा जेठ महिनाको एक दिन तत्कालीन युवराज दीपेन्द्रको अत्यन्त गोप्यरुपले सवारी भयो । ब्यारेकमा आज मसिनु चामल पकाको छ, खसी काट्या छ, राजा आ’का छन् भन्दै एक दिन बिहानैदेखि फ्याङ्ली क्वार्टर (फेमिली क्वार्टरलाई मानिसहरु फ्याङ्ली क्वार्टर भन्थे ) वरपर केटाकेटीहरु हल्ला गर्दै थिए । सभापति केबी भट्टराई र मेरो बसाइ त्यतिबेर गेष्टहाउसमै थियो । केटाकेटीको हल्लामा अचम्म मान्दै हामी दुबैजना सीडीओ सा’बको निवासमा पुगेका थियौं । उनी र प्रशासकीय अधिकृत कृष्ण पौडेल पनि हामीजस्तै अलमल्ल हालतमा झोक्राउँदै गरेको अवस्थामा फेला परे । आफ्नो मातहत निकायबाट जानकारी भए पनि औपचारिक रुपमा भने त्यतिबेरसम्म उनलाई पनि युवराज आउने थाहा रहेनछ ।

जिल्लाको सीडिओलाई समेत थाहा नदिई देशका युवराज सवारी हुने कस्तो कार्यक्रम हो यो ? हामी सबैले चियाका चुस्कीसँगै संयुक्त रुपमा आश्चर्य प्रकट गर्‍यौं । तत्कालै टुप्लुक्क आइपुगेका ब्यारेकका मेजरसंँग भलाकुसारी गरेपछि बल्ल कुरा खुल्यो । बेलायतको इटन कलेजमा भूगोल विषयको उच्च शिक्षा लिँदै गरेका युवराज भूकम्पसम्बन्धी थेसिस तयार गर्न इलाम जिल्ला छानेर आएका रहेछन् ।
यति सामान्य कुरालाई मेजर र युवराजकै सचिवालयले पनि किन त्यति साह्रो गोप्य राखेको भन्ने कुरा हामीले बुझेनौं । र, बुझ्ने प्रयास पनि गरेनौं । भूकम्पसम्बन्धी जानकारी र अध्यनका लागि दीपेन्द्र दिउँसो जिल्ला पञ्चायत आउने कार्यक्रम रहेछ । तर, सीडीओ र  एलडीओबाहेक अरु पञ्च नेता र कर्मचारी कसैलाई थाहा नदिनु भन्ने फर्मान रहेछ । त्यो सुनेपछि सभापति मज्जैले झोक्किए र मेजरमाथि व्यङ्ग्य प्रहार गर्न थाले । सम्झाउन खोज्दा उल्टै आइलागेर आफ्नै गाउँ साखेजुँगतिर हिँडे ।
मैले हत्तपत्त राष्ट्रिय पोशाकमा ठाटिँदै अफिस ओर्लिएर पाले पहरा भेला गरेँ । समीक्षालय र कार्यालय परिसरको तत्कालै सरसफाइको व्यवस्था मिलाएँ । डालीभरि फूल आइपुग्यो । पुष्पगुच्छा तयार भए । गेटमा अबीर फूलले रङ्गएिका घडा सजिए । आफ्नो कार्यकक्षमा युवराजलाई बसाउने कौच टेबुलको इन्तीजाम भयो । दिउँसो उनलाई जाहेर गर्नुपर्ने सम्भावित कुराहरुबारे टिपोट तयार गरेँ ।
समीक्षालयको फ्लिप चार्ट ल्याएर कार्यकक्षको भित्तो सजाउन लगाएँ । नभन्दै ११ बजेतिर युवराज दीपेन्द्र सिभिल ड्रेसका एक जीप हतियारबन्द सुरक्षा दस्तालाई पछि लगाएर आफ्ना निजी गुरु बालकुमार केसीसँगै जिल्ला पञ्चायत प्राङ्गणमा भित्रिए ।
मैले गेटमा ट्यानछ्यान बसेर पुष्पगुच्छा टक्र्याउँदै युवराजको भावपूर्ण स्वागत गरें र अगुवाइ गर्दै आफ्नो कार्यकक्षतर्फ सवारी चलाएँ । उता युवराजसँग भेट नगराएको भनेर कलिका कार्की, लीला श्रेष्ठ, उर्मिला लामालगायत महिला नेतृहरु उल्टै मसँग रिसाएर बमबम भए ।
अत्यन्त शान्त र सौम्य प्रकृतिका देखिने रहेछन् युवराज दीपेन्द्र । नगीच बस्दा निकै आत्मीयता र भरोसा उत्पन्न भएझैं लाग्यो । चिया कफीको प्रस्ताब राख्दा पछि लिउँला भने । उनको मनसायअनुसार नै शुरुमा फ्लिप चार्टमाथि लौरो दौडाएर भूकम्पको क्षति, उद्धार तथा राहत र पुनर्निर्माणबारे जानकारी गराउँदै गएँ । वीचवीचमा थप प्रश्न र जिज्ञासा राखेर उनले भूकम्पको क्षति र राहत तथा पुनर्निर्माणबारे अङ्ग्रेजी अक्षरमा लामो टिपोट तयार गरेका थिए ।
फ्लिप चार्टमा न खुलेका र नअटाएका कतिपय कुराहरु सम्बन्धित फायल पल्टाएर उनको आशयअनुसार जानकारी गराउँदै गएँ । भूकम्प प्रभावित प्रत्येक गाउँ र प्रत्येक पीडित परिवारको फायल केलाएर स्थितिको जायजा लिँदैजाँदा ४ घण्टा बितेछन् । बाहिर कतै केही न खाने रहेछन् क्यार, अध्ययनकै बीचमा निवासमा बनाएर ल्याएको कफी पिए । चित्रा, भकारी, घुम, आली, समाहा, जस्ता स्थानीय शब्दहरु नबुझ्ने रहेछन् । प्रकारान्तरले अर्थ्याएपछि ढीलोगरी बुझेको भाव देखाउँथे । तर, कुनै विषयको जानकारी लिँदा असाधारण तन्मयता देखाएर एकोहोरिएका हुन्थे ।
दीपेन्द्र पढलेख गर्नमा अब्बल छन् भन्ने सुनेको कुरा उनको ताल देखेर सत्य रहेछ भन्ने विश्वास जाग्यो । अनि त्यस दिनको उनीसँगको लामो बसाइ र व्यबहारले विनाकारण पघ्रिएको अत्मीयताको मधुरो अनुभूति लामै समयसम्म ताजा रह्यो ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...