काठमाडौं, असार १० - श्रीमती, सासु ससुरा र अर्की एक महिलालाई मारेर सप्तरीका एक युवा कतार पुगेका छन् । सप्तरीको पटेवा घर भएका ३५ बर्षिय मोहम्मद सकिल हुसेन मियाँ कतारमा बसिरहेका हुन् । उनले श्रीमती १८ बर्षिय सैरुन खातुन, ससुरा ५८ बर्षका इद्रिस खालिफा, सासु ५५ बर्षकी जैतुन खातुन र अर्की एक महिला दुलारी देवी साहलाई मारेको खुलेको छ । इन्टरपोलले उनलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेको छ । इन्टरपोलले गत सोमबार रेडकर्नर नोटिस जारी गरेको हो । सकिलले सुनसरीमा श्रीमती, सासु ससुरा, सप्तरीमा दुलारी देवीबाहेक थप तीन जनाको हत्या गरेको खुलेको छ । यिनले सप्तरीको त्रिकोलमा निर्मलादेवी साहको हत्या गरेको खुलेको छ । साहको लास गाडिएको थिएन । यस्तै सदरुल मिया र उनकी बुहारी सागिरा खातुनको सप्तरीकै बिसनपुरबाट दुई किलोमिटर दक्षिणमा रहेको कुखुरा फार्ममा मारेर गाडेका थिए । सप्तरी प्रहरीले गाडेको शव फेला पारेको छ ।
उनलाई झिकाउन नेपाल प्रहरीले कानुनी प्रक्रिया सुरु गरेको छ । सुरुमा दुलारी देवी साहको मात्र हत्या गरेको खुलेपछि प्रहरी मुख्यालयले डिफ्युजन नोटिस जारी गर्न पत्राचार गरेको थियो । डिफ्युजन नोटिस २०७१ फागुन २० मा जारी गरिएको थियो । गत बैशाखमा श्रीमती र सासु ससुरा समेत मारेर भागेको पुष्टि भएपछि इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो । रेडकर्नर नोटिस अपराधमा संलग्न भएको अदालतले प्रमाणीत गरेपछि मात्र जारी गरिन्छ । ‘सिरियल किलर हो’ इन्टरपोल शाखाकी नायब उपरिक्षक बसुन्धरा खडकाले भनिन् ‘कतारबाट अन्यत्र भाग्न नपाऊन् भनेर कतारी प्रहरीलाई समेत सचेत गराएका छौं ।’ यति धेरै अपराधमा संलग्न भएको खुलेपछि इन्टरपोलले समेत गंभिर रुपमा लिएको खडकाले बताईन् ।
प्रहरीका अनुसार दुई बर्ष अघि सकिलले श्रीमती सहित सासु सुसराको हत्या गरेका हुन् । २०७० पुसमा सासुको उपचार गराउने भन्दै ससुरालीबाट सुनसरीको इनरुवा नगरपालिका स्थित आफ्नो डेरामा बोलाएका थिए । सकिलकी सासु जैतुन खातुनको टाउको दुख्ने गरेका कारण त्यसको उपचार गरिदिने भन्दै आफ्नो डेरामा बोलाएदेखी सम्पर्कमा आएका थिएनन् । जिल्ला प्रहरी कार्यालय सुनसरीमा मृतक इद्रिसका छोरा २३ बर्षिय मोहम्मद सकिलले जाहेरी दिएका थिए ।
उनले दिएको जाहेरीअनुसार फरार रहेका सकिल हुसेन र उनकी बहिनी सैरुन खातुन बिच २०७० मंसिरमा बिबाह भएको थियो । प्रेम बिबाह गरेका उनीहरु बिबाहपछि सुनसरीको इनरुवा नगरपालिकामा भाडामा बस्दै आएका थिए । आमा बिरामी भएपछि उपचार गराउने बहानामा उनले सप्तरीबाट सुनसरी डेरामा बोलाएका थिए । त्यसपछि सम्पर्क बिहीन भएका थिए । ‘बहिनी र आमाबुवा कसैको फोन लाग्दैन थियो’ सकिलले भनेका छन् ‘नाता गोता आफन्त सबै तिर खोजी गर्दा पनि फेला परेका थिएनन् ।’
घटनाको झण्डै एक बर्षपछि जाहेरी दिने सकिलकी दिदीले फोन गरेर कतारमा रहेका भिनाजुदे फोन गरेर आमा, बुवा र बहिनीको हत्या भइसकेको सुचना दिएको बताएकी थिईन् । उनले बताएअनुसार बहिनी र आमा बुवालाई सकिलले आफू डेरा बस्ने घरको कम्पाउण्ड भित्र हत्या गरेर गाडेको बताएपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले डेरा बसेको स्थलमा गएर जमिन खोतल्दा तीन जनाको शब फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी उपरिक्षक सञ्जय शर्माले उनीहरुको घाँटीमा कपडाले पासो लगाएको अवश्थामा शब फेला परेको बताए । उनका अनुसार ति शबहरु दुई दिन लगाएर उत्खनन् गरिएको थियो ।
प्रहरीले एक परिवारका तीन जनाको हत्या सम्पत्तिका लागि भएको जनाएको छ । प्रहरीका अनुसार सासुको उपचारका लागि भनेर सकिलले ससुराको तीन कठ्ठा जमिन बन्धकी राख्ने भनेर आफ्नो नाममा पारेका थिए । प्रहरीले सकिलसंग मिलेमतो गर्ने अरु ब्यक्तिको पनि खोजी र अनुसन्धान भईरहेको जनाएको छ । तर मुख्य अभियुक्त पक्राउ नपर्दासम्म अरुलाई पक्राउ गर्न कठिन भएको शर्माले बताए ।
सकिलसहितका ब्यक्तिले २०६९ मंसिरमा दुलारीदेवी साहलाई हत्या गरेर खाल्डोमा पुरेका थिए । दुलारीदेवीका श्रीमान कर्तब्य ज्यानको अभियोगमा कारागारमा रहेका श्रीमान धिरेन्द्र साहलाई छुटाउन सकिललाई भेटेकी थिईन् । उनले ६ लाख रुपैंया दिए श्रीमानलाई कारागारबाट छुटाइदिने बताएपछि कारागारमा रहेका धिरेन्द्रलाई समेत सकिलले भेटेका थिए । उनलाई ६ लाख रुपैंया लिएर बोलाई जण्डौलको चुरे जङगलमा पुर्याएर हत्या गरेका थिए । उनीहरुले कारागारबाट छुटाउने बहानामा मात्र बनाएका थिए । दुलारीले आफ्नो ससुराको जमिन धितो राखेर लोग्ने छुटाउने पैसा जम्मा पारेको जनाएको छ । सकिललाई दुलारीको हत्या गर्न मदत गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु अलाउद्धिन मियाँ, नसरुल मियाँ र हजरुन खातनुलाई जिल्ला अदालत सप्तरीले पुर्पक्षका लागि थुनामा पठाएको छ । सकिल बाहेक अरु तीन जना अझै फरार छन् ।
Advertisement