'मोस्ट वान्टेड' हुँदा पनि चन्द नेपाल आइरहन्थे आखिर की त........?
Advertisement
काठमाडौं- स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम साहको हत्यामा संलग्न रहेका फरार पूर्वडिएसपी जगदिश चन्द ६ वर्षदेखि नियमित नेपाल आएर आफ्नै घरमा बस्ने गरेको खुलेको छ। साह हत्यामा संलग्न चन्द दोस्रो देश भागेकोमा पक्रन सहयोग गर्न इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएका आरोपी हुन्।
'पक्राउ पर्ने निश्चित भएपछि चन्द भारतको दिल्ली र लखनऊमा बसे,' उनको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'बिरामी पत्नी हेर्न र परिवार भेट्न नेपाल आइरहन्थे।'
जमिम हत्या र उनका चालक मधुरा मालाकारको हत्या प्रयासमा संलग्न रहेको भन्दै चन्दविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। घटनामा संलग्न अन्य नेपाली सहयोगी पक्राउ परे पनि उनी भने फरार सूचीमै थिए।
इन्टरपोलको नोटिसमा रहेका उनी नेपाल आएको सूचनाको आधारमा महाशाखाको टोलीले निरन्तर अनुगमन गरी उनलाई घरबाटै पक्राउ गरेको थियो।
पक्राउपछि चन्दसँग सोधपुछ गर्दा उनले आफू नियमित नेपाल आएर आफ्नै घरमा बस्ने गरेको खुलाउँदा उनको खोजीमा लामो कसरत गरेका प्रहरी चकित परे।
'नेपाल आउँदा सुरुमै पक्राउ नपरेपछि उसको आँट बढेको देखियो,' अनुसन्धानरत स्रोतले भन्यो, 'उ आएर घरमै लामो समय बस्दासमेत प्रहरीले खोजी नगरेपछि नियमित घर आउनेजाने गरिरहेको रहेछ।'
चन्दविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भइसकेकाले प्रहरीले औपचारिक बयान भने लिएन। घटनाको नयाँ तथ्य पहिल्याउन अनौपचारिक बयान लिँदा उनले बयान लिने अधिकारीसमक्ष आफू नियमित नेपाल आउने गरेको स्वीकारे।
नेपाल प्रहरीको डिएसपीबाट राजीनामा दिएर नर्भिक अस्पतालको सुरक्षा अधिकृतका रुपमा कार्यरत उनको प्रहरी संगठनभित्रका प्रभावशाली अधिकारीसँग गाढा सम्बन्धका कारण जमिम हत्यामा संलग्नता खुल्दा समेत पक्राउ परेका थिएनन्।
घटनाको तेस्रो दिन नेपाली सहयोगी प्रहरीका सई प्रकाश क्षेत्री लगायत पक्राउलगत्तै हत्यामा चन्दको संलग्नता खुलेको थियो। प्राविधिक अनुसन्धानमा जमिमको हत्या गर्न नेपाल आएका भारतीय अपराधी त्रिलोक सिंहसँग उनको नियमित सम्पर्क रहेको खुले पनि अनुसन्धानरत महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसरका तत्कालीन प्रमुखले उनलाई पक्राउ गरेनन्।
उनको संलग्नताबारे तथ्यसहित समाचार सार्वजनिक भएसँगै पक्राउका लागि चौतर्फी दबाब बढेपछि फागुन १८ गते नर्भिकबाट १ महिना बिदा लिएर उनी भारत लागेका थिए।
बयानमा चन्दले जमिम हत्या गर्न आएका त्रिलोकसँग आफ्नो सम्बन्ध स्वीकारे पनि हत्यामा संलग्न नरहेको दाबी गरेका थिए। पूर्वपरिचित भएकाले काठमाडौं आउँदा भेट्ने गरे पनि सिंहको योजनाबारे थाहा नभएको दाबी पनि उनले गरे। जमिम हत्या अनुसन्धानका लागि गठित न्यायिक समितिले हत्या योजनामा सघाएको, हत्यामा संलग्न भारतीय अपराधीलाई भगाएको र हत्यामा प्रयुक्त हतियार व्यवस्थापनमा उनी संलग्न रहेको खुलाएको थियो।
प्रहरीको प्रस्तावित रायअनुसार अदालतमा उनीविरुद्ध मुलुकी ऐन ज्यान सम्बन्धी महलअर्न्तगत १५ वर्ष कैद सजाय मागसहितको अभियोग दायर छ।
अभियोग पत्र दर्ता भइसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई आइतबारै अदालतमा पेस गरेको थियो। अदालतले बयान नसकिएको भन्दै हिरासतमा राख्न अनुमति दिएको परिसरका प्रवक्ता पोखरेलले जानकारी दिए।
यसरी पक्राउ परे चन्द
अनुसन्धान स्रोतका अनुसार चन्द एक साताअघि हरिद्वारबाट काठमाडौं आएर मिनभवनस्थित घरमा बसेको सूचना आएपछि महशाखाले मिनभवन क्षेत्रमा निगरानी बढाएको थियो।
तीनतले घरको दोस्रो तलामा बसेको सूचना पाए पनि उनी देखिएनन्। तर पनि प्रहरीले निगरानी छाडेन। नदेखिए पनि उनी घरमै रहेको निश्चित भएपछि प्रहरी निरीक्षक कमान्डको टोली दोस्रो तलामा पुगेर शंका लागेको ढोका खोल्दा पूजा गरिरहेका चन्द फेला परेका थिए।
प्रहरीले चन्दको कोठाको ढोका खोल्नासाथ उनले पालेको कुकुरले प्रहरीलाई झम्टेपछि उनलाई नियन्त्रणमा लिन अलमल भएको थियो। कुकुरले कोठामा पस्न नदिएपछि प्रहरीले कुकुर नियन्त्रणमा लिन चेतावनी दिएको थियो। यसपछि उनको परिवारले कुकुर सम्हाले, टोलीले परिचयपत्र देखाउँदै हामीसँग जाउँ भनेपछि उनी कुनै प्रतिवाद नगरी प्रहरीसँग गएका थिए।
source nagariknews.
Advertisement