लाखौं रुपैयाँ आम्दानी दिने बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को बोटको सुरक्षाका लागि काभ्रेका किसान यसको रूखमै सिसिटिभी क्यामरा जडान गर्न थालेका छन्।
Advertisement

बनेपा-लाखौं रुपैयाँ आम्दानी दिने बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को बोटको सुरक्षाका लागि काभ्रेका किसान यसको रूखमै सिसिटिभी क्यामरा जडान गर्न थालेका छन्।

बर्सेनि लाखौं रुपैयाँमा बिक्ने बोधिचित्तका दाना फलेका रुखबाटै गुन्डाले दाना झारेर लैजाने र लुट्ने क्रम बढेपछि किसानले यस्तो जुक्ति निकालेका हुन्। तर, यसैपटक चारवटा क्यामरा जडान गरेका शिखरअम्बोटे– ९, साजकोटका किसान सोनामसिंह तामाङलाई क्यामराले समेत साथ दिएन।
पोहोर ६० लाख रुपैयाँमा चारवटा बोटको बोधिचित्त दाना बेचेका तामाङ यसपटक त्यत्तिकै हराहारीमा भाउ आउनेमा आशावादी थिए तर गुन्डाको एक समूहले क्यामरा नष्ट गर्दै बोटका दानासमेत झारेर लगेपछि प्रहरीकहाँ उजुरी गर्न आइपुगेका छन्।
‘पोहोरसम्म ठेकेदारलाई दिएको थिएँ, यसपटक आफैंले सोझै बेच्ने घरसल्लाह थियो तर मध्यरातमा आएर क्यामरा फुटाई आधीभन्दा बढी दाना झारिदिए,' तामाङले प्रहरीकहाँ भने। असार अन्तिम सातादेखि साउनको आधाआधीमा टिप्दा गुणस्तरीय दाना हुने भएकाले समूहले पाक्दै नपाकेको दाना झारिदिँदा सबै मल बराबर भएको उनको दुखेसो छ।
बोधिचित्तको बोटकै कारण असुरक्षित भएपछि यतिखेर दुई छोरा र श्रीमतीसहित तामाङको परिवार जीउज्यानको सुरक्षा माग्दै धुलिखेलमा बसेका छन्। काभ्रे प्रहरीले घटनास्थलबाट तरबारसहित पक्राउ गरेका समूहका दुईजनालाई यतिखेर मुद्दा चलाइरहेको छ। बाँकी फरार रहेको भन्दै प्रहरी खोजीकार्यमा जुटेको छ।
अघिल्लो वर्ष पनि तामाङले घरबारी साजकोटदेखि काठमाडौंसम्म सडकबाट लैजाँदा असुरक्षित हुने देखेपछि करिब दुईसय किलो बोधिचित्त दाना ढुवानी गर्न हेलिकप्टर नै चार्टर गरेका थिए।
लामा गुरु र तामाङ समुदायले जपध्यान गर्नका लागि बोधिचित्त दानाको माला उपयोग गर्ने गरेका छन्। बोधिचित्तको मुख्य बजार काठमाडौं बौद्ध हो। उत्पादन हुने गाउँमा २ सय देखि ५ हजार रुपैंयासम्ममा कारोबार हुने बोधिचित्त माला काठमाडौं हुँदै चीनसम्म पुग्ने गरेको छ। चीनमा पुग्दा सबैभन्दा सानो साइज ८ मिलिमिटरको एउटा माला (१ सय ८ दाना) को एकदेखि डेढ लाख रुपैयाँसम्म पाउने व्यवसायी बताउँछन्।
जिल्ला वन कार्यालयले तिमालका गाविस र शिखरअम्बोटे गाविसलाई वयर प्रजातिको बोधिचित्त बोट रहेको क्षेत्र (क्लस्टर) मानेको छ। १ हजार ७ मिटरको उचाइसम्ममा खेती हुने बोधिचित्त सुरुका दिन काभ्रेको तिमाल भेगमा मात्रै पाइने विश्वास गरिन्थ्यो। पछि खोज्दै जाँदा काभ्रेका नौवटा गाविस र पाँचखाल नगरपालिकामा समेत खेती भएको पाइएको छ। कार्यालयको अभिलेखअनुसार काभ्रे जिल्लामा जम्मा ३४ जना किसानसँग मात्रै बोधिचित्तको बोट छ। उनीहरुको बारीका ३ सय ७६ वटा बोटमा बर्सेनि बोधिचित्त फल्ने गरेको छ।
बोधिचित्तका दानालाई किसानले ढिँकीमा फलेर बोक्रा निकाल्ने गरेका छन्। घाममा राम्ररी सुकेको दानालाई मेसिनले प्वाल पार्दै माला बनाइन्छ। जिल्ला वन कार्यालयमा भेटिने बोटधनीहरु खुलेर कुरा गर्न चाहँदैनन्। कुरा गर्न अघि सर्ने किसानसमेत नाम उल्लेख नगर्ने सर्तमा कुरा गर्छन्, ‘पैसाका कारण बोधिचित्त जति आकर्षक छ, बोटमै, टिपेपछि र निकासी गर्दा जोगाउन त्यत्तिकै मुस्किल छ। बोटदेखि काठमाडौँ पुर्याेउन्जेल गुन्डा पछि लाग्छन्,' एक किसानले दुखेसो पोखे।
बोटमा फल लाग्नुअगावै व्यापारीले उनीहरुलाई केही रकम पेस्की दिने गरेका छन्। पछि बोटधनीको मन परिवर्तन होला भनेर व्यापारीले उनका परिवारसमेत काठमाडौंमा लगेर पाल्ने गरेका छन्। बोधिचित्तको दाना टिपिसकेपछि मात्रै घर फिर्ता गर्ने गरेको पनि पाइएको छ। ‘व्यापारीले वन कार्यालयको हवाला दिएर बोटधनीलाई अत्याउँदै सस्तोमा बेच्न बाध्य पार्दा रहेछन्, वनले निजी आवादी जग्गामा फलेको बोधिचित्तको दाना संकलन सहमतिलाई पैसा लिने गरेको छैन। पछि स्थानान्तरण गर्नका लागि बोटधनीले निकासी इजाजत (छोडपूर्जी) मागेको खण्डमा नियमानुसार लाग्ने दस्तुर लिएर पूर्जी दिने गरेको छ,' नारायणस्थान इलाका वन कार्यालय भकुण्डेका सहायक वन अधिकृत शैलेन्द्र मिश्रले जानकारी दिए।
बोटधनी किसानले बोधिचित्त संकलनदेखि निकासी इजाजत पत्र पाउन्जेलसम्म कम्तीमा ७ देखि १५ दिनसम्म जिल्ला वन, इलाका वन र नापी कार्यालय चहार्नुपर्ने हुन्छ। निजी आवादीमा बोट भएका धनीले निवेदन दिएपछि स्थलगत निरीक्षण, नापी कार्यालयबाट स्थलगत रूपमा जग्गाको कित्ता नम्बर यकिन, बिक्रीनामा, जाँचबुझ मुचुल्का, संकलन अनुमति, संकलन इजाजतपत्र, नापतौलसहित मुचुल्का, राजस्व लिएपछि मात्रै निकासी इजाजतपत्र(छोडपूर्जी) दिइने सरकारी प्रक्रिया रहेको छ।
वन ऐनको अनुसूचीमा समावेश नभएकाले जिल्ला वन कार्यालयले राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीले परिभाषित गरेअनुसार बोलचालीको भाषामा बोधिचित्त भनिए पनि यो भद्राक्ष प्रजाति हो। यसको वानस्पतिक नाम ‘जिजिफस स्पेसी' रहेको बताउँदै आएको छ तर बोधिचित्तका व्यापारी मूल्यमा कमी आउने भएकाले भद्राक्ष उल्लेख नगरिदिन अनुरोध गर्न थालेका छन्।
वनले वयर प्रजातिको भन्दै बोधिचित्त प्रतिकिलोलाई ८ रुपैयाँ मूल्यांकन गरी त्यसको १५ प्रतिशतले हुने रकम अर्थात एक रुपैयाँ २० पैसा राजस्वका रुपमा संकलन गर्दै आएको छ तर बोधिचित्तको मूल्य शृंखलामा लाखौं रुपैयाँसम्ममा किनबेच हुने गरेको छ। किसानले न्यून मूल्य पाए पनि बिचौलियाबाट मूल्य बढ्दै जाँदा बोधिचित्तको लाखौं रुपैयाँसम्म पुग्ने गरेको अघिल्ला वर्षका कारोबारले प्रमाणित गरेको छ।
वनक्षेत्रमा पाइने प्रजाति नभएकाले बोधिचित्तलाई वन कार्यालयले स्थानान्तरण अनुमति दिन आवश्यक नभएको जिल्ला वन अधिकृत गणेश रायको भनाइ छ, ‘यो पटक्कै वनक्षेत्रमा पाइन्न, घरआँगनमै पाइने प्रजातिलाई छोडपूर्जी दिइराख्न वन कार्यालयलाई मात्रै नभई बोटधनीलाई समेत झन्झटमात्रै थपिएको हो। यसबारेमा उपयुक्त निर्णय लिइदिन विभागमा लेखी पठाएका छौं,' उनले थपे।
उता, प्रहरीले वनको इजाजत नभएको बोधिचित्त दाना र माला चोरीको पनि हुनसक्ने हुँदा कुन किसानको उत्पादन हो भनेर यकिन गर्नका लागि वनले दिएको कागजपत्रको माग गर्दै आएको जनाएको छ। ‘अघिल्ला वर्षमा बोधिचित्त लुटपाट र चोरी गर्दै बेच्न ल्याएको पाइएकाले बोटधनीकै सुरक्षा र सुरक्षित ओसापसारका लागि वन कार्यालयबाट प्रमाणित कागजात (छोडपूर्जी) मागिएको हो,' काभ्रे प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीलेे भने।
बिरुवा बाँडिँदै
जिल्ला वन कार्यालयले यस आर्थिक वर्षमा बोधिचित्त खेती गर्न चाहने किसानलाई ७ सयवटा बिरुवा वितरण गर्ने भएको छ। सुरुमा वन आफैंले बिरुवा उत्पादन गर्ने कार्यक्रम रहे पनि एक पाथी बोधिचित्त दानाको १० हजार रुपैयाँ माग भएपछि निजी नर्सरीसँग किन्ने योजना बनाएको छ।
दुई वर्षदेखि फल (दाना) दिन सुरु हुने बिरुवा वितरणका लागि स्थानीय विकास अधिकारीको अध्यक्षताको जिल्ला वन समन्वय समितिको निर्णयमा वितरण गरिने सहायक वन अधिकृत शैलेन्द्र मिश्रले जानकारी दिए। एक, दुई बिरुवा पाएर हुर्काउन मिहिनेत गर्ने किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार आउनेदेखि पहिलोपल्ट यस्तो कार्यक्रम राखिएको उनको भनाइ छ। यतिखेर बजारमा ५ सय रुपैयाँमा बोधिचित्त बिरुवा बिक्री हुँदै आएको छ।source:nagaricnews



Advertisement



प्रतिक्रिया दिनुहोस्...