पालमा महिलामाथियौनजन्य हिंसा, कारबाहीको माग
Advertisement
१४ असार, ललितपुर ।
अन्तरपार्टी महिला सञ्जालले भूकम्पपीडित महिला तथा बालबालिकाले बसोबास गरिरहेका पालमा यौनजन्य हिंसा भइरहेको जनाएको छ ।
सञ्जाल ललितपुरद्वारा आज आयोजित कार्यक्रममा सञ्जालका केन्द्रीय उपाध्यक्ष एवम् सभासद् ममता गिरीले महिला तथा बालबालिका रहेका स्थानमा सुरक्षाका लागि राज्यको ध्यानाकर्षण गराइन् ।
भूकम्पको मौका छोपेर बालबालिका बेचबिखन भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले त्यस्ता गिरोहको पहिचान गरी हदैसम्मको कारबाही गरिनुपर्ने बताइन्।
सहायक प्रजिअ होमनाथ थपलियाले भूकम्प प्रभावित जिल्लामध्ये ललितपुरमा मानवीय क्षति न्यून भएको बताए । यहाँ भूकम्पमा परेर ७६ महिला र ३३ बालबालिकाले ज्यान गुमाएको तथा एक हजार ४७४ महिला घाइते भएको बताइएको छ ।
सुरक्षाको दृष्टिकोणले यस क्षेत्रमा मजबुत बनाएकाले कुनै पनि हिंसाको घटना नभएको उनले बताए । राज्यले राहतस्वस्प प्रदान गरेको रु १० हजार दक्षिणी भेगका १९ गाविसका पीडितले प्राप्त गरिसकेको जिकिर उनले गरे । स्थानीय विकास अधिकारी पशुपति पोखरेलले महिलासम्बन्धी विभिन्न सीप विकासका कार्यक्रम कार्यालयको समन्वयमा हुँदै आइरहेको बताए ।
महिला विकास प्रमुख शारदा बिजुक्छेले विद्यालयमा पठनपाठन गरिरहेका बालबालिकामा परेको मानसिक अवस्थालाई ख्याल राख्दै पूर्वअवस्थामा फर्काउन मनोरञ्जनका सामग्री वितरण गरिएको बताईन । ललितपुर सञ्जालका अध्यक्ष देवकी श्रेष्ठले भूकम्पपीडित महिला एवम् बालबालिका रहेका स्थानको अनुगमनका क्रममा उक्त क्षेत्रमा पानी, सरसफाइलगायतको समस्या बढ्दै गएको पाइएको बताइन । रासस- स्रोत : नेपाली हेडलाइन्स
Advertisement