पूर्वराजा ज्ञानेन्द्रका ड्राइभर भन्छन् 'सरकारको बक्सिसबाट घर बनाएँ'
कलंकीबाट एलआरआई स्कुल हुँदै दहचोकतिर जाने बाटोछेउमै पर्ने एकतले सानो घर । घरको भित्तामा एक वृद्ध अडेस लागेर बसेका थिए । नाति–नातिनासँग खेल्नु र कहिलेकाहीँ छरछिमेकसँग गफिनुबाहेक दिन काट्ने अरू कुनै बहाना उनीसँग बाँकी छैन ।
कुनै वेला यी ९० वर्षका वृद्ध पूर्वराजा ज्ञानेन्द्र शाहको निजी गाडी ‘लङ ड्राइभ’मा लैजाने विश्वासिला पात्र थिए । ‘सरसर्ती हेर्दा जन्मिनु जीवनको सुरुवात र मर्नु जीवनको अन्त्य हो । तर, जन्मिनु र मर्नु मात्रै जीवनको सार्थकता हो त ?,’ दार्शनिक मुडमा रहेछन्, कृष्णबहादुर कार्की । त्यही भएर जीवनका भोगाइ अरूलाई सुनाउन पाउँदा मख्ख पर्छन्, उनी । ००० २००४ देखिको जागिरेयात्रा सुनाउन सुरु गर्दै कृष्णबहादुरले भने, ‘धेरै दु:ख गरियो, हेर्नुस् । ऊ वेला जमाना नै फरक थियो । २००४ बाट जागिरे भएँ । यहाँ (दहचोक नजिकै खड्का गाउँ)बाट हिँडेर बिहानै ६ बजे टुँडिखेल पुग्थेँ । राणाको चाकडी गर्नु नै त्यतिखेरको नोकरी हुन्थ्यो ।’ कृष्णबहादुरका अनुसार त्यतिखेर टाठोबाठोलाई सीधै केही न केही काममा लगाइदिने र बलियो जिउडाल भएकालाई सुरक्षातिर खटाइदिन्थे रे राणाले । कहाँ अहिलेजस्तो छाती नाप्ने चलन थियो र उसवेला ? कृष्णबहादुरलाई पनि राणाले एक वर्षजति यताउति सामान्य काममा लगाइदिएछन् । र, त्यसपछि टक्सार (पैसा छाप्ने ठाउँ)मा । सुन्धारास्थित धरहरानजिक रहेको टक्सारमा २००५ बाट जागिर सुरु गरेको कृष्णबहादुरले सुनाए । २००७ मा प्रजातन्त्र आयो । राणाशासन उल्टियो । ‘त्यसपछि तपाईंको जागिर ?,’ प्रश्नकमो जवाफमा कृष्णबहादुरले भने, ‘राणा गएर शाहहरूले राज गर्न थालेपछि हामी पनि सरकारअन्तर्गत नै गयौँ । ००० राणाशासनको अन्त्यपछि कृष्णबहादुरको काम राजपरिवारको कम्पनीमा सुरु भयो, सरकारी जागिरेकै हैसियतमा । हिमालय सरकार (राजा महेन्द्रका माइला भाइ)को सोल्टी बिजनेस ग्रुपमा ड्राइभर पदमा जागिरे भएछन्, कृष्णबहादुर । ‘त्यतिखेर सबै राजपरिवारकै त थियो नि † राजाहरूले जे भन्यो त्यही हुन्थ्यो । पछि माइली महारानी (हिमालय शाहकी श्रीमती)को निजी ड्राइभर बनेर गाडी चलाएँ । तनाखा भने सोल्टी गु्रपबाटै आउँथ्यो,’ फेहरिस्त सुनाउँदै गए कृष्णबहादुर, ‘हिमालय सरकारका सन्तान थिएनन्, त्यसैले आफ्नो नामको श्रीसम्पत्ति ज्ञानेन्द्र सरकारलाई सुम्पिबक्स्यो ।’ सोल्टी बिजनेस ग्रुपमा ज्ञानेन्द्रको जिम्मेवारीअन्तर्गत आएपछि उनी कम्पनीमा आउने क्रम बाक्लो भयो र ज्ञानेन्द्रको रोजिएको ड्राइभर बन्न पुगे, कृष्णबहादुर । ‘बिजनेसकै सिलसिलामा फरक–फरक ठाउँ गइराख्नुपर्ने हुन्थ्यो । ज्ञानेन्द्र सरकारलाई मैले गाडीमा सवार गराउँथेँ । माइली महारानीको भरपर्दो ड्राइभर भएकाले ज्ञानेन्द्र सरकारले कतै लामो यात्रा गर्नुपर्दा मलाई नै रोजिबक्सिन्थ्यो ।’ पुराना क्षण सम्झिँदै कृष्णबहादुरले भने, ‘माइला सरकार (ज्ञानेन्द्र शाह)लाई लिएर झापाको दमकस्थित हिमालयन चिया बगानमा धेरैचोटि गएँ । बिहान ६ बजे काठमाडौंबाट निस्केका हामी अपराह्न साढे चार बजे दमक पुग्थ्यौँ । ०४६ देखि ०५७ को अन्त्यतिरसम्म ज्ञानेन्द्र सरकारको गाडी चलाएँ । जागिर छोड्ने वेला सोल्टीबाट उपदान पनि पाएको थिएँ ।’ कृष्णबहादुरले ज्ञानेन्द्रको गाडी चलाउन छाडेको केही महिनामै दरबार हत्याकाण्ड भयो । ज्ञानेन्द्र राजा बने । जनआन्दोलन भयो । आन्दोलनमा दमन गरे । यी सबै घटनालाई कृष्णबहादुरले आफ्नै पारामा नियालिरहेका थिए । उनले भने, ‘म त छक्क परेँ, किन माइला सरकारले यस्तो गरे भनेर । पक्कै पनि सरकारका आसेपासेले बिगारेको हुनुपर्छ । तिनै आसेपासेको कुरा सजिलै खाँदा माइला सरकारले बाटो बिराइबक्स्यो ।’ राजा वीरेन्द्रको वंश नाश भएपछि सबै सम्पत्ति आफ्नो बनाएर ज्ञानेन्द्रले ठूलो गल्ती गरेको कृष्णबहादुरको बुझाइ छ । ‘अरूको बुद्धिभन्दा आफ्नो बुद्धिले हिँड्नुपथ्र्यो । हिँड्ने तरिका नजान्दा लडे माइला,’ उनले सुनाए । ००० ‘गल्ती र सही छुट्याउन त म जान्दिनँ । तर, हामीले जान्दा नरम–मिलनसार स्वभाव थियो, उहाँको,’ ज्ञानेन्द्रबारे कृष्णबहादुरले सुुनाए, ‘वेलाबखत ‘खाना कस्तो छ, के छ’ भनेर सोधिबक्सनुहुन्थ्यो । ‘खाएकै छु सरकार’ भन्थेँ । एकपटक बस्ने घर छैन भनेर कुरा राख्दा १० हजार रुपैयाँ पाएँ ।’ आफ्नो घर देखाउँदै कृष्णबहादुरले भने, ‘ज्ञानेन्द्र सरकारबाट पाएको बक्सिसबाटै ०५० सालतिर बनाएको हो, यो घर ।’ भूकम्पले कृष्णबहादुरको घरमा पनि क्षति पुगेको छ । राणा र राजाहरूको शासन व्यवस्था चाख्दै गणतान्त्रिक व्यवस्थालाई पनि बुझ्ने मौका पाएका कृष्णबहादुर अहिलेका नेताहरूको मनपरीदेखि बेखुस छन् । ‘राणा–राजाको पालामा काम गर्छु भन्नेले निर्धक्क काम गरेर खान पाउँथे । अरूको बिगार गर्ने बदमासहरू तुरुन्त कारबाहीमा पर्थे । अहिले त जसले जे गरे पनि भयो, मनपरी छ,’ उनले भने, ‘व्यवस्था राम्रो भएर मात्रै के गर्ने, शासन गर्ने व्यक्ति गलत भएपछि ? अब कुन ठीक कुन बेठीक आफँै छुट्याउनुस् ।source:nayapatrica
प्रतिक्रिया दिनुहोस्...