सिन्धुपाल्चोक र दोलखामा भूकम्पका केन्द्रबिन्दु किन धेरै ? भुगर्बबिद पनि अचम्ममा
Advertisement
काठमाडौँ, २४ जेठ । बैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाकमा थियो, तर त्यसपछिका दिनमा गोरखालाई केन्द्रबिन्दु बनाएर भूकम्प जाने क्रम कम भयो । गोरखा आसपासमा बढी केन्द्रबिन्दु हुनुपर्नेमा त्यसभन्दा टाढाका सिन्धुपाल्चोक र दोलखालाई केन्द्रबिन्दु बनाएर धमाधम भूकम्प जान थाल्यो । सिन्धुपाल्चोक र दोलखामा सबैभन्दा बढी केन्द्रबिन्दु भएपछि राष्ट्रिय भूकम्प मापन केन्द्र अहिले यसैको गहन अनुसन्धानको तयारीमा जुटेको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी भन्छन्, ‘दुई ठूला भूकम्पको केन्द्रबिन्दु परेका कारण सिन्धुपाल्चोक र दोलखाको जमीनमा निकै ठूलो हलचल पैदा भएको छ, जसका कारण सबैभन्दा धेरै भूकम्पका केन्द्रबिन्दु त्यस वरपर भएका छन् ।’ अहिलेसम्म साना ठूला गरी २० हजार भन्दा बढी पराकम्पन गइसके पनि सबैभन्दा बढी पराकम्प सिन्धुपाल्चोकमै भएको उनको भनाइ छ । तर, थप भय सिर्जना हुने डरले भूकम्प मापन केन्द्रले केन्द्रबिन्दु परेको गाउँको जानकारी दिने गरेको छैन् ।
‘यो गाउँमा केन्द्रबिन्दु प¥यो भन्ने हो भने गाउँलेहरुमा झन् ठूलो त्रास हुन सक्छ । गाउँ रित्तो हुने खतरा पनि हुन सक्छ, सोहीकारण हामीले वरिपरिको क्षेत्रफलमात्रै भन्ने गरेका छौँ, केन्द्रबिन्दु परेको गाउँ–ठाउँ नै किटान गरेर भन्ने गरेका छैनौँ ।’
भूकम्पविद् अधिकारीका अनुसार, सिन्धुपाल्चोकलाई नै बढी केन्द्रबिन्दु बनाएको विषयमा भूकम्प मापन केन्द्रले त्यसको सघन अनुसन्धान थाल्ने तयारी गरेको छ । यसका लागि अमेरिका र युरोपका अनुसन्धान केन्द्रले पनि चासो देखाएका छन् ।
‘सिन्धुपाल्चोकमा नयाँ स्टेशन नै राखेर सघन रुपमा अध्ययन गर्दैछौँ । जसका लागि विभिन्न देशका अनुसन्धान केन्द्रले इच्छा देखाएका छन् ।’, अधिकारीको थप भनाइ छ, ‘गोरखाभन्दा पश्चिमतिर भूकम्पको पराकम्म हुँदै भएन, यो पनि आश्चर्यको विषय हो, यस विषयमा पनि अनुसन्धान गर्छौँ ।’
पराकम्प जाने क्रम अझै चारदेखि पाँच महिनासम्म लाग्न सक्ने भूकम्प मापन केन्द्रको भनाइ छ । ‘जति धेरै पराकम्पहरु गए, त्यतिधेरै खतरा कम हुन्छ, त्यसकारण आत्तिनुपर्दैन ।’ अधिकारीले दैनिक नेपालसँग भने । स्रोत दैनिक नेपाल

Advertisement



