.मिका सिंह जमानतमा रिहा...
Advertisement
नयाँदिल्ली : गायक मिका सिंह प्रशंसकलाई थप्पड हानेको आरोपमा गिरफ्तार भएका छन्। बिहीबार उनलाई दिल्ली प्रहरीले गिरफ्तार गरेर जमानतमा रिहा गरेको हो।
मिकाले गत अप्रिलमा दिल्लीमा आयोजित कन्सर्टमा एक प्रशंसकका रूपमा गीत सुनिरहेका एक चिकित्सकलाई थप्पड हानेका थिए। उनले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यो घटनपछि आलोचित बनेका मिकालाई प्रहरीले पक्राउ गर्न खोजिरहेको थियो।
मलेसियामा रहेका मिका नयाँदिल्ली पुगेर बिहीबार प्रहरीमा हाजिर भएका थिए। आफूले थप्पड हिर्काएको उनले स्वीकारेका छन्।
नशाले चुर भएका ती चिकित्सकले महिलामाथि अभद्र र अश्लील इशारा गरेकाले आफूले थप्पड हान्नु परेको उनको दाबी छ।
'आफ्नो कार्यक्रममा म महिला र बालबालिकालाई नाच्न ठाउँ दिन्छु, त्यो कार्यक्रममा पनि मैले त्यसो गर्न खोजेको थिएँ', मिकाले भनेका छन्, 'तर ती चिकित्सकले अश्लील इशारा गरिरहे। मैले आफूलाई सम्हाल्न सकिनँ र त्यस्तो घटना भयो।'
नयाँदिल्लीको इन्द्रपुरी प्रहरी थानाले मिकालाई २० हजार भारतीय रुपैयाँ जमानत लिएर रिहा गरेको छ।
मिकाको थप्पडले चिकित्सकको बायाँ कानमा चोट लागेको र उनको अम्बेडेकर अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ। अप्रिल ११ मा आँखाका चिकित्सकहरूको सम्मेलनमा मिकाले गीत गाएका थिए। यही कार्यक्रममा त्यो घटना भएको थियो।
मिकाका वकिलले मिकाविरुद्ध प्रहरीमा जाहेरी दिने चिकित्सकका विरुद्ध पनि महिलालाई जिस्क्याएको आरोपमा उजुरी दर्ता गरेका छन्।
पञ्जाबी र हिन्दीबाट गाएर युवामाझ चर्चित मिकाले बुधबार मात्र ३८औं जन्मदिन मनाएका छन्।source annapurna post
Advertisement