-आस्था घिमिरे भन्छीन, लेखनाथसँग विवाह गर्नु जीवनकै ठूलो भूल भयो
Advertisement

आस्था घिमिरे नेकपा–माओवादी नेता लेखनाथ न्यौपानेकी पूर्वपत्नी हुन् । कुनै बेला नेकपा माओवादीले सञ्चालन गरेको ‘जनवादी राज्यसत्ता स्थापना गर्ने र सिंगो जनतालाई मुक्ति दिलाउने युद्धमा होमिएकी आस्थाले महिला मुक्तिका भाषण धेरै गरिन् । सशस्त्र द्वन्द्वको हुंकारले देश त्रसित थियो । महिलामाथि हुने घरेलु हिंस्रक उनका दुश्मन हुन्थे । गाउँमा श्रीमती पिटेको, मदिरा खाएको आरोपमा धेरैले कारबाही भोगे । उनी स्वयं पनि नजाने कतिवटा पार्टी कारबाहीमा सम्मिलित थिइन् ।
तस्बिर :-लेखनाथ न्यौपानेको फेसबुक बाट

श्रीमान/श्रीमती रथका दुई पांग्रा मान्थिन् उनी । यस्तै क्रममा युद्धका दौरान भेटिएका एक युवा नेतालाई उनले श्रीमान् बनाइन् । उनीहरूको छोरा जन्मियो तर उनी आफैंले भने श्रीमान्बाट केवल हिंसा मात्र पाइन् । अवस्था त केसम्म छ भने नौ महिना कोखमा राखेर जन्माएको छोरा अहिले बाबुको कब्जामा छ । उनी आफ्नै छोरालाई भेट्न पाउँदिनन् !–
नचाहँदा नचाहँदै पनि बेला बेला लेखनाथसँग मेरो नाम जोडिन्छ । जनयुद्धको समयदेखि आहिलेसम्म मैले पनि जीवनको महत्वपूर्ण समय गुमाएकी छु । लेखनाथको श्रीमती हुनुभन्दा पहिला नै मैले राजनीति गरेकी हुँ । तर, मेरो क्षमतालाई गुमनाम गर्ने कोशिस भयो ।
भविष्यका सपना सुनौला थिए । तर, टिक्न सकेनन् । विगत सम्झदा दुःख लाग्छ, अहिले खुसी छु, कसैको हिंसाको सिकार हुन नपरेकोमा । अबको दिन आफ्नै पहिचानमा बाँच्न चाहन्छु । जे सक्छु, आफ्नै बुताले गर्छु ।
लेखनाथ मकवानपुर पार्टी इन्चार्ज थिए । म त्यहीको पार्टीमा संगठित भएको कारण ०६१ मा पहिलोपटक उनीसँग भेट भयो । म उनलाई इमानदार कर्तव्यनिष्ट नेताको रूपमा हेर्थें । साच्चै उनि मैले बुझेको तीन वर्ष धेरै राम्रा थिए । नराम्रो केही देखिनँ ।
पार्टी खुला राजनीतिमा आएपछि म पनि विद्यार्थी राजनीति गर्न काठमाडौं आएँ । बस्ने ठाउँ नभएकोले उनको बहिनीसँगै बसे । लेखनाथलाई धेरै सम्मान गर्थें । लाग्थ्यो, उनले युद्धमा श्रीमती गुमाए, कति पीडा होला ! सकेसम्म उनको निजी काममा सहयोग गर्थें ।
उनीप्रति मात्र नेताको व्यवहार थियो, प्रेम थिएन । एक दिन बिहेको प्रस्ताव गरे, विनासोच ओके भनेँ । ०६३ फागुनमा बिहे भयो । परिवारसँग राम्रो सल्लाह पनि गरिनँ, थाहा पाएछन् । उमेर मिल्दैन हुँदैन भने तर मैले आफैं निर्णय लिएँ ।
०००
उनीसँग बितेका चार वर्षमा एक वर्ष मात्र राम्रोसँग बित्यो । बाँकी तीन वर्ष मानसिक तनावमा बिते । त्यो समय मेरा लागि कष्टकर बन्यो । धेरै मानसिक यातना भोगेँ मैले । जनयुद्धमा लाग्दा र पछिका समयमा महिला मुक्तिका धेरै कुरा गरेँ ।
गाउँमा घरेलु हिंसा र सामाजिक हिंसामा परेका महिलाको पक्षमा वकालत गरियो । सिंगो महिला मुक्तिका लागि युद्धमा होमिएको थिएँ । तर, आफैं प्रताडित भएँ, मैले भोगेको घरेलु हिंसा दर्दनाक छ ।
कहिलेकाहीँ सोच्थेँ, मैले रोजेको बाटो काँडैकाँडाले घेरिएको रहेछ । आफैं हिंसामा बस्नेले कसरी दिन सक्छ अरूलाई मुक्ति ? सहन सक्ने महिला भएको भए सम्बन्धविच्छेद हुँदैन थियो । मैले सहने कोसिस गरेँ । सकिनँ । थाकेँ । जीवन आँसुमा डुब्नका लागि होइन, केही गर्नका लागि हो भनेर मुक्ति खोजेँ ।
०००
कति दिन यसरी परमहिलासँग हिँड्लान भनेर तीन वर्ष अनेक कोशिस गरेँ । म चाहँदैन थिएँ, मेराकारण उनको राजनीतिक छवी धमिलियोस् । मसँग लेखनाथको स्तर मिल्दैन थियो ।
उमेर, राजनीतिक हैसियत, वैचारिक स्तर, जिम्मेवारी जस्ता कुरामा उनी मभन्दा धेरै माथि थिए । त्यो स्तरको नेतालाई बचाउनुपर्छ भनेर आफ्ना सबै कुरा त्यागेँ । पढाइ छोडेँ । महत्वपूर्ण राजनीतिक जिम्मेवारी त्यागेँ ।
उसका अगाडि म कमजोर जस्तै देखिएँ । चाहेको भए मैले आफ्नो बारेमा धेरै सोच्न सक्थेँ । तर, त्यो गरिनँ । उसको मानसिकता यसले सबै प्रकारको दमन सहेर बस्नुपर्छ भन्ने थियो । यो समाजको पुरुषवादी सोच होला, महिला आफ्ना पीडा सकेसम्म बाहिर ल्याउन चाहेनन् । तर, मैले सहन सकिन र बाहिर आएँ ।
माओवादीका धेरै नेता सांस्कृतिक विचलनको कारण कारबाहीमा परेका छन् । म लेखनाथले पनि त्यस्तो कारबाहीको दिन बहोर्न नपरोस् भन्ने ठान्थेँ । पार्टीको त्यो स्तरमा पुगेको नेतालाई जोगाउनुपर्छ भन्ने थियो ममा । पार्टीले त्यही स्तरको नेता पाउन धेरै लगानी गर्नुपर्छ भन्ने मैले बुझेको थिएँ । सकेसम्म आफू दुःखमा परेर पनि उसका विरुद्ध पार्टीमा उजुरी गरिनँ ।
लेखनाथसँग बितेका चार वर्षलाई मेरो जीवनको कालो दिन भन्न चाहन्छु । लेखनाथबाट धेरै प्रताडित भएँ । त्यति बेला मैले भोगेको हिंसा अहिले सम्झन नपरे हुन्थ्यो भन्ने लाग्छ । श्रीमान् बेगर महिला बाँच्नै सक्दैन भन्ने मानसिकता बोक्नेहरूको अगाडि म एक्लै बाँचेर देखाउन चाहन्थेँ ।
महिला एक्लै बस्नै सक्दैनन्, पुरुषको सहारा अनिवार्य छ भन्ने कमजोर मानसिकतालाई चुनौति दिन चाहन्थेँ । अहिले म धेरै कुराले सन्तुष्ट छु । अहिले कसैको हिंसा सहनु परेको छैन । जीवनलाई अगाडि बढाउने उपाय खोज्दै छु ।
०००
छोरा जन्मिएको एक महिनापछि उनी बाहिर केटी लिएर हिँड्न थाले । पार्टी नेताहरूले मलाइ भन्थेँ, ‘आस्थाजी, लेखनाथजीको बाहिर केटीहरूसँग सम्बन्ध छ, सम्झाउनु होला ।’ सम्झाउने प्रयास धेरै गरेँ । उनलाई मैले सम्झाएको मन पर्दैन थियो, सोच्थे मैले जे गरे पनि हुन्छ । त्यसैको विषयमा धेरै विवाद हुन्थ्यो । उनका कमजोरी थाहा पाएर पनि पार्टीमा भन्दैन थिएँ ।
सकेसम्म मिल्नुपर्छ भन्ने सोच थियो । जतिबेला मैले उनको बारेमा पार्टीमा कुरा गरेँ, त्यतिबेला धेरै ढिला भइसकेको थियो । मिल्नसक्ने अवस्था थिएन । त्यतिबेला पार्टीले पनि जस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो गरेन । हामी कुनै हालतमा सँगै बस्न नसक्ने अवस्था पुगेका थियौँ ।
काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भयो । कानुनतः मैले चाहेको भए उनको सम्पत्ति दावा गर्न सक्थेँ तर, गरिनँ । जोसँग जीवन बाँच्ने भनेर बिहे गरियो उ त जीवनमा रहेन भने उसको सम्पत्ति के काम भन्ने लाग्यो । सम्बन्धविच्छेद हुँदा छोरा मसँग बस्ने र उसको लालनपालन, पढाइ र स्वास्थलगायते खर्च बाबुले बेहोर्ने फैसला भएको थियो ।
सुरुका दिनमा उनले फैसला कार्यान्वयन गरे तर केही समयपछि उनले आफ्नो दायित्व पूरा गरेनन् । म आर्थिक रूपमा कमजोर थिएँ र अहिले पनि मेरो अवस्था त्यही हो ।
पढाइ छाडेर पार्टीमा लागियो, कमाउने काम गरिएन । उनले छोराको खर्च नभरेपछि मलाई समस्या आयो । बाध्य भएर उनलाई भनेँ, छोरा तपाईंसँगै राख्नु । म चाहेको बेला भेट्न आउँछु । उनले हुन्छ भने । मौखिक सहमतिको आधारमा मैले छोरा उनलाई जिम्मा लगाएँ ।
०००
जब उनले तेस्रो बिहे गरे त्यसपछि उनको कुरा फेरियो । सर्त राखे, छोरा उनीसँग बस्ने भए मैले भेट्न नपाउने, भेट्न मन भए मैले राखेर उसको सबै खर्च पूरा गर्नुपर्ने । म अहिले छोरोको सबै खर्च धान्न सक्ने अवस्थामा छैन । छोरा जतिबेला पनि मसँग आउन तयार छ । सबै निर्णय भावनाले गर्न सकिँदैन रहेछ दिमागले सोचेर गर्नुपर्ने रहेछ । अहिले छोरा लिँदा म समस्यामा छु । आफैं केही गर्न सकेको छैन । उसलाई ल्याउँदा आमाछोरा दुवैको भविष्यमा संकट आउँछ ।
पढाउन पर्‍यो बिरामी हुँदा उपचार गर्नुपर्‍यो । त्यो सबै क्षमता मसँग छैन । सायद मेरो कमजोर आर्थिक अवस्था बुझेर उसले त्यो सर्त राखेको होला । नौ महिना कोखमा राखेर जन्माउने म, दुःखले हुर्काउने म तर, चाहेको बेला म छोरा भेट्न सक्दिनँ । उसलाई अँगालोमा लिन मन हुन्छ सक्दिनँ । छोरासँगै विगत सम्झेर रुन मन लाग्छ ।
भूकम्प आएपछि भेट्न गएँ । कोठाभित्र पस्न दिएन, छोरा आएर ढोका खोल्यो । पार्टीका नेता पनि उनको कोठामा थिए, उनीहरूको अगाडि मलाई अपमानित गर्ने काम भयो । छोरा चाहिने भए सधैँको लागि लैजा भने ।
मैले ल्याउन सकिनँ, छोरो झोला बोकेर निस्कियो मसँगै आउन । तर, मनमा गाँठो पारेर उसको भविष्यको लागि भनेर छोडेर आएँ । जति बेला म छोराको लालनपालन र पढाइ पूरा गर्न सक्ने हुनेछु त्यति बेला ल्याउँछु । अहिले पनि उसको व्यवस्था गर्न सक्ने भए ल्याउथेँ तर त्यो सम्भव छैन ।
म यति बेला राजनीतिक रूपमा जिम्मेवार छु । पार्टीको काठमाडौं जिल्ला कमिटीमा छु । अनेरास्ववियूको केन्द्रीय सचिवालयको जिम्मेवारी सम्हालेको छु ।
लेखनाथ र मेरो राजनीतिक विचार बाटो फरक छ । अब यो मूलुक परिवर्तन गर्ने विप्लवले नेतृत्व गरेको माओवादीले मात्र सक्छ । त्यसैले एमाओवादी ड्यास माओवादी हुँदै यहाँसम्म आएको छु । विगत बिर्सेर वर्तमान बनाउने प्रयासमा छु ।
यो २६ वर्षको उमेरमा आफूले गरेको कुनै कामको पछुतो छ भने लेखनाथसँग बिहे गरेकोमा छ । त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो । उनीसँग नगाँसिएको भए जीवन फरह रूपमा अगाडि बढाउन सक्थेँ ।
०००
मम्मीले बेलाबेला भन्नुहुन्छ, छोरी माओवादी पार्टीमा लागेर ठूलो गल्ती गरिस् । मलाई माओवादी पार्टीमा लागेकोमा गर्व छ । पछुतो छ भने आफ्नो वैवाहिक जीवनसँग छ । जीवनमा सच्याउनै नसक्ने भूल थियो लेखनाथसँग बिहे गर्नु ।
उसँगको विवाहले मेरो जीवनलाई तहसनहस बनायो । त्यो क्षतिको पूरा गर्ने प्रयास गर्दै छु । त्यो पूरा गर्न धेरै मिहेनत गर्नुपर्ने छ । छोराको कारण उसँग मेरो नाम जोडिने गरेको छ । म छोराको पहिचान आफैं दिन चाहन्छु ।
मुलुक परिर्वत गर्न हिँडेको थिएँ, महिला मुक्तिका सुनौला भाषणले प्रभावित थिएँ र अरूलाई पनि प्रभावित पारेको थिएँ । कयौँपटक मरेर बाँचेको सघर्षभित्र आफू पनि पिल्सिएँ र अहिले त्यो पीडाबाट निस्केर सहज जीवन बाँच्ने कोशिसमा छु ।
आफूले भोगेको भोगाइको आधारमा अरू महिलालाई पनि सहज बनाउने कोशिस गर्दै छु । परिवार धान्ने र सहने महिलाको भागमा मात्र हुँदैन । भावना मिल्दैन, एकले अर्काको विचारको कदर गदैन, श्रीमान् भएकोमा आफ्ना कुरा मात्र लाद्न खोज्छ भने त्यो जीवनसाथी हुन सक्दैन मात्र पुरुषत्व हुनसक्छ ।
खर्च धान्न नेपाली किताबहरू टाइप गर्छु । घरबाट आमाले दालचामललगायत सामान पठाउनुहुन्छ । कहिलेकाहीँ पार्टीका साथीहरूले दुई/चार हजार दिनुहुन्छ यसैले खर्च चलाउँछु । एक्लै भएकोले धेरै खर्च हुँदैन सरल र सहज रूपमा आफ्नो जीवन चलाएको छु । (सौर्य दैनिकमा खबर छ

Advertisement



प्रतिक्रिया दिनुहोस्...