सन्दिप योगी, काठमाडौं। ज्ञानेश्वर नजीकै पुग्दा एक्कासी पानी पर्यो । मोटर साइकलमा सवार र पैदल यात्रुहरु सबै ओत खोज्दै लाखापाखा लाग्दै थिए तर एक महिला भने रातोपुलको नजिकै सडकको किनारमा आफ्नो काममा ब्यस्त थिइन । उनी मकै पोल्दै थिइन, आगो पानीले निभ्नै आटेको थियो उनले आफ्नो छाता खोलिन र आगोलाई ओढाइन र आफु पानीमा रुझ्दै मकै पोल्दै गइन । त्यहा पानीबाट बच्न ओत लागेका सबैको ध्यान उनैले खिचेकी थिइन । आगोमा उनले पोलिरहेको मकै एकदमै लोभलाग्दो देखिन्थ्यो ।
एकछिनमा पानी आउन बन्द भएपछी त्यहा ओत लागेका मध्य धेरै जसो मकै किन्न गए । उनी मकै बेच्दै पैसा चोलीको गोजी भित्र राख्दै गइरहेकी थिइन । एक्कासी पछाडिबाट आवाज आयो कसलाई नियाल्दै हो सर? पछाडि फकिर्एर हेर्दा एकजना ४५–५० बर्ष जतिको उमेरका एक ब्यक्ति रहेछन । उनी त्यही छेउमा मेडिकल पसल गर्दै आएका रहेछन । त्यसपछि उनले भने यी बुढी आमाको नाम कान्छी मगर्नी हो । यिनी उ त्यो पुल तल बस्छिन, रातोपुलको तल बसेको १५ बर्ष हुन लाग्यो । त्यसपछि कान्छी मगर्नीको ब्यथा बुझ्न मनलाग्यो ।
पानी सिमसिम फेरी पर्दै थियो , कान्छी मगर्नीले पोलेको मकै किन्न म पनि लागे । मकै किन्दै गर्दा मैले उनको नाम सोधे अनी त्यसपछि आफ्नो परिचय दिए । उनी मसंग कुरा गर्न मानिन् र आफ्नो बारेमा सुरु देखी बताउदै गइन् र म पनि मकै खांदै सुन्दै गए ।
उनका सारा कुरा सुनेपछी मलाई उनको बारेमा केही लेख्न मन लाग्यो । आखिर को हुन त कान्छी मगर्नी, कसरी रातोपुलको फोहरको डंगुरमा बस्न पुगिन उनी । यस्ता प्रश्नले मलाई घोचिरहेको थियो । उनको जीवन भोगाई पिडादायी रहेछ ।
ज्ञानेश्वर नजिकैको रातोपुल नजिक बस्छिन कान्छी मगर्नी । रातोपुल यात्रुहरुको लागि मात्र पुल होला तर कान्छी मगर्नीको लागि त्यही पुल बस्नको लागि घर बनेको छ अहिले । ७० बर्षिया कान्छी मगर्नीको जीवन बाँच्नको लागी आधार बनेको छ रातो पुल ।
हो त्यही रातोपुल जहाँबाट प्रधानमन्त्री, राष्ट्रपती बिदेशबाट आउँदा र जाँदा त्यही बाटोको प्रयोग गर्छन ।
कान्छी मगर्नीको जन्म धुलिखेलमा भएको थियो । उनका बाबु आमा सामान्य घरपरीवारका थिए । त्यो जमानामा छोरीको जती छिटो विवाह हुन्थ्यो त्यती सामाजिक प्रतिष्ठा बढ्न जान्थ्यो रे । तर २० बर्षसम्म पनि कान्छी मगर्नीलाई विबाह गर्नको लागी कोही पनि माग्न नआएपछी कान्छी मगर्नी २० बर्षको हुँदा सम्म बिहे नगरेर बसीन रे । तर २१ बर्षको उमेर पुग्दा भने कान्छी मगर्नीको विवाह भयो ।
विवाह पछि १ छोरा १ छोरी भए तर श्रीमानले रक्सी खाएर दु:ख दिन थाले उनलाई । जसोतसो गरेर उनले छोरोलाई पढाईन र छोरीलाई हुर्काइन । श्रीमानले जाँड रक्सी खान र जुवातास खेल्न भएका सबै सम्पत्ती बेचेर सिद्दाए । कान्छी मगर्नीको दु:खका दिनहरु सुरु भए श्रीमान विवाह गरेको १० बर्ष पछी मरेर गए । छोरा छोरीलाई जसो तसो पढाईन छोरीको विवाह गरिन ।
तर दैबको लीला छोराको २५ बर्षको उमेरमा नसाको रोग लागेर मृत्यु भयो । छोरो त मरेर गयो त्यहि माथि बिहे गरेर गएकी छोरीको मानसिक सन्तुलन हरायो । त्यस पछी उनकी छोरीलाई श्रीमानले नातिनी सहित घरबाट निकाले ।
त्यसबेलासम्म कान्छीका सबै सम्पत्ती सिद्दीसकेका थिए, अब नातिनी र मानसिक सन्तुलन गुमेकी छोरीलाई कहाँ लैजाउँ? के गरौ? भन्ने भयो । कान्छीलाई आत्महत्या गर्ने मन पनि लाग्यो रे तर छोरी र सानी नातिनीलाई कसले हेर्ला भनेर उनले त्यो बिचार त्यागिन र करीब १ महिना सडकमा सुतेर बिताइन ।
उनी दिनभरी फोहर बटुलेर बेच्ने गथिर्न अनी राती सडकमा सुत्ने गर्थिन । त्यही बेला उनी रातोपुलमा फोहर बटुल्न आएको बेला त्यहाँ ४ वटा फालेका टिनका पाता भेटिन र त्यही पाता देखेपछी उनलाई बाँच्न सक्ने आसा जाग्यो । त्यस पछी उनले आँफै टिनलाई बेरेर बस्न मिल्ने बनाइन । अहिले त्यही रातोपुल उनको घर बनेको छ । अहिले आफ्नो र आफ्नी छोरीको पेट पाल्न उनी मकै बेच्ने काम गर्छिन । धोबीखोलाले बगाएर ल्याएका काठहरु खोजेर सुकाउने उनको दिनचर्या नै भएको छ ।
दिउँसो भरी काठहरु सुकाइसके पछी उनी साँझ त्यही रातोपुलको छेउमा रहेको सडकमा बसेर मकै पोल्ने गर्छिन । कान्छीलाई दाउरा नपाउनाले भने साह्रै चिन्तित बनाएको छ । उनी भन्छिन,“पहिला पहिला धोबीखोलामा दाउरा काठहरु बगेर आउथ्यो तर अहिले गन्हाउने पानी मात्र बग्ने गर्छ।“
कान्छीका अनुसार पहिले उनकी छोरी ठीक हुँदा सम्म घरपरिवारले घरमै राखेर पढाएका थिए रे तर जब उनकी छोरी बिरामी भईन तब उनका ज्वाँइले छोरीलाई र नातिनी दुबैलाई घरबाट निकाले रे । त्यसपछी नातिनिलाई आँफैसँग राखिन कान्छीले तर छोरी धेरै बिरामी हुन लागेपछी भने उनको दु:ख देख्न नसकेर मैतिदेवीकै कुनै असल मानिसले नातिनिलाई संस्थामा राखिदिएका छन् । अहिले कान्छीलाई नातिनीको कुनै चिन्ता छैन तर छोरीको चिन्ताले उनलाई धेरै सताउँछ । आफु मरेर गएपछी छोरीलाई कसले हेरिदिने हो कसले खाना खुवाइदेला भन्ने चिन्ताले कान्छीलाई रात भरी निद्रा लाग्दैन् ।
कान्छी मगर्नीको अर्को एउटा ठुलो इच्छा छ, भन्छिन,“म मर्न भन्दा पहिला गगन थापालाई भेट्न चाहन्छु“। कान्छीले आफ्नो चोलिको छेउमा रहेको गोजीभित्र एकदमै जतनका साथ राखेको एउटा सानो कागजको टुक्रा निकालेर देखाइन । त्यहा गगन थापा सभासद ज्यु भनेर लेखिएको छ ।
कान्छीका अनुसार उनी ज्ञानेश्वर वडा कार्यालय भुकम्प पछी गईन रे । उनको घर नभएकोले उनले केहीपनी राहात पाईनन् तर त्यहाँका हाकिमहरुलाई मलाई कसले सहयोग गर्न सक्छ भनेर सोधिछन । वडा कार्यालयका कर्मचारीले उत्तर दिए छन् तिमीलाई तिम्रो छिमेकी नेपाली कांग्रेसका सभासद गगन थापाले सहयोग गर्न सक्छन ।
उनको बुझाईमा गगन थापा सहृदयी र सहयोगी भावका नेता हुन र थापाले उनलाई सहयोग गर्न सक्छन् भन्ने विश्वास रहेको छ। वडा कार्यलयबाट पाएको गगन थापाको नाम लेखिएको कागजको टुक्राले उनलाई गगन थापालाई भेटाउन मदत गर्नेछ भन्ने विश्वास झल्किन्छ।
त्यस दिन देखी कान्छी आज सम्म रातोपुलबाट आउने जाने गाडीहरु हेर्छिन कतै मलाई सहयोग गर्न सक्ने मन्छे यही गाडीमा त छैनन् भनेर । साँझ परिसकेको थियो, कान्छीसँग बिदाबारी लिएर फर्कन लाग्दा उनले मलाई भनिन,“बाबु मलाई गगन थापाको फोटो ल्याइदिनु“। उनले अहिलेसम्म गगन थापा कस्ता देखिन्छन् भन्ने थाहा पाएकी छैनन्। उनले फोटो पाएमा चिनेर आफ्नो समस्या राख्ने योजना रहेको पनि सुनाईन्।
आज विश्व २१ औ सदिमा हिँडिरहेको छ। चन्द्रमामा पनि मानिस पुगेको दशकौँ भइसक्यो । नेपाल पनि प्रगतिपथमा लम्कदै छ तर कान्छी जस्ताको जीवन अझै अध्यारोमै रुमल्लीरहेको छ ।source:hamrakura.com
Advertisement