हावा हुरी असिनाले टहरा भत्काइदिएपछि भूकम्प पिडितहरुको विचल्ली (भिडियो सहित )
Advertisement

काठमाडौ: बैशाखको भूकम्पले सतल भत्काइदिएपछि बनाएको टहरो काठमाडौं महानगरपालिकाले बुधबार भत्काइदिएपछि त्रिपुरेश्वरस्थित कालमोचनमा बस्दै आएका भूकम्पपीडितको विचल्ली भएको छ।

भूकम्पले सतल भत्काएपछि कालमोचन गुठी परिसरमा टहरो बनाएर पाँच परिवार बस्दै आएका थिए । गुठीकै पदाधिकारीको रोहबरमा बनाइएको टहरो महानगरपालिकाका कर्मचारीले सिडिओको आदेश भन्दै भत्काइदिएपछि भूकम्पपीडित अलपत्र परेका हुन्।



बाँसबाट बनाइएका अस्थायी टहरा केही दिन हेरेर गएका कर्मचारीले ती भूकम्पपीडितलाई गुठीको संरक्षण गर्दै बस्न भनेको केही दिन नबित्दै उनीहरुको उठिबास भएको हो ।

‘सिडिओको आदेशमा  भत्काउन पठाएको भन्दै हामीलाई गाली गरी टहरा भत्काइदिए', भूकम्पपीडित बिन्दु लामाले भनिन्, ‘भत्काउन आदेश दिएको पत्र देखाउन भन्दा मलाई ‘तैँले दिएको फुली हो र तलाईँ प्रमाण देखाउनु' भन्दै गालीसमेत गरे।

सतल भत्केपछि बिचल्लीमा परेका उनीहरु टहरामा बस्दै कोठाको खोजीमा थिए। ‘सतल भत्केपछि घामपानी छल्न बनाएको टहरो भत्काइदिए’, कृष्णमाया भट्टले भनिन्, ‘कोठा खोजिरहेकी छु, काममा पनि जान पाएकी छैन। भरेबाट कहाँ रात बिताउनु ?'


सोही ठाउँमा लक्ष्मी चौधरीले साथीसँग ऋण गरेर बाँस किनी अस्थायी टहरो बनाएकी थिइन्। 'आफूसँग केही थिएन। साथीसँग सापटी लिएर बनाएको बाँसको टहरो पनि भत्काइदिए', उनले भनिन्, ‘घामपानी छल्ने टहरो पापीहरुले भत्काइदिए, अब कहाँ गएर रात बिताउनु ?'

टहरोको बास हुँदा पनि सरकाले राहत नदिएको अर्की भूकम्पपीडित सीता लामाले गुनासो गरिन्। ‘राहत दिनुपर्नेमा उल्टै सरकारले हामीलाई खुल्ला आकाशमुनि पुर्‍यायो', उनले भनिन्, ‘बसेको टहरो पनि भत्काइदिएपछि अब कहाँ जानु ? के गर्नु ?'



Advertisement



प्रतिक्रिया दिनुहोस्...