.भूकम्पपछि गाउँमा लगातार पहिरो, जमिन चिराचिरा
Advertisement

दोलखा: भूकम्प गएको दुई साताभन्दा बढी भइसक्दा पनि खोपाचाँगु गाविस–१ उकुराङमा लगातार पहिरो गइरहेको छ ।

पहिरो लगातार गइरहेका कारण यहाँ बस्दै आएको थामी समुदाय गाउँ फर्किन सकेको छैन । उकुराङमा बस्दै आएका थामी समुदायका १३ परिवार अहिले एक घण्टा टाढाको कालिञ्चोक गाविस–४ स्थित बेगुम्पामा टहरा बनाएर बसिरहेको छ ।

पहिरो आउने क्रम जारी रहेकाले अहिलेकै अवस्थामा उनीहरु गाउँ फर्किन सक्ने अवस्था छैन । गाईबस्तु समेत गाउँमै अलपत्र अवस्थामा छन् ।

“गोठ बनाएर भएपनि बस्ने सोच थियो, पहिरो नै रोकिन्न,” स्थानीय बासिन्दा ६३ वर्षीय भक्त बहादुर थामीले भने । पहिरोको डरले भूकम्प आएदेखि कोही पनि गाउँ जान नसकेको उनले बताए ।

गाईबस्तुको अवस्थाबारे थामी समुदाय अझै बेखबर छ । भूकम्पबाट पुरिएका गाईबस्तु गोठमै छन् । जङ्गलमा चराउन लगिएकाको अवस्था थाहा हुन सकेको छैन ।

“गाउँ पस्न डर लागिरहेको छ, अहिले पनि भीरबाट ठूल्ठूला ढुङ्गा खसिरहेका छन्,” बेगम्पुपारीको आफ्नो गाउँ देखाउँदै मनमाया थामीले भने । अग्लो भीरको काखमा अवस्थित उकुराङ गाउँको ठाउँठाउँमा बस्नै नसकिने गरी पहिरो गएको छ । जमिन चिराचिरा परेको छ । “अब गाउँ फर्किन सक्ने अवस्था छैन, सरकारले सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाई दिनुपर्छ,” उनले भने ।


सदरमुकाम चरिकोटदेखि करिब पाँच घण्टा ग्राभेल सडकको यात्रापछि कालिञ्चोक पुगिन्छ । ग्राभेल सडकबाट छुट्टिएपछि खोपाचाँगुको उकुराङ पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ ।

दुर्गम गाउँको विपन्न थामी समुदाय भूकम्पपछि छिमेकी गाउँ बेगुम्पामा टहरा बनाएर बसिरहेको छ । छिमेकी गाउँकाले पाक्नै लागेको गहुँ काटेर उनीहरुलाई टहरा बनाउन जमिन उपलब्ध गराएका छन् । घरमा पुरिएको अन्न निकालेर ल्याउन नसक्दा भोकभोकै बस्नु परेको उनीहरु बताउँछन् ।

“यहाँ राहत दिन कोही आएका छैनन्, राहत लिन कहाँ जाने हो केही थाहा छैन,” टहरा बनाउँदै गरेका प्रेम थामीले दुःखेसो पोखे ।  पानी पर्न थालेपछि वृद्धवृद्धा र बालबालिका बिचल्लीमा परेको उनले बताए ।

बालबालिका र वृद्धवृद्धामा झाडापखालाको समस्या देखा परेको छ । बेगुम्पा स्वास्थ्य चौकीको भवन समेत भूकम्पका कारण भत्किएपछि बिरामीको उपचार गर्न कठिनाइ भइरहेको स्वास्थ्य सहायक विष्णुप्रसाद ओलीले बताए ।  “औषधि सबै नष्ट भयो, बस्ने खाने ठेगान नहुँदा हामी आफैं पनि बिरामी पर्न थालेका छौँ,” उनले भने ।source annapurna post



Advertisement



प्रतिक्रिया दिनुहोस्...