.भूकम्पका कारण मृत्यु हुनेको संख्या आठ हजार नाघ्यो
Advertisement

काठमाडौं, वैशाख २७ - यही वैशाख १२ गते गएको बिनासकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार २० पुगेको छ । गृह मन्त्रालयका अनुसार घाइते हुनेको संख्या १७ हजार ८ सय ६६ पुगेको छ ।
सिन्धुपाल्चोक जिल्लामा मात्र तीन हजार १ सय ७ जनाको ज्यान गएको छ भने काठमाडौंमा एक हजार २ सय २२ को ज्यान गएको छ । भूकम्पका कारण १० हजार ८ सय ३ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ३४ घर तथा भवन क्षति भएका छन् । नागरिकका दुई लाख ९६ हजार ९ सय ३ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएका छन् ।
यसैबीच सरकारले भूकम्पबाट प्रभावित जिल्लाहरुमा अहिलेसम्म राहतस्वरुप वितरण गर्न सम्बन्धित निकायमा दुई अर्ब ८४ करोड ५४ लाख निकासा गरिसकेको छ । गृह मन्त्रालयले बिनासकारी भूकम्पमा परी ज्यान गुमाउने र घरबारबिहीनको राहतस्वरुप यो रकम निकासा गरिएको जनाएको छ ।
प्रभावित क्षेत्रबाट टेन्ट/त्रिपालको माग अत्यधिक रुपमा भैरहेको उल्लेख गर्दै अहिलेसम्म मित्रराष्ट्र भारतबाट दुई लाख २९ हजार २ सय ९८ थान तथा अन्य मित्रराष्ट्रहरु चीन, थाइल्याण्ड, पाकिस्तान, इण्डोनेसिया, जापान, कोरियालगायतका राष्ट्र र स्थानीय विकास, सहरी विकास मन्त्रालयबाट समेत जम्मा तीन लाख ४० हजार २ सय २१ थान प्राप्त भएको जनाएको छ ।
प्राप्त टेन्ट/त्रिपाल सिन्धुपाल्चोकमा ३८ हजार ७सय २८, रसुवामा १० हजार ५ सय २४, धादिङमा १४ हजार २ सय १७, काभ्रेमा २८ हजार ४ सय १०, नुवाकोटमा २० हजार २ सय १०, सिन्धुलीमा २२ हजार ४ सय ४०, ओखलढुङ्गामा १२ हजार २४, रामेछापमा २६ हजार ९ सय ५६, गोरखामा २९ हजार ९ सय ८७, दोलखामा ३१ हजार ५ सय ५३, मकवानपुरमा १३ हजार ९ सय ९८, काठमाडौंमा ४३ हजार ५ सय ६७, ललितपुरमा २२ हजार ८ सय ४१, भक्तपुरमा २१ हजार ७१, लमजुङमा चारहजार ५ सय ८४ थान पठाइसकिएको छ । 
ती जिल्लाबाहेक अन्य प्रभावित जिल्लाहरुमा स्थानीयस्तरबाट र नेपाल रेडक्रस सोसाइटीसमेतबाट प्राप्त टेन्ट÷त्रिपाल पठाइएको विज्ञप्तिमा जनाइएको छ । पीडितहरु सबैले समानरुपमा राहत प्राप्त गर्न सकुन् भन्ने लक्षित उद्देश्यका साथ राहत वितरणको कार्य भैरहेको छ । रासस



Advertisement



प्रतिक्रिया दिनुहोस्...