नेपाली युवाले बनाए भूकम्प आउँदा १ मिनेट अगाडी जानकारी दिने साइरन
Advertisement
काठमाडौँ, १५ जेठ ।
नेपाली युवा श्री सुब्बाले भूकम्प आउनुभन्दा पहिले नै जानकारी दिने यन्त्र बनाएको गरेको दाबी गरेका छन् ।
घरेलु प्रविधिको प्रयोग गरेर एनालग यन्त्र विकास गरेको उनले बताएका छन् । यन्त्रमा रहेको सेन्सरले न्यूनतम ३ रेक्टरको झट्का महसुस गर्न सक्ने उनको दाबी छ । उनले आफूले निर्माण गरेको यन्त्रको नाम काउन्टर डिभाइस अफ सैतानिक भर्सिस राखेका छन् ।
श्री सुब्बा
उनले रिसर्च बाहेक जम्माजम्मी चार हजार आठ सयमा यो यन्त्र निर्माण गरेको बताए । ‘पृथ्वीको मुनि म्याग्मा भन्ने तरल पदार्थ छ । त्यसको माथिपट्टि जो प्लेट हुन्छ, त्यसलाई म्याग्मा प्लेट भनिन्छ । त्यो प्लेट सर्ने अथवा म्याग्माहरू निस्किने प्रक्रियालाई ज्वालामुखी वा भल्क्यानो भनिन्छ । भल्क्यानो ग्रिक शब्द हो । यसरी ज्वालामुखी विष्फोट हुँदा भूकम्प जाने सम्भावना हुन्छ, नम्बर एक । नम्बर दुई, प्लेटहरू सिफ्ट हुँदा ठूलो हलचल आउँछ र तरंग उत्पन्न हुन्छ । अनि भूकम्प जान्छ । यही भूकम्पबाट हुने मानवीय क्षतिलाई कम गर्न यो उपकरण बनाइएको हो । यसले विशेषगरी बालबालिका, अपांग वृद्धवृद्धा, बिरामीलाई लक्षित गरेको छ ।’
उनले थपे, ‘मैले यो एक्कासि कसरी बनाएँ भन्ने प्रश्न उठ्न सक्छ । म एमेच्योर रिसर्चर हुँ । पैसाका लागि गर्नेलाई प्रोफेसनल भन्छन्, देश र जनताका लागि गर्नेलाई एमेच्योर भन्छन् । यस्तो डिभाइसहरू मैले थुप्रै बनाएको छु । मेरा आठवटा नयाँ आविष्कारहरू प्रतिलिपि अधिकारका लागि नेपाल सरकारको रजिस्ट्रार कार्यालयमा दर्ता छन् । तर, कर्मचारी प्रशासन यति निकम्मा छ कि, न मलाई अहिलेसम्म प्रतिलिपि अधिकार दिएको छ, न यसलाई खारेज नै गरेको छ । यो यन्त्रको पनि प्रतिलिपि अधिकारका लागि निवेदन दिनेछु । म विश्वस्त छु कि, यसले एक सय प्रतिशत काम गर्छ । बरु अझै यसलाई विकसित रूप दिन सकिन्छ ।

Advertisement



