-अब ठूला भूकम्प आउँदैन भन्न सकिन्न : लोकविजय अधिकारी, भूकम्पविद्...
Advertisement

लोकविजय अधिकारी, प्रमुख, राष्ट्रिय भूकम्प मापन केन्द्र
२०७२ जेठ १६ गते

यसपटकको भूकम्पलाई कसरी लिने ?

गत बैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प आफैमा महाभूकम्प थिएन । ७ देखि ८ रेक्टर स्केलको भूकम्पलाई ठूलो र त्यसभन्दा माथिको लाई महाभूकम्प भन्ने गर्छौँ । हामीले १२ गते भन्दा पहिले महाभूकम्प जान्छ भनेर त्यसका तयारीका कुरा गर्दथ्यौँ, त्यसबाट हुने क्षतिका कुरा गर्दथ्यौँ । तर, सोचे अनुसार क्षति भएन । हामीले यस मानेमा आफूलाई भाग्यमानी ठान्न सक्छौँ ।
नेपालमा भूकम्प जहिले पनि जान सक्छ । अहिलेको भूकम्पले अब भूकम्प आउँदैन भनेर भन्न सकिँदैन । अहिलेसम्मको अध्ययन अनुसार निश्चत सयम, स्थान र मानको भूकम्प जान्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था छैन । अहिलेनै जान पनि सक्छ र सयौं बर्ष नजान पनि सक्छ ।
कम क्षति हुनुका कारणहरु के हुन सक्छन् ?
हामीले काठमाडौंमा बढी क्षति हुने अनुमान गरेका थियौँ । भूकम्प गएमा काठमाडौंमा मात्र एक लाख मानिसको मृत्यु हुने डाटा दिएका थियौँ । एक त भूकम्प सानो भयो अर्को कुरा मौसमले गर्दा पनि ठूलो क्षति हुन सकेन । बाहिर त ठूलो क्षति भयो । बैशाख महिनामा भूकम्प गएकाले यो मौसममा पानीको तह पनि कम भएको अवस्था थियो । त्यसमाथि पनि सुख्खा मौसम भएकाले ठूलो क्षति भएन । मानवीय क्षति कम हुनुको कारण भने बिदाको दिनले गर्दा पनि हो । बिदाको दिन भएकाले जमघट हुने ठाउँहरु जस्तैः स्कुल लगायत अन्य ठाउँहरुमा जमघट भएन् । दिउँसोको समय भएकाले पनि तुलनात्मक रुपमा कम क्षति भयो ।

अब भूकम्पको जोखिम टरेको कि सरेको ?

हामीले के सोच्नुपर्छ भने, हामी भूकम्पमा नै बसेका छौँ, भूकम्पसँगै छौँ । नेपालमा भूकम्पको इतिहास हेर्ने हो भने १२५५ मा गएको भूकम्पले तत्कालिन राजा अभय मल्ल मरेका थिए । १३४४ को भूकम्पले अर्का राजा अरि मल्ल मरेका थिए । १९९० को भूकम्पले काठमाडौंमा समेत धेरै ठूलो क्षति पु¥यायो । विक्रम सम्वत १८९० मा गोरखा आसपासलाई नै केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । त्यसले पनि ठूलो क्षति पु¥यायो । पश्चिमतिरको कुरा गर्ने हो भने १५०५ मा पश्चिम नेपालमा ठूलो भूकम्प गएको इतिहास भेटिन्छ । यस्तै भूकम्प गएर नै हाम्रो जस्तो हिमालय मुलुक बनेको हो ।

भूकम्पीय खोजिमको हिसाबले नेपाल विश्वकै ११ औँ नम्बरमा पर्छ । काठमाडौं संसारको राजधानीहरुमध्ये एक नम्बरको भूकम्पीय जोखिमयुक्त हो भनेर हामीले भन्दै आएका छौँ । यसकारण नेपालमा भूकम्प जहिले पनि जान सक्छ । अहिलेको भूकम्पले अब भूकम्प आउँदैन भनेर भन्न सकिँदैन ।

 अहिलेसम्मको अध्ययन अनुसार निश्चत सयम, स्थान र मानको भूकम्प जान्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था छैन । अहिलेनै जान पनि सक्छ र सयौं बर्ष नजान पनि सक्छ । हामीले भूकम्प जान्छ कि जाँदैन भनेर चिन्ता गर्नुभन्दा पनि यो भूकम्पबाट पाठ सिकेर अगाडि बढ्नुपर्दछ । अहिलेको भूकम्पबाट सिकेर आगामी दिनमा भूकम्पबाट बच्ने र क्षति कम गर्ने खालका विकास र निर्माणमा ध्यान दिनुपर्छ ।

यो भूकम्पले के पाठ सिकायो ?

हामीले कुरा चाँहि धेरै ग¥यौं, तर हाम्रो अवस्था के रहेछ भने हामी सबैको अगाडि छर्लङ्ग भएको छ । हामीले भूकम्प सम्बन्धी शिक्षा कसैलाई पनि दिन सकेका रहेनछौँ । उदाहरणका लागि ः ठूलो भूकम्प गएपछि अफ्टर सक जान्छ भन्ने कुरा समेत अवगत बनाएका रहेनछौँ ।

 हामीले अहिलेसम्म के कुरा शेयर गरेछौ त ?


 १९९० मा भूकम्प गयो । यो त्यति लामो समय होइन । त्यतिबेलाका सबै कुराहरु थाहा छन् । तर त्यसबाट हामीले कनै पनि पाठ सिकेका देखिएन । भूकम्पबाट बच्नका लागि टेबुलमुनि, खाटमुनि बस्ने जस्ता सूचनाले काम गरे कि गरेनन् ? यो पनि अहिले बहसको विषय बन्न आएको छ । कुनै ठाउँ विशेषमा भूकम्प जाँदा अपनाएका सावधानीहरुलाई हामीले हुबहु लागू गर्न सक्छौ कि सक्दैनौँ ? यो पनि सोच्नुपर्ने बेला आएको छ । यो भूकम्पले धेरै प्रश्नहरु उब्जाएको छ ।

अब के गर्न सक्छौँ त ?

यो भूकम्पले दिएको जुन पीडा र क्षति छ, त्यो घाउ मेट्नका लागि केही समय लाग्छ । त्यति हुँदाहुँदै पनि प्रत्येक नराम्रो कुराले राम्रो कुराको जन्म गराउन सक्छ । यो भूकम्प सन्ततिका लागि क्षति कम गर्ने अवसर पनि हो । किनकी क्षतिको हिसाबले एकदमै कम छ । निरन्तरको अफ्टरसकले हामी सबै विज्ञ भैसकेका छौँ । अहिलेका भूकम्पबाट पाठ सिकेर यिकै कुरालाई तुरुन्त स्कुलदेखि विश्वविद्यालय शिक्षासम्म लागू गर्न आवश्यक छ ।

तपाईको भूकम्प अनुभव कस्तो रह्यो ?


शनिबारको दिन भएकाले भूकम्प गएको दिन म घरमै थिएँ । आफू सुरक्षित भैसकेपछि, तुरुन्त अफिस आउनुपर्ने अवस्था भएकाले अफिस आइपुगेँ । अफिस आउँदा अरु मेसिनमा कुनै क्षति भएको पाइएन । डाटा प्रोसेसिङ गरेर केन्द्रबिन्दु र म्याग्नेच्युड निकाली गृह मन्त्रालयमा दियौँ ।

 त्यसपछिका दिनमा पनि भूकम्प मापन गर्न सक्षम भयौँ । यसले तुरुन्तै सर्च एण्ड रेस्क्यूको लागि मद्दत गर्छ । हामीले अरुलाई फोनमा घरबाहिर बस्नुहोस भनेर त भन्थ्यौँ तर आफै डराई डराई काम गरिराखेका थियौँ । किनकी हाम्रो अफिस पनि भूकम्प प्रतिरोधी थिएन । भूकम्पपछि निरिक्षण गरी हाम्रो अफिसमा पहेँलो स्टिकरनै टाँसिएको छ ।

अर्को कुरा हाम्रो भूकम्प मापन केन्द्रमा प्रयोग हुने मेसिनहरु संसारकै उच्च स्तरीयमा पर्छ । कुनै पनि मेसिन पुरानो भयो वा बिग्रियो भन्ने पनि छैन । यसपाली हामी धेरै कुराले भाग्यमानी साबित भयौँ ।
स्रोत - दैनिक नेपाल

Advertisement



प्रतिक्रिया दिनुहोस्...