-Exclusive : यही हो अमेरिकी र नेपाली सेनाले नदेखाएको दुर्घटनाग्रस्त हेलिकप्टर
Advertisement
घोर्थली : अमेरिकी सेना र नेपाली सेनासमेतले गोप्य राखेको अमेरिकी सैनिक हेलिकप्टर दुर्घटनाका तस्बिरहरु हामी आज सार्वजनिक गर्दैछौं। वैशाख २९ गते दोलखा केन्द्रबिन्दु बनाएर ६.८ को शक्तिशाली परकम्प लगत्तै जिल्लामा उद्धारका लागि उडेको हेलिकप्टर हराएको थियो।
सिन्धुपाल्चोक जिल्लाको घोर्थली गाविसमा हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनास्थलबाट सिंगटी दक्षिणपूर्वमा पर्छ। हेलिकप्टर सिंगटीबाट घाइते लिएर उडेको थियो। दोलखाको कालिञ्चोक हुँदै विगु र सिंगटी जोड्ने थोरैमात्र चलेको ट्रेकिङ रुटको करिब मध्य भागमा पर्छ दुर्घटनास्थल। कालिञ्चोक हुँदै मूल बाटोबाट विगुतिर जाने रुटको बायाँतिर करिब ५ मिटर तलदेखि नै हेलिकप्टरका टुक्राहरु छरिएका भेटिए।
दुर्घटनास्थलमा हेलिकप्टरको एउटा सग्लो पखेटा एकातिर छ भने बाँकी दुई भाग दुईतिर झरेका छन्। हेलिकप्टरका यी दुई भाग भेटिएको स्थानबाट तलतिर ठूलो पहिरो छ। करिब २ सय मिटर तलसम्म हामीले हेलिकप्टरबाट उछिट्टिएका चोइटाहरु देख्न सक्यौं। चिमाल र पैयुँका रुख र कांगियो घाँस लछार्दै हेलिकप्टर ठाडो चट्टानमा ठोकिएको देखिन्थ्यो। त्यहाँबाट तलतिर झरेर हेलिकप्टर टुक्राटुक्रा भएको थियो। हामीले दुर्घटनास्थलमा सजिलै मानव हड्डी फेला पर्यौं। १५ दिनसम्म पनि घटनास्थल वरिपरि दुर्गन्ध उत्तिकै थियो। हेलिकप्टरका भाग गुजुल्टिएका अवस्थामा थिए।
धेरैजसो जलेका र जल्न नसकेका भागहरु यत्रतत्र। सैनिकका ब्याग, हेलमेटहरु पनि सग्लै उछिट्टिएको अवस्थामा थिए। हेलिकप्टरको एउटा कुर्सी सामान्य क्षति भएको अवस्थामा मात्र भेटियो। हेलिकप्टर चढेकाले लगाउने सिटबेल्ट रुखमा झुण्डिएको देखियो। हेलिकप्टरसँग ठोक्किएका र हेलिकप्टर खसेर जल्दा बुट्यान र रुखहरु नै बलेका छन्। पशुपति आर्यघाटमा शव जलाएपछि फ्याँकिएका आधा जलेका काठका मुडाहरु जस्तो देखिन्छन्, यहाँ पनि त्यस्तै दृष्य देखिए। सैनिकहरु यही जलेका थिए। अाधा जलेका साना मुडाहरु दुर्घटनापछि पनि लामै समय धुवाँइरहेको अनुमान गर्न सकिन्थ्यो।
दुर्घटनास्थल घाम कहिल्यै नलाग्ने ठाउँमा रहेछ। ढुंगामाथि उम्रिएका निंगालो घारीबाहेक फाट्टफुट्ट रुखहरु छन् यहाँ। छिनमै हुस्सु र पानीका छिटाले छोपिहाल्ने भएकाले यहाँको मौसम अनुमान गर्न सजिलो छैन। हेलिकप्टर दुर्घटना भएको चार दिनसम्म पनि फेला नपर्नुमा यही मौसम कारण बन्यो। दुर्घटना भएको ठाउँ भन्दा केही माथि एउटा निगालोमा रातो टालो झुन्ड्याइएको थियो।
हेलिकप्टर दुर्घटना भएको देख्ने गोठालाले सेनालाई जानकारी दिएपछि उनलाई घटनास्थलमा केही संकेत जनाउने वस्तु छाड्न भनेको रहेछ। त्यही रातो टालो पछ्याउँदै सेनाले हेलिकप्टर यही स्थानमा दुर्घटनामा परेको पहिचान गर्न सक्यो। दुर्घटनास्थलभन्दा माथिबाट हेलिकप्टरहरु पटक पटक उडेका भए पनि यो स्थानलाई 'लोकेट' गर्न सकेका थिएनन्।
दुर्घटना स्थलभन्दा १० मिटर माथि रहेको पहाडको टुप्पोले दोलखा र सिन्धुपाल्चोक दुई जिल्ला जोड्छ। मानव बस्तीबाट यहाँ पुग्न कम्तिमा पनि तीन घन्टाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ। वैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित थियो भने २९ गतेको भूकम्पले दोलखा जिल्ला। यी दुवै जिल्लामा उद्धारमा सैनिक परिचालन भएका थिए। अमेरिकी हेलिकप्टर दुर्घटनामा परेपछि उद्धारसँगै नेपाली सेना र अमेरिकी सेनामाथि हेलिकप्टर खोज्नुपर्ने बाध्यता आइलागेको थियो। - स्रोत : नेपाली पोस्ट

Advertisement









