-सोर्ह घण्टापछि कालीगण्डकी नदी थुनिएर बनेको तालबाट पानी बग्न थाल्यो ..
Advertisement
म्याग्दी, जेष्ठ १० । म्याग्दीको बैसरीमा आइतबार राती १ बजेदेखि कालीगण्डकी नदी थुनिएर बनेको तालबाट सोह् घण्टापछि पानी बग्न थालेको छ ।
राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले थुनेको कालीगण्डकीबाट साँझ पाँच बजेदेखि पानी ओभरफ्लो भएर बग्न थालेको हो ।
पहिरो थुप्रिएर बनेको बाँध भरिएर पानी बग्न थालेको जनाइएको छ । पानीले आफै बाटो बनाएर तलतर्फ बग्न थालेको प्रहरी नायव उपरिक्षक हिरा गिरीले बताए ।
पहिरोले कालीगण्डकी नदी थुनिदाँ एक सय मिटर गहिरो तिन किलोमिटर टाढासम्म तलाउ बनेको थियो । तलाउमा करिब तिस लाख घनमिटर पानी जम्मा भएको छ ।
पानी ओभरफ्लो हुन थालेपछि अहिले बेनी बजारका स्थानीयहरु सुरक्षित स्थानतर्फ बसेका छन् ।
पहिरोसंगै वर्षा पनि भइरहेकोले नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव बिष्टको नेतृत्वमा हेलीकप्टर मार्फत घटनास्थल पुगेको प्राबिधिक टोलीले निरन्तर पहिरो खसेकाले थुनिएको ताल खुलाउन नसकिएको जनाएको थियो ।
आइतबार बिहान १ बजेदेखि निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाएर थुनिएको नदी खुलाउन समस्या भएको प्राविधिकहरुले बताएका थिए ।
कालीगण्डकी थुनिदाँ प्रतिघण्टा दुई लाख धनमिटर पानी जम्मा भएर करिव ४ किलोमिटर माथिसम्म डुवान गराएको निर्देशनालयका प्रमुख सहायक रथी बिष्टले बताए । करिब पाँच सय मिटर माथिबाट खसेको पहिरो बैसरीमा करिब दुई सय मिटर क्षेत्रमा थुप्रिएको छ ।
घटनास्थलमा नेपाली सेनाको बिकास निर्माण निर्देशनालयका प्रमुख बिष्ट, नेपाल प्रहरीका एसएसपी सुवास चौधरी, हाईड्रोलोजेष्टि सुरेश मरहठ्ठा, जल तथा मौसम विज्ञान महाशाखाका विज्ञ बिनोद पराजुलीको प्राबिधिक टोलीले अध्ययन गरेको थियो ।
पहिरोले कारण भगवती गाविस–२ बैसरी र राम्चे–९ औलका २९ घर पुरिंदा करिब तीन करोडको क्षती भएको छ । पहिरोका कारण बेनी जोमसोम सडक अन्तरगत पर्ने करिब दुई किलोमिटर बेनी जोमसोम सडकमा क्षति पुगेको छ भने बैसरीमा रहेका दुई वटा झोलुङ्गे पुल पनि भत्किएका छन् ।
पहिरोका कारण ३० मेघावाट क्षमताको तातोपानी जलविद्युत आयोजनाको टर्वाइनमा सामान्य क्षति पुगेको छ भने देशकै ठूलो मध्येको कालीगण्डकी ए जलविद्युत आयोजनालाई क्षति नपुगोस भनेर त्यहाँ पनि सतर्क वनाइसकिएको अधिकारीहरुले जनाएका छन् ।
बेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, रातोपानी, पोखरेबगर, भुरुङ तातोपानीका बासिन्दा सुरक्षित ठाउँमा गइसकेका छन् ।
तटीय क्षेत्रमा तलाउ एक्कासी फुट्दा आउन सक्ने बाढीको सम्भावीत जोखिम न्युनीकरण गर्न पिप्लेको घुमाउनेताल, गलेश्वर, म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वत बेनी, पर्वत बगरका बासिन्दाहरुलाई सुरक्षित स्थानमा पठाइसकेको प्रहरीले जनाएको छ । जिल्ला कारागारका ९९ जना कैदीबन्दीहरुलाई जिविसमा सारिएको छ ।

Advertisement



