.भूकम्प पीडितलाई टेलिकमको २७ करोड सहयोग
Advertisement

काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले रु २७ करोड एक लाख ५७ हजार हस्तान्तरण गरेको छ।


प्रधानमन्त्री सुशील कोइरालालाई आज बालुवाटारमा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

टेलिकमले कम्पनीका तर्फबाट रु २५ करोड, कम्पनीमा कार्यरत कर्मचारीको तलबबाट कट्टी गरिएको रु दुई करोड ७५ हजार ४७४ र ९६ पैसा र सञ्चालक समितिका पदाधिकारीको तीनवटा बैठक भत्ता बराबरको रु ८१ हजार ६०० गरी रु २७ करोड एक लाख ५७ हजारको चेक हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए।

टेलिकमले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका काठमाडौँको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौँको स्वयम्भूनाथ, ललितपुर र भक्तपुरको दरबार स्क्वायर एवम् भूकम्पबाट अतिप्रभावित क्षेत्रका सामुदायिक विद्यालयको पुनःनिर्माणका लागि रु एक अर्ब खर्च गर्ने प्रबन्ध निर्देशक आचार्यले बताए ।

यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पनि कोषमा जम्मा हुने गरी प्रधानमन्त्री कोइरालालाई रु पाँच करोडको चेक हस्तान्तरण गरेका थिए।

एसियन डिस्टीलरीका अध्यक्ष विजय साहले रु एक करोड पाँच लाखको चेक कोषमा जम्मा गर्न प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए। source:annapurna post

Advertisement



प्रतिक्रिया दिनुहोस्...