सदस्यसचिव लामाको भव्य बिदाइ
Advertisement

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामालाई बिहीबार भव्य बिदाइ गरिएको छ।


राखेपमा पछिल्लो समय कुनै पनि सदस्यसचिवले आफ्नो कार्यकाल सकेर बिदाइ हुने बेलामा पाएको यो सबैभन्दा ठूलो सम्मान र बिदाइ हो।

 चार वर्षअघि एमाओवादीको सिफारिसमा राखेपको सदस्यसचिव बनेका लामाको कार्यकाल बिहीबारदेखि नै सकिएको हो।

लामाकै सक्रियतामा नवनिर्मित सेमिकर्भडहलमा आयोजित बिदाइ समारोहमा राखेपमा आबद्ध खेलकुद संघका पदाधिकारी, कर्मचारी, खेलाडी, प्रशिक्षकलगायत खेलप्रेमीको उल्लेख्य उपस्थिति थियो।

राखेपसँग पानी बाराबारको जस्तै सम्बन्ध रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक किमिटीका पदाधिकारीसमेत लामाको बिदाइ कार्यक्रममा उपस्थित थिए।

ओलम्पिकका कोषाध्यक्ष छिमी उर्गेनलगायत अन्य सदस्यले लामालाई अंकमाल गरेको दृश्य रोचक देखिन्थ्यो। पछिल्लो समय विवादमा होमिएको नेपाल क्रिकेट संघका पदाधिकारी भने लामाको बिदाइ कार्यक्रममा देखिएनन्।

अपराह्न ३ बजेदेखि सुरु भएको लामालगायत ६ जना पदाधिकारीको बिदाइ र सम्मानका लागि राखेप परिसरमा ठूलो भीड लागेको थियो। हातमा मायाको चिनो, उपहार, फूलको गुच्छा र खादासहित लाइन लाग्ने समर्थक देख्दा लामाले खेलकुदमा ठूलै प्रभाव जमाएको आभास हुन्थ्यो।

राखेपबाट औपचारिक बिदाइ भएका लामाले आगामी दिनमा एमाओवादीले दिएको जिम्मेवारी पूरा गर्ने र खेलकुदमै आधारित फिल्म निर्माण गर्ने बताएका छन्।
लामा आफैं घोडचढी संघको अध्यक्ष र पर्वतीय खेलकुद महासंघको अध्यक्ष रहेकोले आगामी दिनमा पनि उनको खेलकुदमा सक्रिय भने रहने देखिन्छ।

लामासँगै चारवर्षे पदावधि सकिएका राखेपका कोषाध्यक्ष इन्द्रबहादुर थिङ, सदस्यहरू मुकुन्दबहादुर पहारी, पहलसिंह घर्तीमगर, कुसुमकुमारी श्रेष्ठ र नम्बर शेर्पाको पनि बिदाइ गरिएको थियो।

लामाकै सिफारिसमा राखेपको सदस्य नियुक्ति भएका देवकुमार लामाले पदावधि नसकिए पनि उनले सदस्यसचिवसँगै राखेप छाड्ने निर्णय गरेका छन्। सदस्य लामाको पनि सोही अवसरमा बिदाइ र सम्मान गरिएको थियो।

लामाको बिदाइ अघिदेखि नै राखेपको नयाँ सदस्यसचिवका लागि पनि दौडधुप सुरु भइसकेको छ। खासगरी नयाँ सदस्यसचिवका लागि युवा तथा खेलकुद मन्त्रालय पाएको पार्टीको प्रभाव रहने भएकोले एमालेभित्र कसलाई खेलकुदमा पठाउने भन्ने रस्साकस्सी चलेको छ।

राखेपको सदस्यसचिवका लागि एमालेबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्वअध्यक्ष हिक्मत कार्कीको नाम चर्चामा आएको छ।

सदस्यसचिवको दौडमा हाल राखेपका उपाध्यक्ष रहेका टेन्डी शेर्पा, पुरेन्द्रविक्रम लाखे, पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राखेपका पूर्वक्षेत्रीय अध्यक्ष केशव विष्ट, पूर्वसदस्यसचिव केशव स्थापितलगायतको नाम पनि चर्चामा छ।
source annapurnapost

Advertisement



प्रतिक्रिया दिनुहोस्...