सन्तानको भविष्य खोज्दै परदेशिने अामाहरूको कथा
Advertisement
सानी छँदा पीडा के हो? दु:ख र अभाव के हो? अरू बालबािलका झैं मलाई पनि अनुभव भएन। बा–आमाले कहिल्यै पीडाको महशुससम्म हुन दिनुभएन, आफूले दुःख गरेर भएपनि साँझ–बिहान एक पेट के खाउँ भन्ने अवस्था आउन दिनु भएन। दुःखजेलो गरेर पढाउनुभयो। म ठूली भइसके पनि निर्दोष बच्चा जस्तै चाहिएका कुरा बुवा आमासँग माग्थें। मागेको कुरा नपाउँदा रोइदिन्थें। म धेरै नै जिद्दी पाराकी थिएँ।
जब जिन्दगीको अर्थ बुझ्ने भएँ, आजसम्म म जबरजस्ती बाहेक दिल खोलेर खुसी हुन सके जस्तो लाग्दैन। अभाव र जिम्मेवारीले मेरो साथ कैहिल्यै छोडेन, तर सबैभन्दा बढी जिम्मेवारीबोध मैले आमा बनेपछि आमाले गर्नुपर्दो रहेछ भन्ने कुरा बुझें। जसरी मेरो आमाले मप्रति गर्नुभएको थियो, उहाँले मेरा प्रत्येक आवश्यकता र चाहनालाई खुसीसाथ अथाह ममता लुटाउँदै पूर्ति गर्न हरबखत प्रयत्नशील रह्नुहुन्थ्यो।
आमाले मप्रति गर्नुभएको त्याग, माया, ममता र मेरो आवश्यकतालाई हाँसी हाँसी कुन तरिकाबाट र कति सहज तरिकाले पूरा गर्दिने गर्नु भएको थियो भन्ने कुरा बल्ल बुझ्न थालेकी छु, किनकि आज म पनि मेरो आमाको ठाउँमा छु। म पनि आमा बनेको छु।
तर म मेरी आमाजस्तो महान हुन सकिनँ, मेरी आमाले जस्तै ठूली नभइञ्जेल आफ्ना नानीहरुलाई साथमा राखेर उनीहरुका आवश्यकता पूरा गर्न सकिनँ। म बेग्लै तरिकाबाट सन्तानप्रतिको आवश्यकता पूरा गर्दै छु।
मेरी आमाले म ठूली भएपछि मात्र आफूबाट टाढा हुन दिनुभयो। १५ वर्ष पुगेपछि मात्रै म आमा–बुवाबाट टाढिएँ।
तर जब म आमा भएँ, जब मेरा कलिला नानीहरुलाई आमाको ममताको आवश्यकता भएको बेला उनीहरुलाई छोडेर परदेश लाग्नुपर्ने बाध्यता आइदियो। जन्मभूमिमा रही सन्तानप्रति आर्थिक अभावको कारणले आफ्नै हातले उनीहरुको पालनपोषणसम्म गर्न सकिनँ। मेरो यो बाध्यताको पछाडि बेरोजगारी नै थियो। मैले आफ्नो मनलाई कठोर ढुंगाजस्तै बनाएर परदेश जाने निर्णय गर्दा कैयौं दिनसम्म मेरो आँखामा अश्रुधारा रोकिएको थिएन। धेरै रात अनिंदो मै बिते।हरेक बिहान भिजेको सिरानीसँगै उठ्थें।
अनन्तः भिसा लागेपछि अनिश्चितकालको लागि आफ्नै मुटुको टुक्रा आफ्ना नानुहरुबाट टाढा रहँदै विदेश पलायन हुन बाध्य भएँ। विदेश आउने पैसा पासपोर्ट बनाउनेदेखि सम्पूर्ण खर्च जोड्दा धेरै नै रकम भएको थियो। यहाँ आएपछि मैले ठीकैको काम पाएँ। पारिश्रमिक थोरै भएपनि काम ठीकैको थियो। यहाँ महिलाको अधिकारमाथि कसैले हनन गर्ने दुस्साहस गर्न सक्दैन, सुरक्षित वातावरणमा दु:खसुख गरी आफ्नो कामलाई निरन्तरता दिएँ। विस्तारै ऋण तिरें। नानुहरुलाई पनि राम्रो स्कूलमा होस्टेलमा भर्ना गरिदिएँ।
मेरा नानुहरु मभन्दा धेरै असल छन्। पढाइलाई निरन्तरता दिँदै म बिना जिउन सिकिसकेका छन्। मैले जस्तै आफ्नो मनमा अनेकौं पीडा, आमाको न्यानो काखको चाहनालाई मनमा दबाएर उनीहरु पनि बलियो भएको देखाउन थालेका छन्। म बिना जिउन सिकिसकेका छन्। मलाई कुनै किसिमको पीडा होस् भन्ने उनीहरू कहिल्यै पनि चाहँदैनन्। परिस्थितिलाई मध्ये नजर गर्दै मेरा नाननुहरु एकदमै असल बनेका छन्, विवशतालाई बुझ्न सक्ने भएका छन्। उनीहरुले मलाई सम्झाउँछन् तर मेरो मनमा खिन्नता भरिरहेको हुन्छ।
सानो हुँदा दूध खाँदै गरेको बच्चालाई छोडेर परदेश लागेको दिन, उनीहरुलाई मेरो आवश्यता पर्दा म उनीहरुको साथमा नहुँदा, मेरी आमाले जस्तै कपाल कोरी झोलामा टिफिन राखी स्कुल पठाउन नपाउँदा, बिरामी भएको बेलामा उनिहरुको हेरचाह गर्न नपाउँदा, आत्मा झन बिचलित बन्छ, छटपटिन्छ मन, अनि एक्लै रुन्छ र चार दिवार भित्र आफै शान्त बन्छ।
आफ्नै मनले आफैंलाई सम्झाउँदै, नेपालमा नै भएको भए जुन स्तरमा तेरो छोरीहरु पढेका छन् त्यो स्तरमा अवश्य पढ्न पाउने थिएनन्। आर्थिक समस्याले पिरोलिरहने थियो। झन बिहान अर्काको दुःख गरेर खान पर्ने अवस्था आउने थियो सोच्दै मन बुझाउँछु। हो मैले दुःख गरेर पनि मेरो सन्तानले सुख पाएका छन्, मैले पढ्न नपाए पनि भोलि मेरो सन्तानले राम्रो शिक्षा लिने छन्।
हुन त आफ्नो सन्तानको भविष्य खोज्दै विदेश पलयान भएको आमा म मात्रै होइन, हामी नेपालीको बध्यता नै रहेको छ। देशमा रोजगारी एवं काम गर्ने शान्तिपूर्ण वातावरण नहुँदा, महिलामाथिको हेर्ने दृष्टिकोण, हेपाहा प्रवृत्तिजस्ता अनेकौं समस्याका कारण मजस्ता हजारौं आमाहरु आज आफ्ना मुटु अर्थात् सन्तानलाई कलिलै उमेरमा छोडेर उनीहरुको खुसी र उज्जवल भविष्यकोलागि भन्दै विदेशी भूमिमा संघर्ष गर्न बाध्य छौं।
सबैजनाको चाहना पक्कै पनि आफुले पाए जस्तो दुःख मेरो सन्ततिलाई नहोस भन्ने नै हो। हामीहरु विदेशी भूमिमा कोमल मनलाई कठोर ढुंगा जस्तै बनाएर हाँसीहाँसी सहेका छौं आफ्नै सन्तानको लागि। हामी आमाहरु अर्काको देशमा पैसाको लागि आफ्नै मुटुबाट टाढा रही अझैं मानौ मुटु बिना जस्तै रही उनीहरूको उज्वल भविष्यको खोजिमा कहिलेसम्म भौतारिनुपर्ने हो, थाहा छैन।
देशमा शान्तिपूर्ण वातावरण नरहुञ्जेल म जस्तै हजारौं आमाले आमाको कर्तव्यबाट बञ्चित रहनुपर्ने छ, आमा बन्नुको कर्तव्य केवल उनीहरूको आवश्यकता पुरा गर्दिनु मात्रै हो जस्तो लाग्दैन तर बुझेर पनि देशको अवस्थाले गर्दा पाइलाहरु विदेशी भूमिमा रोकिएका छन्।
त्यसै त देशको अवस्था कमजोर, त्यसमाथि बारम्बार आउने विपत्तिको कारण झन कमजोर बनाइरहेको छ देशलाई। एउटी आमा भएर मलाई जति माया आफ्ना सन्तानको लाग्छ, त्यति नै आफू एउटा देशकी छोरी भएको नाताले देशप्रति पनि लाग्छ। तर म लाचार छु, न त मैले आमा भएर आफ्नो सन्तानप्रतिको कर्तव्य निर्वाह गर्न पाएँ न त देशको सन्तान भएर नै। तैपनि जिन्दगी र समयले जस्तो स्थानमा उभ्याउँछ हामीले त्यसैलाई स्वीकार गर्नुपर्दो रहेछ। अर्काको देशमा दासी बनेर भए पनि आफ्नो सन्तानको लागि थोरै नै सहि तर केहि गरेका छौं, जे गरेका छौ राम्रो गरेका छौं। source taja khabar
Advertisement