पारस छोराछोरीसँग सेल्फीमा मख्ख : भूकम्पले खुलायो निर्मल निवासको ढोका
Advertisement

काठमाडौं, असार ६ – वैशाख १२ गतेको भूकम्पले धेरैलाई बेहाल बनायो । तर पूर्व युवराज पारस शाहको लागि भने त्यो भूकम्प परिवारसँग सम्बन्ध बढाउने राम्रो अवसर भयो । त्योदिन भूकम्प नगएको भए शायद उहाँ अहिलेसम्म निर्मल निवासमा सहजै प्रवेश गर्न पाउनुहुन्नथियो । भूकम्पले उहाँलाई निर्मल निवासको ढोका खोलिदियो ।

‘भूकम्पपछि घरपरिवार र आफन्तलाई के भयो भन्ने सबैलाई चिन्ता हुने नै भयो, त्यसैले भूकम्प लगत्तै उहाँ निर्मल निवास पुग्नुभयो, हालखबर बुझ्नुभयो र अहिले पनि बेलाबेला निर्मल निवास गैरहनुहुन्छ’ पारसका एक सहयोगीले उज्यालो अनलाइनसँग भने । चारवर्ष बैंकक बसेर चैतको तेस्रो हप्ता स्वदेश फर्किएका पारसले त्योबेला निर्मल निवास जान पाउनुभएन । स्वागतको लागि विमानस्थल समेत नगएका परिवारले उहाँलाई निर्मल निवास नआउन भने । त्यसपछि उहाँ काठमाडौं महाराजगञ्जको चप्पल कारखाना नजिकै रहेको कुण्डलिनी फिटनेश सेन्टरमा बस्न थाल्नुभयो । धीरेन्द्र शाहकी छोरी शिताष्मा र अरु सहयोगीले उहाँलाई साथ दिए ।
विगतको गतिविधि, थाईल्याण्डमा लागू औषधको कारोबार र थुना, थाई प्रेमिकासँगको सम्बन्ध र स्वास्थ्यको कारण पनि पारसले परिवारको साथ नपाउनुभएको हो । तत्काल परिवारको साथ नपाएपनिसबैको मन जित्ने प्रयासमा रहेका पारसले यसबीचमा आफूलाई सुधार्ने धेरै प्रयास गर्नुभएको सहयोगीको भनाई छ ।
‘छोराछोरी त पहिलेदेखि नै झुम्मिन्थे, अरुसँग पनि अहिले राम्रो सम्बन्ध हुन थालेको छ’ ती सहयोगीले भने, ‘निर्मल निवास गैरहनेपनि उहाँको बसोबास भने अहिले पनि कुण्डलिनी क्लवमै छ ।’ बेलाबेला छोराछोरीसँग भेट गरिरहने पारसले आइतबार आफ्नो फेसबुकमा तस्विर समेत अपलोड गर्नुभएको छ । छोराछोरीसँग सेल्फीमा मख्ख देखिएका पारस पहिले भन्दा हँसिलो र मोटाएको देखिन्छ । ‘पहिले भन्दा उहाँ धेरै चेन्ज भैसक्नुभयो’ ती सहयोगीले भने ।
छोराछोरीसँग सम्बन्ध राम्रो भएपनि पत्नी हिमानीसँग भने उहाँको सम्बन्ध अझै राम्रो छैन । निर्मल निवासको ओहोरदोहोर बाक्लो भएपनि पूर्व राजा र रानीसँग पनि सम्बन्ध त्यति सुध्रिसकेको छैन ।
बा आमा र श्रीमतीसँग खटपट भएकै कारण चार वर्षअघि पारस बैंकक जानुभएको हो । त्यहाँ उहाँ थाई प्रेमिकासित बसेको चर्चा चलेपछि पूर्व राजपरिवार झनै असन्तुष्ट भएको थियो ।source ujyaaloonline.

Advertisement



प्रतिक्रिया दिनुहोस्...