-नवविवाहित जोडी छुट्टिन थाले : मलमासमा के गर्न हुन्छ, के गर्न हुँदैन ?जानी राखौ ....
Advertisement
काठमाडौं, असार १ – बुधबारदेखि मलमास अर्थात अधिकमास सुरु हुँदैछ । मलमासमा काजकर्म गर्न नहुने मात्र होइन, नवविवाहित जोडी सँगै बस्न नहुने धार्मिक मान्यता छ । त्यसैले वैशाख, जेठमा विवाह गरेका धेरै जोडी छुट्टिने तरखरमा छन् । ‘बुधबारदेखि मलमास सुरु हुने भएकाले यस्ता नवविवाहिता जोडी मंगलबारदेखि नै छुट्टिए राम्रो हुन्छ’ ज्योतिषी माधव पाण्डेले उज्याले अनलाइनसँग भन्नुभयो ।
ज्योतिषीहरुका अनुसार भर्खरै विवाह गरेका जोडी मलमासमा सँगै बस्दा अशुभ हुन्छ भने योबेला गर्भधारण भएर जन्मिएका बच्चा पनि अस्वस्थ हुन्छन् । मलमासमा अरु के कस्ता काज गर्न हुँदैन त ? ‘जुन काजकर्म तत्काल नगर्दा नि हुन्छ अर्थात विकल्प छ, त्यो सबै अहिले गर्न हुँदैन’ ज्योतिषी पाण्डेले भन्नुभयो ।
उहाँका अनुसार मलमासमा बच्चाको न्वारन, भात खुवाई तथा किरिया गर्न हुन्छ । यसबाहेक रुद्री, पाठ, पुराण लगायतका कुनै पनि काजकर्म गर्न हुँदैन । असारभरी मलमास पर्ने भएकाले योबेला काजकर्म सबै रोक्नुपर्ने पाण्डेले बताउनुभयो ।
चन्द्रमासमा सूर्य सङ्क्रान्ति नपरेमा अधिकमास पर्दछ । शास्त्रीय पक्षअनुसार एक सौरमासमा ३६५ दिन ६ घन्टा हुन्छ भने एक चन्द्रमासमा ३५४ दिन नौ घन्टा हुने गर्दछ । सौरमास र चन्द्रमासमा समीकरण मिलाउन अधिकमासको रचना गरिएको हो ।
दुईवटा औँशी तिथि एकै महिनामा परेका बेलामा मलका रूपमा अधिकमास आउने भएकाले यसलाई मलमास पनि भनिएको हो । अधिकमासलाई पुरुषोत्तम भगवानका रूपमा पुज्ने गरिन्छ ।
Advertisement