नक्साल्बाद गुरिल्ला थिए मिथुन र श्रीदेवीसँग लुकीछिपी विवाह गरेका थिए मिथुनले...
Advertisement

डिस्को डान्सर नामबाट चर्चित भारतीय चलचित्र अभिनेता मिथुन चक्रवर्ती मंगलबार ६५ वर्षका भए । सन् १९५० जुन १६ मा कोलकातामा जन्मेका मिथुनको वास्तविक नाम गौरांग चक्रवर्ती हो ।

हिन्दी, बंगाली, उडिसा, भोजपुरी, तेलगु र पन्जाबी गरी तीन सय ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका मिथुनले तीनपटक राष्ट्रिय फिल्म पुरस्कार पनि जितिसकेका छन् । उनले आफ्नो पहिलो चलचित्र मृगयाबाटै राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए । तर, सन् १९८० देखि भारतीय सिनेमा क्षेत्रमा रजाइँ गर्दै आएका मिथुन भारतीय चलचित्रमा आउनुअघि नक्सलाइट (हालको भारतीय माओवादी) का गुरिल्ला थिए भन्ने थाहा पाउनुभयो भने आश्चर्य लाग्न सक्छ । तर, जब उनका एक मात्र भाइको करेन्ट लागेर मृत्यु भयो, सरकारी दमन झेलिरहेका मिथुनले नक्सलाइट आन्दोलन छोडे । नक्सलाइटजस्तो हिंसात्मक आन्दोलनमा संलग्न भए पनि बलिउड क्षेत्रमा सफलता हासिल गर्ने उनी सम्भवत: एक मात्र अभिनेता हुन् । कोलकाता छोडेर बलिउड पुग्नुअघि मिथुनले पुणे फिल्म संस्थानबाट अभिनयको अध्ययन गरेका थिए । कोलकाताको चर्चित स्कटिस चर्च कलेजबाट केमेस्ट्रीमा स्नातक गरेका मिथुनले सन् १९७६ मा बंगाली मूलका मृणाल सेनद्वारा निर्देशित फिल्म मृगयाबाट आफ्नो फिल्मी करिअर सुरु गरे । सन् १९८२ मा रिलिज भएको उनको चलचित्र ‘डिस्को डान्सर’बाट त मिथुन बलिउडका स्टार नै भए । चलचित्रमा जिम्मी नामक डिस्को डान्सर पात्रका रूपमा उनको अभिनय रहेको थियो । त्यसपछि उनको परिचय नै ‘डिस्को डान्सर’ भयो । हालसम्म पनि भारतीय चलचित्र क्षेत्रमा सबैभन्दा राम्रो नृत्य गर्नेमा मिथुनको नाम आउँछ । भारतीय चलचित्र क्षेत्रमा कुनै आफन्त नभए पनि तीव्र रूपमा प्रगति गरी लामो समयसम्म टिकिरहने कलाकारका रूपमा पनि मिथुनको नाम अग्रपंक्तिमा आउँछ । समीक्षक उनको सफलता मिहिनेतको परिणामस्वरूप आएको बताउँछन् । अभिनय र नृत्यमा पोख्त मिथुनले मार्सल आर्टमा ब्ल्याकबेल्ट हासिल गरेका छन् । व्यावसायिक पाटोमा खुबै सफलता हासिल गरे पनि व्यक्तिगत जीवनमा मिथुन पनि विवादास्पद रहे । सन् १९७० मा हेलेना ल्युक नामकी मोडलसँग विवाह गरेका मिथुनको वैवाहिक जीवन लामो समयसम्म चलेन । केही समयमै उनीहरूको सम्बन्धविच्छेद भयो । त्यसपछि उनले भारतीय अभिनेत्री योगिता बालीसँग विवाह गरे । तर, योगितासँग विवाह गरेपछि उनले अर्की चर्चित अभिनेत्री श्रीदेवीसँग लुकीछिपी विवाह गरे । तर, योगितासँग सम्बन्धविच्छेद नभएको थाहा पाएपछि श्रीदेवी नै मिथुनबाट टाढा भइन् । राजनीतिमा पनि छिरेका मिथुन हाल तृणमूल कंग्रेसबाट राज्यसभा सदस्य छन् । मिथुनका तीन छोरा र एक छोरी छन् । उनका जेठा छोरा मिमो पनि चलचित्र क्षेत्रमा छन् । मिथुनले डिस्को डान्सरमा निर्वाह गरेको भूमिका ‘जिम्मी’लाई लिएर ‘जिम्मी झिङच्याक’ नामको कमिक पुस्तक पनि बनेको छ । source:nayapatrica

Advertisement



प्रतिक्रिया दिनुहोस्...