मुम्बईमा विषाक्त मदिराका कारण मर्नेको सङ्ख्या ७४, मर्नेको संख्या अझै बढ्न सक्ने
Advertisement
५ असार, मुम्बई ।
भारतमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी मर्ने व्यक्तिको सङ्ख्या शनिबार ७४ पुगेको मुम्बई प्रहरीले जानकारी दिएको छ ।
उनले यसरी मर्ने व्यक्तिको सङ्ख्या ७४ पुगेको तथा २१ व्यक्तिको अस्पतालमा उपचार भइरहेको बताए । उनले मर्नेको सङ्ख्या अझै बढ्नसक्ने उल्लेख गरे ।
गैरकानुनी रूपमा उत्पादन भएका मदिरा सेवन गरेर बुधबारदेखि मानिसहरू बिरामी पर्न थालेका हुन् । शनिबार पनि यस्ता विरामी अस्पतालमा भर्ना भइरहेको प्रहरी उपआयुक्तले बताए ।
नगरको उत्तरी भागमा अवस्थित मालाड वेस्टमा रहेको गरिब वस्तीमा यस्ता मदिरा बिक्री गरेको भनी पाँच व्यक्तिलाई पक्राउ गरिएको छ ।
आफ्नो क्षेत्रमा यस प्रकारको मदिरा बिक्री गर्न दिएको र लापर्वाही गरेको भनी आठ प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिइएको छ ।ती मदिरामा अधिक मात्रामा मेथानल रहेको छ कि छैन भनी अनुसन्धान भइरहेको छ ।सन् २००४ मा पनि मुम्बईमा यस्तै प्रकारको घटना भएको थियो र त्यस समयमा करिब १०० व्यक्तिको मृत्यु भएको बताइएको छ ।
जनवरी महिनामा उत्तर प्रदेशको लखनऊ नगरमा यस्तै गैरकानुनी रूपमा उत्पादन भएको मदिरा सेवन गरी ३१ व्यक्तिको मृत्यु भएको थियो ।सन् २०१३ को अक्टोबरमा उत्तर प्रदेशमा यस्तै मदिरा सेवन गरी तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएपछि प्रहरीले १२ व्यक्तिलाई पक्राउ गरेको थियो ।
सन् २०११ मा पश्चिम बङ्गालमा यस्तै मदिरा सेवन गरी १७० व्यक्तिको मृत्यु भएको थियो । रासस/
Advertisement