गलत नियतले मैले समातेको होइन ! रमाइलो गरेको हु गल्ती भए क्षमा चाहन्छु: कृषिमन्त्री पराजुली (अन्तरवार्ता)
Advertisement

मुलपानीको रोपाईं त रमाइलै भएछ हैन ?
धान दिवसको अवसरमा कृषि विकास मन्त्रायललाई अविभावक मानेर बोलाएका थिए। म जम्मा सात मिनेटमात्र त्यहाँ बसेँ होला। मन्त्रालयका सचिव, डिजीलगायत धेरै जना त्यहाँ हुनुहुन्थ्यो। रोपाइँमा करिब ३ हजार महिला सहभागी थिए। अब त्यहाँ मिडियाले मन्त्रीले धान रोप्ने मिसिन पनि स्टार्ट गर्न जानेनन् भनेछन्। धान रोप्ने मिसिन तानेर स्टार्ट गर्ने हो तीन पल्ट तान्दा पनि स्टार्ट भएन। बल्ल मिसिन चल्यो त्यसपछि मन्त्रीले धानको गाभा हाल्नुपर्छ भनेपछि महिलाले धान रोपेको ठाउँमा मैले धान रोपेँ।

तर त्यहाँको फोटो हेर्दा अहिले भने जस्तो भद्र देखिँदैन। तपाइँले महिलामाथि जर्बस्ती गर्न खोजेको प्रस्ट फोटो, भिडियो आएका छन्?
कसरी जबर्जस्ती हुन्छ ? मेरो कुरा सुन्नुस्। एक जना महिलाले एक डोको बिऊ लिएर आएर यति त रोप्नुपर्छ मन्त्रीज्यू फोटो पनि खिच्नुपर्छ भन्नुभयो। यति बिऊ पनि रोपौं भनेपछि मलाई महिलाहरुले पूरै हिलोमा पुरे। यताबाट पनि हिलोले हान्ने उताबाट पनि हान्ने भयो। तर ती फोटाहरु कसैले खिचेनन्। तर जब म भागेँ। भाग्दा एक जना पुरुषमाथि लड्न पुगेँछु। अनि त्यहीँ आलीमा बस्नेले पनि हान्न थाले। त्यसपछि म भाग्दै बाहिर गएँ। आलीमा बसेर हिलो हान्न पाइँदैन हिलो हान्ने भए खेतमा जाऔं भने। दिदी गए मात्र जानेँ भने। मैले पनि अघि हिलो हान्ने तपाइँ पनि हो। हिड्नोस हिलो खेलौं। तपाइले पनि हान्ने मैले पनि हान्ने हो भने। उहाँ जान मान्नु भएन। मैले होइन जाउँ जाउँ भनेको मात्र हो। मेरो भन्दा बढी उमेरमा बढी पनि हुनुहुन्छ। उहाँ म भन्दा अग्लो पनि हुनुहुन्छ। मैले कृपया तपाइँ उभिदिनुसमात्र अनि अरु आउँछन भनेर उहाँलाई अनुरोध मात्र गरेको हो।

भिडियो हेर्दा त त्यसरी सम्मानजनक रुपले भनेजस्तो कहीँ कतै देखिँदैन?
किन छैन बिल्कुल छ। दुई जना महिलालाई तपाइँ जानुपर्छ भनेर पाखुरामा पनि समाइयो होला। दुई जना महिला भागेर जानुभयो। अनि मैले किन भागेको हिलो पनि हान्ने अनि भाग्ने पनि भनेर उहाँलाई बोलाएर लिएर आएँ। सबै आएपछि हिलो पनि खेलियो सबैको संयुक्त फोटो पनि खिचियो। त्यसपछि पनि मलाई हिलो हान्न नछोडेपछि म भागेँ। भाग्नेक्रमम अलि पर पुगेपछि एक जना दिदी त त्यही हिलो खेलेको हेरेर बसिरहनु भएको रहेछ। अनि मैले तपाइँ हिलो हान्ने अनि भाग्ने भनेर हिलो लगाउनुपर्छ भनेर उहाँलाई पनि हिलो लगाइ दिँए। मैले अरु केहीलाई पनि हिलो लगाइदिएँ। मलाइ पनि लगाइ दिए। त्यही बेलामा एक जना बैनी हिलो नलगाइ बसेकी रहिछन्। उनलाई मैले हिलो लगाउन खोज्दा नाइँ भनिन्। मैले मलाइ चिन्नु भएन भनेँ। उनले चिनिन भनिन्। त्यही फोटो खिचेको रहेछ।

तपाइँको घरमा पनि आमा दिदीहरु हुनुहुन्छ होला। श्रीमती हुनुहुन्छ होला। उहाँहरुको प्रतिक्रिया कस्तो पाउनु भयो?
घरमा हिलो खेल्न गएको मानिस हिलो खेलेर आयो भन्ने न हो। हिलो खेलेका फोटो हेरेपछि मेरी श्रीमतीले म पनि जान पाएको भए हुन्थ्यो भनिन्। फेरि म वर्षेनी धान दिवसमा हिलो खेल्न जाने मान्छे यो यस्तै हो सधैँ असार १५ मनाउन जान्छ भन्ने थाहा छ।

हिजो तपाइँले जे गर्नुभयो। अहिले तपाइँले जे भनिरहनु भएको छ यो विषयलाई सारा दुनियाँले यौन हर्कत भनिरहेका छन्। तपाइँकै पार्टीका जिम्मेवार नेताले पनि तपाइँको धज्जी उडाइरहेका छन् तपाइ के भन्नु हुन्छ ?
त्यसमा मेरो कुनै दुराशय थिएन। किनभने मलाई त्यो ठाउँमा हिलो खेल्न नै लगिएको हो। समय कम भएर कम खेलियो। समय भएको भए धेरै खेलिन्थ्यो। हिलो खेल्ने क्रममा सबैको आकर्षण मन्त्री हुँदोरैछ। म कुनै विशेष व्यक्ति त होइन हिजोको किसान नै हो तर पनि आकर्षण मन्त्री भएपछि सबैले त्यही मन्त्रीलाई नै न्याक्ने प्रयत्न हुँदो रहेछ। त्यहाँ मन्त्रालयका सचिव पनि हुनुहुन्थ्यो। उहाँहरु हासेर बसिरहनु भएको थियो। तपाईले देख्नु भयो होला नि उहाँहरु हाँसेर बसिरहेको। त्यो गलत ढंगले भएको भए त कोही छुट्याउन आउँथ्यो होला। मैले गलत केही गरेको भए महिलाको भीडमा मलाई हप्काउँथे होला। आजै पनि उहाँहरुले विज्ञप्ति जारी गर्नु भएको छ।

विज्ञप्तिमा फोटो भिडियाको विषयमा त एक शब्द पनि उल्लेख छैन। फेरि भिडियोको प्रमाण र फोटोलाई विज्ञप्तिले कसरी ढाकछोप गर्न सक्छ र ?
मैले अघि पनि भने नि त्यो रमाइलोका लागि खिचेको हो। पोखरामा हिलो खोल्ने उचाल्ने र पछार्ने काम भएका छन्। त्यँहा पनि प्रत्येक वर्ष धान दिवस मनाइन्छ। पर्यटन मेला गरिन्छ। सौराहामा पनि गरिन्छ। त्यसमा महिलमाथि पुरुष, पुरुषमाथि महिला हुन्छन्।

सो कार्यक्रममा तपाइँले मदिरापान गर्नुभएको थियो भन्ने अड्कलबाजीहरु छन्। के वास्तविकता त्यस्तै हो ?
यसै पनि म रक्सी एक त बहुत कम पिउने मान्छे। त्यसमाथि मैले डेढ महिनादेखि रक्सी मुखमा पनि हालेको छैन। अहिले मलाई जिआइडिया भएर औषधि खाइरहेको छु। मैले मासुधरी खाएको छैन। शाकाहारी भएको छु। हामी कृषि अनुसन्धान परिषदबाट सचिव सहसचिवलगायतका कर्मचारीको ताँती नै गएको छ हौं त्यहाँ। खाएको भए पनि सिंगो मन्त्रालयले नै कही बसेर खानुपर्‍यो। यो वाइहात कुरा हो।

तपाइँ पहिला पनि सार्वजनिक ठाउँमा खैनी मोलेको भनेर चर्चामा आउनु भयो। अहिले फेरि महिलामाथि हातपात गरेको भनेर चर्चामा हुनुहुन्छ। नेता, मन्त्री भएपछि आचरणमा बस्नुपर्दैन कि क्या हो?
कुरा त्यस्तो होइन। रमाइलो गर्न गएको ठाउँमा जो सम्मिलित हुनुलाई दुराशय राखिदिनु भएन। उहाँहरु पनि त्यहाँ रमाइलो गर्न जानु भएको हो। रमाइलो गर्न चाहनेका लागि रमाइलो गर्ने हो। मैले जबर्जस्ती न्याकेर उहाँहरुलाई त्यहाँ ल्याएको त हैन नि। मैले त रिक्वेस्ट मात्र गरेको हो। यो कुरालाई गलत अर्थ लगाइयो।

तपाइँको हर्कतलाई लिएर सर्वत्र आलोचना भएको छ। सोसल मिडियाबाट सर्वसाधारण तपाइँको राजिनामा मागिरहेका छन्। संसदमा घटनाबारे सरकारको जवाफ मागे भइरहेको छ। अब राजीनामा दिनुहुन्छ ?
मैले गलत नियतले केही गरेको छैन। केही बिराएको पनि छैन। यसमा मैले डराउनु पर्ने वा राजीनामा दिनुपर्ने कुरा देख्दिन। मलाई रमाइलो गर्ने धान रोप्ने र मन्त्रीलाई हिलामा डुबाउने भनेरै बोलाएका हुन्। राजीनामा पार्टीले दे भन्छ भने दिने दिन्छु। हामीलाई पार्टीले सरकारमा पठाएको हो। मैले अनौतिक गरेजस्तो मलाई लाग्दैन त्यसकारण राजीनामा दिनुपर्ने ठान्दिनँ।

तपाइँलाई यौन दुव्र्यवहार मुद्दा लगाउनेबारे पनि सामाजिक सञ्जालमा बहस भइरहेका छन्। त्यस्तो मुद्दा लाग्यो भने के गर्नुहुन्छ?
हैन मैले केही त्यस्तो के गरेको छु र? म ६२ वर्षको मानिस किन त्यस्तो क्रियाकलापमा लाग्ने? त्यो पनि सार्वजनिक ठाउँमा। यो त प्रश्न गर्ने कुरा नै होइन ।

गलत काम नगरेको भए आज दिनभरि नै तपाइँ उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शमा किन व्यस्त हुनु परेको त?
मैले उहाँहरुलाई सबै फोटो र भिडियो सहित देखाएँ। उहाँहरुले पर्दैन हामीले हेरिसक्यौ भन्नुभयो। मैले नियतबस कसैलाई केही गरेको थाहा छैन। भूलबस कहीँ कतै गल्ती हुन गएको भए म क्षमा चाहन्छु।
 स्रोत : नागरिक न्युज 




Advertisement



प्रतिक्रिया दिनुहोस्...